सर्लाही सदरमुकाम मलंगवा नगरपालिका-९ मा एक जना भारतीय नागरिकको गोली हानी हत्या गरिएको छ।
भारत बिसनपुरका ३५ वर्षीय इन्दल कुमारको बुधबार बेलुका करिब ७:४० मा हत्या गरिएको सर्लाहीका प्रहरी उपरीक्षक प्रवीण पोखरेलले बताए।
भारतबाट पछ्याउँदै मोटरसाइकल आएका तीन जनाको समूहले कुमारलाई गोली हानी हत्या गरेको पोखरेलले बताए। कुमारको कोखामा दुई गोली लागेको छ।
उनका अनुसार कुमार पनि मोटरसाइकलमै सवार थिए। मोटरसाइकलमा पछ्याउँदै आएर दुई गोली हानी त्यो समूह फरार भएको छ।
गोली हानेर फरार भएका व्यक्तिहरूको खोजी भइरहेको पोखरेलले बताए। कुमारको मलंगवास्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो।
हत्या गरिएका कुमारको मोबाइलमा धम्कीपूर्ण म्यासेजहरू भेटिएका छन्। प्रहरीले यसबारे अनुसन्धान गरिरहेको पोखरेलले बताए।