कोरोना महामारीबाट सिथिल बनेको पर्यटन प्रवर्द्धन गर्न वैशाख १ गते १७ औं फेवा नव वर्ष सडक महोत्सव हुने भएको छ।
नेपाली संस्कृतिको संरक्षण र खानाको प्रवर्द्धन गर्ने उद्देश्यले ‘पर्यटन,संस्कृति र खाना’ भन्ने नाराका साथ चैत ३० गतेदेखि वैशाख १ गतेसम्म १७ औं फेवा नव वर्ष सडक महोत्सव हुने भएको हो।
कोरोना महामारीको कारण दुई वर्ष रोकिएको सडक महोत्सव पोखराको पर्यटन पुनरूत्थानको लागि सडक महोत्सव गर्न लागेको होटल संघ पोखराका अध्यक्ष तथा महोत्सवका संयोजक लक्ष्मण सुवेदीले बताए।
उनले पछिल्लो समय नेपाली नयाँ वर्ष पनि उत्साहका साथ मनाउन थालिएकाले पोखरा सडक महोत्सवमा १ लाख भन्दा बढी आन्तरिक पर्यटन आउने अनुमान रहेको बताए। संयोजक सुवेदीले महोत्सवमा ३५ लाख खर्च हुने बताए।
‘पछिल्लो समय नेपाली नयाँ वर्ष मनाउने प्रचलन बढेकाले आन्तरिक पर्यटक नै १७ औं फेवा नव वर्ष महोत्सवमा १ लाख भन्दा बढी कट्ने अनुमान लगाएका छौं’,उनले भने, ‘कारोबारको हिसावमा व्यापार भन्दा पनि पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य रहेको छ। संस्थाले घाटा नै खाएर भए पनि महोत्सव भए पनि ३५ लाख रुपैयाँ खर्च हुन्छ । ३० लाख रुपैयाँ उठि सकेको छ । बाँकी ५ लाख घाटा रहेको छ।’
त्यस्तै, होटल संघ नेपालमा वरिष्ठ उपाध्यक्ष विनायक शाहले कोरोना महामारीको कारण शिथिल बनेको पर्यटन प्रवर्द्धन गर्न सरकारले बजेटमार्फत केही नीति ल्याए पनि कार्यान्वयन नगरेको बताए।
सरकारले नीति ल्याउने तर काम नगर्ने भएकाले पर्यटन व्यवसायीहरु आफैं पोखराको पर्यटन प्रवर्द्धन गर्न पोखरा सडक महोत्सव गर्न लागिएको शाहले बताए। उनले पछिल्लो समय नेपालमा भारत लगायत अन्य देशका पर्यटन बढ्दै गएको बताए।
‘पर्यटन प्रवर्द्धनको लागि सरकारले बजेटमार्फत व्यवस्था गरेका नीतlहरू लागू गर्न सकेको छैन। सरकारले घोषणा गरेको १० दिने पर्यटन काँज एक महिनाको निशुल्क पर्यटन भिसा केही पनि लागू भएको छैन। सरकारले बोलेका कुरा पूरा मात्रै गरे पनि हुने हो’, उनले भने, ‘बोल्ने तर चुप लागेर बस्ने काम भएको छ । देशको पर्यटकीय राजधानी पोखरामा पर्यटन प्रवर्द्धनन गर्ने हामी लागि परेका छौं। यो महोत्सव आयोजना गरेर राम्रो काम गरेको छ । भारतबाट पनि धेरै पर्यटक आउन थालेका छन । काठमाडौं आए पछि पोखरा जाने गरेका छन्।’’
महोत्सवमा विभिन्न प्रकारका खानाका परिकार, विभिन्न सांस्कति झाँकी प्रस्तुती, ख्याती प्राप्त कलाकार प्रस्तुती र हाँस्यव्यग्य समेत हुनेछ।