कर्णाली प्रदेशमा विद्युत् र सञ्चार प्रर्णालीको पहुँच नहुँदा महामारी तथा विपदका बेला सिकाइलाई निरन्तरता दिन समस्या भएको छ। अधिकांश ठाउँमा विद्युत र इन्टरनेट नहुने भएकाले विपदका बेला बालवालिकाको सिकाइ निरन्तरतामा नियमितता दिन नसकिएको हो।
२०७६ देखि सुरू भएको कोभिड महामारीको जोखिमलाई मध्यनजर गर्दै गरिएको बन्दाबन्दीका कारण विद्यालयहरू बन्द हुँदा कर्णालीमा अधिकांश अधिकांश बालवालिकाको सिकाइमा नकारात्मक प्रभाव परेको छ।
महामारीका कारण शिक्षामा भएको क्षति अपूरणीय भएकोले अबका दिनमा वैकल्पिक विधिबाट गरिने सिकाइका लागि आवश्यक पूर्वाधारको व्यवस्था गर्नुपर्ने शिक्षासँग सम्बन्धित सरोकारवालाहरूले बताएका छन्।
सामाजिक विकास मन्त्रालय र सेभ द चिल्ड्रेनको सहकार्यमा आयोजित ‘विद्यालय पुनःसञ्चालन’ सम्बन्धी अभिमुखीकरणमा सहभागी सरोकारवालाहरूले विद्युत, इन्टरनेटको विस्तारसँगै शिक्षकहरूलाई प्रविधिसम्बन्धी आवश्यक तालिमको सञ्चालन गर्नु पर्नेमा जोड दिएका छन्।
विद्युत तथा वैकल्पिक ऊर्जाको व्यवस्थापन, यातायात पूर्वाधार निर्माण गरी विद्यालयमा पहुँच पुर्याउने, टोल शिक्षा, रेडियो-टेलिभिजन शिक्षा, गृह शिक्षकको व्यवस्था, जोखिम पहिचानसहित कार्ययोजना निर्माण तथा महामारीमा पनि बालवालिकाको सिकाइ निरन्तरतामा सरकारी तथा गैरसरकारी निकायले विशेष ध्यान दिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।
एक विद्यालय एक स्वास्थ्यकर्मीको व्यवस्था, विद्यालयहरुमा स्वास्थ्य सामग्री पर्याप्तता, शिक्षक तथा विद्यार्थीलाई विपद्बारे मनोपरामर्श दिनेजस्ता कार्यमा पनि निकायको ध्यान दिनुपर्नेमा उनीहरूको जोड छ।
विपदमा सिकाइ निरन्तरताका लागि सुरक्षाको प्रत्याभूति नहुनु, प्रविधिको पहुँच तथा दक्षताको कमी, बालमैत्री शैक्षिक सामग्री नहुनुजस्ता मुख्य कारण भएको सरोकारवालाहरूले बताए।
यस्तै, विद्यालयमा क्वारेन्टिन बनाइनु, न्यूनतम् स्वास्थ्य मापदण्डको कमी हुनुजस्ता कारणले कोभिडपछि पनि विद्यालय पुनः सञ्चालनमा सस्या आएको उनीहरूले बताए।
आगामी दिनमा आउन सक्ने सम्भावित विपदलाई मध्यनजर गरी सिकाई निरन्तरताका लागि सम्बन्धित निकायहरूसँग सहकार्य गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।
सेभ द चिल्ड्रेनका शिक्षा व्यवस्थापक आत्माराम भट्टराईका अनुसार कर्णाली प्रदेशमा इन्टरनेटको सुविधा भएका विद्यालय १८.४० प्रतिशत छन्। यस्तै, ९.५४ प्रतिशत विद्यालयमा नेपाल टेलिभिजन, ५.९१ प्रतिशत विद्यालयमा स्थानीय टेलिभिजन, ८३.१९ प्रतिशत विद्यालयमा रेडियो नेपाल र ७४.१६ प्रतिशत विद्यालयमा स्थानीय एफएमको पहुँच छ।
कर्णाली प्रदेशका कुल विद्यालयमध्ये ८.९१ प्रतिशत विद्यालयमा कुनै पनि विद्युतीय सञ्चारको पहुँच छैन।
कर्णाली प्रदेशभर ३ हजार १८४ विद्यालय छन्। जसमध्ये १ हजार ९२१ वटा १-५ सम्म, ५५९ वटा १-८ सम्म सञ्चालनमा छन्। ४ सय ४ वटा ९-१० सम्म पढाइ हुने माध्यमिक विद्यालय छन् भने ११-१२ सम्म पढाइ हुने माध्यमिक विद्यालय ३०० वटा रहेको भट्टराईले बताए।
कर्णाली प्रदेशमा कुल २ हजार ९३५ वटा बालविकास केन्द्र छन्।
यस्तै, कर्णाली प्रदेशमा आधारभूतदेखि माध्यमिक तहसम्मा ६ लाख ६४ हजार ९६५ जना विद्यार्थी अध्ययनरत् छन्। त्यसमध्ये ३ लाख ४० हजार ४३० जना बालबालिका अध्ययनरत छन्।