सैनिक अनुशासन उल्लंघन गरेको आरोपमा जंगी अड्डाले उपरथी अनन्त कार्कीमाथि कारबाहीको तयारी गरेको छ।
उपरथी कार्कीले आफ्नो पदावधि नथपिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयमा लिखित उजुरी दिएका थिए।
उनले राष्ट्रपति, सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई उजुरीको बोधार्थसमेत पठाएका थिए। सैनिक ऐनअनुसार उपरथीको कार्यकाल थप्ने/नथप्ने अधिकार प्रधानसेनापतिमा निहित छ।
उपरथी कार्कीको कार्यकाल नथपिएपछि उनले माघ २४ गतेदेखि अवकास पाउँदैछन्।
त्योभन्दा १५ दिनअगावै विदामा बस्ने सैनिक परम्परा छ।
त्यसैले कार्कीमाथि १/२ दिनभित्रै कारबाही हुन सक्ने सैनिक स्रोतले बतायो।
'उहाँले चेन अफ कमाण्डको उल्लंघन गर्नुभएको छ। चित्त नबुझेमा प्रधान सेनापतिलाई पहिला भन्ने हो। त्यसपछि तालुकदार रक्षा मन्त्रालयसमेत छ। तर उहाँ सिधै प्रधानमन्त्री कार्यालय पुग्नुभएको छ,' सैनिक स्रोतले भन्यो,'उहाँले त मिडियाबाजी समेत गर्नुभएको छ। उहाँलाई यस्तै कारबाही हुन्छ भन्न सकिँदैन तर कुनै न कुनै रूपको सांकेतिक कारबाही हुनसक्छ।'
यो पनि पढ्नुस्: