तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दाङमा १ जनाको मृत्यु हुनुका साथै २ जना घाइते भएका छन्।
छोराले चलाएको मोटरसाइकलमा पछाडि बसेकी आमाको मृत्यु भएको हो। चालक दाजु र पछाडि बसेकी बहिनी घाइते भएका छन्।
घोराहीको कटुकीदेखि नारायणपुर बजारतर्फ आउँदै गरेको रा १ प ८३८६ नम्बरको मोटरसाइकल घोराही उपमहागनरपालिका- ८ बनगाउँमा बेलुका पौने ९ बजे दुर्घटनामा परेको थियो।
दुर्घटनामा परी गम्भीर घाइते घोराही उपमहानगरपालिका-१७ गुलरियाकी ३४ वर्षीया प्रमिला हमालको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा शनिबार राती सवा ९ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मृतकका १९ वर्षीय छोरा रोहन हमाल र १६ वर्षीया छोरी सविना हमाल घाइते भएका छन्।
जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार दाजु बहिनीको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
रोहनको कुम भाँचिएको छ भने सविनाको अनुहारमा चोट लाग्नुका साथै दाँतहरू भाँचिएको एसपी काफ्लेले बताए।
प्रहरीका अनुसार मोटरसाइकलको हेडलाइट बल्दैन थियो। त्यसैले बाटोमा थुपारेको बालुवामा परी मोटरसाइकल दुर्घटनामा परेको हो। चैते दसैं मानेर आफन्तको घरबाट नारायणपुर बजारतर्फ फर्किरहेका उनीहरू दुर्घटनामा परेका हुन्।
घाइतेको अवस्था अचेत नै रहेको हुँदा थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।