काठमाडौंको सोल्टीदोबाटोमा मोटरसाइकललाई ठक्कर दिएर भागेका गाडी चालक पक्राउ परेका छन्।
गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको थियो। सो घटनामा फरार रहेका गाडीका चालकलाई प्रहरीले कागेश्वरी मनहरा नगरपालिका-५ डाँछीबाट बिहीबार पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
चालक ओखलढुंगा सुनकोशी गाउँपालिका-२ घर भई डाँछी बस्ने १९ वर्षीय मनकुमार तामाङ पक्राउ हुन्।
उनलाई प्रहरीले विविध विधी र प्रविधिको प्रयोग गरी पक्राउ गरेको प्रहरी उपरीक्षक मैनालीले बताए।
बुधबार साढे ३ बजे काठमाडौं महानगरपालिका-१३ सोल्टिदोबाटोस्थित नेपाल इन्भेष्टमेन्ट बैंक अगाडिको सडकखण्डमा बा १७ च ४९०३ नम्बरको टाटा योद्धा भ्यानले बागमती प्रदेश. ०२-०२८ प ७७२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
ठक्करबाट मोटरसाइकलमा सवार चन्द्रागिरि नगरपालिका-२ का ३० वर्षीय किशोर सुवेदी घाइते भएका थिए।
उनको उपचारको लागि स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा मृत्यु भएको थियो।
दुर्घटनापछि चालक फरार भएका थिए। बिहीबार पक्राउ गरी सवारीज्यान अपराधमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ।