गण्डकीका युवा तथा खेलकुद मन्त्री राजीव गुरूङ ‘दीपक मनाङे’ले आफ्नै मन्त्रालयका कर्मचारीलाई दुर्व्यवहार गरेका छन्।
मन्त्रालयका सूचना अधिकारीसमेत रहेका शाखा अधिकृत प्रकाश ओझालाई मंगलबार दुर्व्यवहार गरेको मन्त्रालय स्रोतले बताएको छ।
शाखा अधिकृत ओझाले आफूमाथि अमर्यादित व्यवहार भएको भन्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, प्रमुख सचिव रविलाल पन्थ लगायतलाई जानकारी गराएका छन्।
मुख्यमन्त्री पोखरेल, प्रमुख सचिव पन्थ, युवा तथा खेलकुद मन्त्रालयका सचिव बद्रिनाथ अधिकारीलगायत भने मंगलबार बाग्लुङ गएका थिए।
धौलागिरिका ४ वटा जिल्लाका सुरक्षा समन्वय बैठक बस्न उनीहरू बाग्लुङ पुगेका बेला मन्त्री मनाङेले मन्त्रालयकै कर्मचारीलाई अमर्यादित व्यवहार गरेका हुन्।
प्रमुख सचिव पन्थका अनुसार मंगलबार मन्त्री मनाङे र शाखा अधिकृत ओझावीच खटपट भएको थियो।
‘भनाभन हुँदा अमर्यादित व्यवहार भएको भनेर हामीलाई जानकारी आएको छ, हामी बाग्लुङबाट फर्कंदैछौं,’ पन्थले भने, ‘मुख्यमन्त्री ज्यूले सत्यतथ्य बुझ्दै हुनुहुन्छ, पोखरा आइसकेपछि मात्र वास्तविकता थाहा होला।’
पन्थले के विषयमा मन्त्री र शाखा अधिकृतबीच भनाभन भएको भन्नेबारे आफूलाई पनि जानकारी नभएको बताए।
मंगलबार उक्त घटना भएपछि ओझा बुधबार बिदामा बसेका छन्। उनको मोबाइल अफ छ।
स्रोतका अनुसार वैदेशिक रोजगारीबाट फर्केकालाई स्वदेशमै रोजगारी दिने सम्बन्धमा एउटा कार्यविधि बनिरहेको थियो। कार्यविधिमा मनाङ जिल्लाका मानिसहरूलाई समेट्नै पर्ने भन्दै मनाङेले अडान राख्दै आएका थिए।
तर, कार्यविधिमा मनाङ जिल्लाका मानिसहरू नपर्ने भन्दै ओझाले त्यस्तो काम आफूबाट नहुने बताउँदै आएका थिए। त्यही विवादमा मनाङेले कर्मचारीमाथि दुर्व्यवहार गरेको बताइएको छ।