चार दिनसम्म मनाइने चैते छठ पर्व उदाउँदो सूर्यलाई अर्घ दिएर शुक्रबार बिहान सम्पन्न भएको छ। परिवारका सबै सदस्य मिलेर उदाउँदो सूर्यलाई गाईको दूधको अर्घ दिएर सम्पन्न गरेका हुन्।
छठको पहिलो दिन नुहाई खाई, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ र अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिएर मनाउने गरिन्छ। पहिले छठ चैत महिनामा मनाउने प्रचलन रहेकोले भाकल हुनेले अहिले पनि यस पर्वमा यस पूजालाई निरन्तरता दिएका छन्।
सूर्यको उपासना गरिने यो पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ। पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक छठपर्व मनाइने गरिन्छ। मनोकांक्षा पूरा भएकाहरु विभिन्न नदी किनारमा पुगेर सूर्यलाई अर्घ्य चढाएका थिए।
चैते छठ पर्व मिथिलाञ्चलका जिल्लामा चार दिनसम्म मनाइने प्रचलन छ।
यो पर्व शरद ऋतुको कार्तिक षष्ठीका दिन पनि मनाइन्छ। त्यसपछि अर्को वसन्त ऋतु लागेपछि चैत महिनाको षष्ठीका दिन यो पर्व मनाइन्छ।