ट्राफिक नियम उल्लंघन गरेबापत तिर्नुपर्ने जरिवाना अबदेखि मेसिनमा नगद जम्मा गरी तिर्न मिल्ने भएको छ।
बुधबार महानगरीय ट्राफिक महाशाखाले प्रभु-पेको किअस्क मेसिनबाट रकम भुक्तानी गर्न सकिने व्यवस्थाको सुरूआत गरेको प्रवक्ता तथा प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले जानकारी दिए।
महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी र प्रभु पेका अध्यक्ष कुसुम लामाले संयुक्त रूपमा मेसिनको उद्घाटन गरेका हुन्।
यसअघि महाशाखाले जरिवाना तिर्न प्रविधिमैत्री बनाउँदै गएको थियो। विभिन्न ६४ वटा बैंकको मोबाइल बैंकिङ, डिजिटल वालेटका १४ वटा जरिवाना भुक्तानी सेवा प्रदायक संस्थाहरू र क्युआर पेमेन्टबाट जरिवाना तिर्न सकिने प्रणाली महाशाखाले सञचालन गरेको छ।
‘किअस्क मेसिनमा सिधै नगद हालेर जरिवाना भुक्तानी गर्न सकिन्छ। यसले बैंकमा गएर लामो समय लाइनमा बस्ने झन्झटबाट मुक्त हुने र समयको समेत बचत हुन्छ,’ प्रहरी वरिष्ठ उपरीक्षक जोशीले भने।
हाल ट्राफिक महाशाखासहित उपत्यकामा ३०९ स्थानमा प्रभु-पेको किअस्क मेसिनबाट ट्राफिक जरिवाना तिर्न सकिने र थप सहकार्य गरी अन्य ट्राफिक प्रहरी कार्यालयहरूमा समेत जडान गर्दै जाने अध्यक्ष लामाले बताइन्।
कसरी तिर्ने मेसिनबाट जरिवाना?
प्रभु-पेको किअस्क मेसिनमा रहेको ट्राफिक प्रहरीको लोगोमा क्लिक गरी स्क्रिनमा देखिने चिट नम्बर र आर्थिक वर्ष टाइप गरी नेक्स्ट बटन थिच्ने।
त्यसपछि देखिने चिट नम्बर लगायतको सूचना चेक गरी नेक्स्ट बटनमा थिचेर तिर्नुपर्ने रकम मेसिनमा हालेर भुक्तानी गर्नुपर्नेछ।
भुक्तानी सफल भएपछि प्रिन्ट भएको रसिदसहित ट्राफिक कार्यालयमा गई आफ्नो कागजपत्र लिन सकिने महाशाखाले जनाएको छ।