सुर्खेतको वीरेन्द्रनगरबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।
बुधबार दिउँसो सुर्खेतको वीरेन्द्रनगर–१० पदमपुरबाट वीरेन्द्रनगर–१३ का कर्ण बास बोहोरा र भिमा तामाङलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार उनीहरूले लागुऔषधको कारोबार गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा पक्राउ गरिएको हो।
पक्राउ परेका बोहोरा र तामाङको साथमा ८.६७० ग्राम ब्राउन सुगर र ७.१४० ग्राम सेतो हिरोइन फेला परेको छ। उनीहरू बस्ने कोठा खानतलासी गर्दा लागुऔषधसँगै दुई थान नापतौल गर्ने मेसिन, एउटा एटिएम कार्ड, लागुऔषध सेवनमा प्रयोग गरिने चम्चा, दुई थान मोबाइल र १ लाख ५६ हजार १२० रुपैयाँ पाइएको छ।
डिएसपी घर्तीका अनुसार उनीहरूको साथमा पाइएको सामान बरामद गरी पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा राखिएको छ।