पछिल्लो समय संसारभरि कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको चर्चा छ। नोभेम्बर अन्तिमतिर दक्षिण अफ्रिकामा पत्ता लागेको ओमिक्रोनले झन्डै दुई वर्षदेखि जारी कोरोनाभाइरसको महामारी चाँडै अन्त्य नहुने संकेत गरेको छ। किनभने अहिले पनि संसारमा दैनिक लाखौं मानिस कोरोनाबाट संक्रमित भइरहेका छन् भने हजारौंले ज्यान गुमाइरहेका छन्।
अमेरिका र बेलायतमा दैनिक एक लाखभन्दा बढी संक्रमित थपिएका छन् भने फ्रान्स, जर्मनी, इटाली, स्पेनलगायत मुलुकमा पनि संक्रमण बढेको छ।
कोरोनाभाइरसको संक्रमण बढेपछि चीनले सान्सी प्रान्तको सियान सहरमा बिहीबारदेखि लकडाउन गरेको छ। समाचार संस्था सिन्ह्वाका अनुसार सियानका झन्डै १ करोड ३० लाख मानिसलाई घरभित्रै बस्न भनिएको छ।
अमेरिका र युरोपमा दुई दिनपछि आउन लागेको क्रिसमसमा स्वास्थ्य मापदण्ड पूर्ण रूपले पालना गर्न अधिकारीहरूले भनेका छन्। क्रिसमस र नयाँ वर्षका बेला हुने भीडभाडले ओमिक्रोनको संक्रमण बढ्ला भन्नेमा अधिकारीहरू चिन्तित छन्।
ओमिक्रोनका कारण महामारीले कस्तो रूप लिन्छ भन्ने अन्यौल भएका बेला केही अध्ययनहरूले भने आशलाग्दा रिपोर्टहरू दिएका छन्।
द न्युयोर्क टाइम्सका अनुसार दक्षिण अफ्रिका, बेलायत र स्कटल्यान्डमा गरिएका छुट्टाछुट्टै अध्ययनले एउटै कुरा देखाएका छन्- ओमिक्रोनको संक्रमण भए पनि धेरै संक्रमित अस्पताल नगएर पनि निको हुन सक्छन्।
तीन वटै देशमा अनुसन्धानकर्ताहरूले डेल्टा भेरियन्टको संक्रमण हुँदाभन्दा अहिले ओमिक्रोनका संक्रमित कम अस्पताल भर्ना भएको देखिएको बताएका छन्।
ओमिक्रोन अहिले संसारमा जताततै पुगेको र तीव्र गतिमा फैलिरहेको भए पनि यसले संक्रमितलाई सिकिस्त नपार्ने अनुसन्धानकर्ताहरूको भनाइ छ।
यसअघि नै कोरोना संक्रमण भइसकेका र खोप लगाएकाहरूमा संक्रमण धेरै भएकाले पनि ओमिक्रोनले धेरै असर नपारेको हुन सक्ने उनीहरूको अनुमान छ।
ओमिक्रोनको संक्रमण तीव्र भएकाले उमेर समूह अनुसार वृद्धवृद्धामा धेरै संक्रमण फैलिए अस्पताल आउने संक्रमितको संख्या बढ्न सक्छ।
अहिले भएका अध्ययनहरू प्रारम्भिक भएकाले ओमिक्रोनबारे यसै हो भन्न अझै बढी अध्ययन गर्नुपर्ने वैज्ञानिकहरूले बताएका छन्।
दक्षिण अफ्रिकाका अनुसन्धानकर्ताहरूले ओमिक्रोनको संक्रमण धेरै लामो समयसम्म नफैलिने बताएका छन्।
बुधबार उनीहरूले सार्वजनिक गरेको अनुसन्धान रिपोर्टअनुसार नोभेम्बर अन्तिमतिर दक्षिण अफ्रिकामा पहिलो पटक ओमिक्रोन पत्ता लागेको थियो। एक महिना नबित्दै ओमिक्रोन संक्रमणको उच्च विन्दु पार भइसकेको छ।
यसअघि पत्ता लागेको डेल्टा भेरियन्टको संक्रमण महिनौंसम्म बढेको बढ्यै थियो।