कैलालीमा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
कञ्चनपुर कृष्णपुर नगरपालिका ५ का २७ वर्षीय लोकेन्द्र पार्की र अन्दाजी ३२ वर्षीय पुरन मडैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक देवप्रसाद जोशीले जानकारी दिए। उनीहरू दुवै मोटरसाइकल पछाडि सवार थिए।
प्रहरी नायब उपरीक्षक जोशीले अनुसार बिहीबार गोदावरी नगरपालिका ३ चौकीडाँडामा अत्तरियाबाट गुलरियातर्फ जाँदै गरेको से ४ प ४७३० र ०१ ००४ प १११ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो।
उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा धनगढी लगिएको थियो। उनीहरूको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक जोशीले बताए।
२१ वर्षीय महेश कार्की मोटरसाइकल चालकको अत्तरियास्थित पद्मा अस्पताल र अर्का मोटरसाइकल चालक दीपक भट्टको धनगढीमा नै उपचार भइरहेको जनाइएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ।