भिजिट भिसामार्फत् स्पेन भ्रमणमा गएकाहरूबारे अनुसन्धान गर्न बनेको समितिले भारतको नयाँ दिल्लीस्थित स्पेनी दूतावासलाई पत्र लेखेको छ।
प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी रहेको स्पेनको कार्यक्रममा केही नेपालीहरू भिजिट भिसामार्फत पुगेको र स्वदेश नफर्किएको विषय संसदमा उठेपछि यसबारे सिआइबीले छानबिन गरिरहेको छ।
सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होबिन्द्र बोगटीको नेतृत्वमा ६ सदस्यीय छानबिन समितिले यसबारे अध्ययन तथा अनुसन्धान अघि बढाएको हो।
गृहमन्त्री रमेश लेखकले स्पेनको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग गएको प्रतिनिधि मण्डलबाहेक पनि कोही गएका छन् भने त्यसबारे छानबिन गर्न निर्देशन दिएका थिए।
प्रधानमन्त्री ओलीको सचिवालयले भने प्रधानमन्त्रीसँग स्पेन गएका सबै फर्किसकेको बताइसकेको छ।
भिजिट भिसामार्फत स्पेन गएकाहरूबारे असार ३१ गतेदेखि एसएसपी बोगटीको नेतृत्वको समितिले अनुसन्धान गरिरहेको हो।
यसबीचमा सिआइबीले नयाँ दिल्लीस्थित स्पेनी दूतावासलाई पत्र लेखेको हो। नेपालमा स्पेनको दूतावास छैन।
प्रधानमन्त्री ओलीको भ्रमण दल असार १४ गते काठमाडौंबाट सेभिल्लाका लागि प्रस्थान गरेको थियो।
‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेशन्स् (एफएफडि–४)’ का लागि प्रधानमन्त्री ओलीसहितको टोली त्यहाँ पुगेको थियो। उनीसहितको भ्रमणदल असार २० गते काठमाडौं आइपुगेका थिए।
तर प्रधानमन्त्री ओली जानुअघि र पछि विभिन्न माध्यमबाट स्पेन गएकाहरूबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
स्रोतका अनुसार अहिले सिआइबीले लेखेको पत्रमा उक्त कार्यक्रमबारे को-को गए, उनीहरूको भिसा विवरण, कुन संस्था, कुन माध्यमबाट गए, उनीहरूको बस्ने व्यवस्था, आर्थिक पाटो लगायतबारे सोधिएको छ।
‘पत्र लेखिएको छ, जबाफ आएपछि अन्य विवरणहरू खुल्छन्,’ स्रोतले भन्यो।
प्रधानमन्त्री ओली बाहेकमात्रै ४९ जनाको भ्रमण दल हुनुपर्ने प्रहरीको आकलन छ। कतिपय नेपालबाट उडेको र कतिपय नयाँ दिल्ली हुँदै स्पेन भ्रमणका लागि गएको हुन सक्ने प्रहरीको अनुमान छ।
यद्यपि यसबीच भिजिट भिसाको कुरा चर्किरहेको बेलामा कतिपय व्यक्ति फर्किन थालेको हुनसक्ने प्रहरी स्रोतले बतायो।
अध्यागमनसँग समन्वय गरी कतिपय फर्किएका व्यक्तिहरूको विवरण समेत बुझ्ने काम भइरहेको छ।
स्पेनमा गएका व्यक्तिहरूले कुनै ट्राभल एजेन्सी वा कुनै संस्थामार्फत नक्कली कागजात प्रयोग गरी भिसाको प्रक्रिया अघि बढाएको हुनसक्ने आशंका प्रहरीको छ।
‘कुनै संस्था, एजेन्सीमार्फत नक्कली कागजात बनाएर भिसाको प्रक्रिया अघि बढाएको पनि हुनसक्छ। यसबारेमा अनुसन्धान भइरहेको छ,’ स्रोतले भन्यो, ‘अनुसन्धानबाट यसबारे थप विवरण खुल्न सक्छ।’
त्यस्ता संस्थाबाट भिजिट भिसामा जान चाहनेहरूले बालुवाटारमा रहेको बायोमेट्रिकल कन्सुलर कम्पनीमा कागजातहरू पेस गर्ने गरेका थिए।
यसरी पेस गरिएको कागजात नयाँ दिल्लीस्थित दूतावासमा पठाएपछि त्यहीँबाट भिसा उपलब्ध भएको थियो। तर स्पेन भ्रमणमै जान लागेकामध्ये ५५ जना व्यक्तिहरूको हकमा विभिन्न कागजात नक्कली परेको भन्ने सूचना दूतावासले पाएको स्रोतले बतायो।
‘उनीहरूले भिसा नै पाइसकेका थिए तर नक्कली कागजातको प्रयोग गरी जान खोजेको भन्ने सूचना पछि दूतावासले अन्तिम समयमा भिसा रद्द गरेको थियो। कतिपयलाई प्लेनबाटै पनि झारिएको थियो,’ स्रोतले भन्यो।
हाल समितिले विभिन्न विवरणहरू संकलन गर्ने काम गरिरहेको छ। अनुसन्धान जारी भइरहँदा एउटा ट्राभल एजेन्सी भने आफै समितिको सम्पर्कमा समेत आएको छ।
उक्त एजेन्सीले आफ्नो कुनै पनि संलग्नता नभएको भन्दै छानबिनमा सघाउने भनेको छ। त्यसपछि समितिले केही कागजात बरामद गरी अनुसन्धान गरिरहेको छ।
प्रधानमन्त्री ओली स्पेन भ्रमणबाट फर्किएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले असार २४ गते प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री सहभागीसँग स्पेन भ्रमणमा गएकाहरूमध्ये कतिपय स्वदेश नफर्किएको समाचार आएको भनेकी थिइन्।
उनले प्रधानमन्त्री ओलीसँगै गएकाहरू नफर्केको आसयमा बोलेको भन्दै प्रधानमन्त्री ओलीको सचिवालयले को नफर्किएको नाम दिन चुनौति दिएको थियो।
तर पछि सांसद गौतमले आफूले प्रधानमन्त्रीसँगै गएका नभई आफूले प्रधानमन्त्री गएको कार्यक्रममा गएर नफर्किएका भनेको भनेर प्रष्टीकरण दिएकी थिइन्।
उनको भनाइपछि कतिपय व्यक्तिहरू नेपाल नफर्किएको भनेर समाचारहरूसमेत प्रकाशन भएका थिए।
त्यसपछि गृहमन्त्री लेखकले असार ३० गते गृहसचिव गोकर्णमणि दुवाडी र आइजिपी दीपक थापालाई यसमा अनुसन्धान गर्न निर्देशन दिएका थिए।
निर्देशनपछि सिआइबी र मानब बेचबिखन अनुसन्धान ब्युरो सम्मिलित समिति बनाएर स्पेन भ्रमणमा सरकारी प्रतिनिधि मण्डल बाहेकको टोली गएको विषय के हो, अरू कुन संस्थामार्फत कसरी गए, भिसा लगायतका प्रक्रिया तथा प्रबन्ध कसले गर्यो, कसको समन्वयमा गए भन्ने विषयमा छानबिन गरिरहेको छ।