पोखराबाट तीर्थयात्री लिएर अर्घाखाँची गएको बस दुर्घटनामा परेको छ।
सुपादेउराली दर्शनका लागि गएको बस अर्घाखाँचीमा दुर्घटनामा परेको हो।
पोखरा ३१ बेगनासतालस्थित साना किसान कृषि सहकारीबाट तीर्थयात्री लिएर सुपादेउराली दर्शनका लागि आएको ग २ ख ६८० नम्बरको बस दुर्घटनामा परेको हो।
पोखराबाट प्युठानको स्वर्गद्वारी दर्शन गरेर सुपादेउराली जाँदै गरेको उक्त बस अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर २ भयालडाँडामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक अमर थापाले जानकारी दिए।
भलायडाँडाको ओरालोमा ब्रेक फेल भएपछि चालकले सडकको भित्तामा लगेर अड्याएको कारण ठूलो दुर्घटना हुनबाट जोगिएको थापाले बताए। बसमा ३० जना तीर्थयात्री सवार रहेको र उनीहरुमध्ये एक जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ।
बस दुर्घटनामा परेको थाहा पाउनेवित्तिकै प्रहरी र स्थानीयको सक्रियतामा घाइते तथा बसमा सवार तीर्थयात्रीहरुको उद्धार गरी जिल्ला अस्पतालमा लगिएको प्रहरी नायब उपरिक्षक थापाले बताए।