भारतको जम्मू-कश्मिरको पहलगाममा आक्रमण गर्ने 'द रेसिस्टेन्स फ्रन्ट' (टिआरएफ) समूहलाई अमेरिकाले आतंककारी घोषणा गरेको छ।
बिहीबार अमेरिकी विदेशमन्त्री मार्को रूबिओले विज्ञप्ती जारी गर्दै टिआरएफलाई आतंककारी समूह घोषणा गरिएको बताएका हुन्।
टिआरएफ यो लश्कर-ए-तैयबासँग सम्बन्धित समूह हो। लश्कर-ए-तैयबालाई यसअघि नै अमेरिका र संयुक्त राष्ट्रसंघले आतंकवादी समूहको सूचीमा राखेको थियो।
यही समूहबाट परिचालित भए पनि टिआरएफलाई छुट्टै समूह भनेर आतंकवादी समूहमा सूचीकृत गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
विदेशमन्त्री रूबीओले आतंकवादविरूद्ध राष्ट्रपति ट्रम्पको प्रतिबद्धता अनुसार सो समूहलाई आतंककारी समूहममा सूचीकृत गरिएको बताएका छन्।
पहलगाममा अप्रिल २२ गते २६ जनाको हत्या भएको घटनाको जिम्मा यही समूहले लिएको थियो।
भारतीय विदेशमन्त्री एस जयशंकरले यसलाई आतंकवादविरूद्ध ठूलो सफलता भनेका छन्।
'अमेरिकाले टिआरएफलाई आतंकवादी घोषणा गर्नु भारत–अमेरिका आतंकवादविरोधी सहकार्यको ठोस प्रमाण हो,' जयशंकरले एक्समा लेखेका छन्।
पहलगाममा आतंकवादी हुँदा मारिएका २६ जनामध्ये नेपालका सुदीप न्यौपाने पनि थिए।
सो घटनापछि भारतले पाकिस्तानमा हमला गरेपछि दुई देशले एक अर्कामाथि आक्रमण गरेका थिए।
दुई देशबीचको तनाव उत्कर्षमा पुगेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा चार दिनपछि युद्धविराम भएको थियो।