सत्तारूढ नेकपा (एमाले)का सांसद महेश बर्तौलाले सांसदहरूले आफ्नो क्षेत्रका लागि बजेटको अपिल गर्ने विषयलाई स्वाभाविक लिनुपर्ने बताएका छन्।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बर्तौलाले निर्वाचनको समयमा जनतासँग गरेको प्रतिबद्धतालाई पूरा गर्ने सन्दर्भमा संसदबाट पहल लिने कुरालाई स्वाभाविक लिनुपर्ने बताएका हुन्।
'निर्वाचनका समयमा आफ्नो निर्वाचन क्षेत्रका जनतासँग त्यहाँको विकास निर्माण र पूर्वाधारहरूको सन्दर्भमा आवश्यक संयोजन गर्ने, राज्यका स्रोतहरूलाई निर्वाचन क्षेत्रमा उपलब्ध गराउन पहलकदमी लिने संयोजन गर्ने प्रतिबद्धता गरेका हुन्छौं,' उनले भने, 'बजेट निर्माण हुँदा सांसदले त्यो विषयमा अपिल गर्ने कुरालाई स्वाभाविक मान्नुपर्छ।'
उनले सांसदहरूले विधायिकी कामलाई मुख्य जिम्मेवारीका रूपमा लिएर काम गर्दै गर्दा विकास निर्माणमा पनि उपस्थिती स्वाभाविक रूपमा विगतदेखि हुँदै आएको बताए।
'नकारात्मक टिप्पणी आए। सांसदहरूले रकम नै आफ्नो हिसाबले, स्वविवेकले प्रयोग गर्न खोजेको, त्यसको लबिइङ बढाइँदै छ भन्ने आयो,' उनले भने।
जनताको बीचमा गरेका प्रतिबद्धतामा बजेट निर्माणको प्रक्रियामा सरकारको ध्यानाकर्षण गराउने र सांसदहरूको माध्यमबाट अपिल गर्ने कुरालाई स्वभाविक दृष्टिका माध्यमबाट हेरिनुपर्ने बताए।