जनै-खटिरा धेरै पुरानो रोगमध्येको एक हो। जनै रहने ठाउँमा नै घाउहरू आउने भएकाले यसलाई जनै-खटिरा भनिएको रहेछ। चिकित्सकीय भाषामा भने यसलाई 'हर्पस जोस्टर' भनिन्छ।
जनै-खटिरा भनेको एक किसिमको भाइरल संक्रमणबाट हुने समस्या हो। जनै-खटिरा कसैबाट सरेर आउने भन्ने हुँदैन।
सानोमा पानी-फोका आएकाहरूलाई पछि गएर जनै-खटिरा हुने खतरा रहन्छ। पानी-फोका सञ्चो भइसके पनि नशाको कुनै भागमा गएर यसको भाइरस बसेको हुन्छ। जब त्यहाँ कुनै किसिमको आक्रमण हुन्छ, त्यो बेलामा जनै-खटिरा आउँछ।
खटिरा निस्किनुभन्दा पहिला दुखाइ हुन्छ। यस्तो बेला नसा च्यापिएजस्तो दुखाइ हुन्छ। त्यो दुखाइ सुरू भएको तीन-चार दिनपछि खटिरा निस्किन्छ। त्यसको दुखाइ र पोलाइ साह्रै गाह्रो हुने अनुभव बिरामीले सुनाएका छन्।
हप्ता-दस दिनमा उपचार भएपछि यो रोग निको हुन्छ।
छाला रोगमध्ये सबभन्दा दुखाइ हुने रोग यही हो। भाइरसका कारण खटिरा आउने भएकाले एन्टिभाइरस औषधि खानुपर्छ। खटिराको कारणले कसैलाई धेरै दुखाइ हुन्छ। यसले गर्दा कतिपय बिरामीलाई दुखाइ कम गर्ने औषधि समेत दिइन्छ।
घाउ-खटिरा कम भएपछि पनि दुख्ने भएकाले कतिपय अवस्थामा थेरापी समेत गर्नुपर्छ। कहिले अनुहारको भागमा समेत खटिरा आउन सक्छ। त्यस्तो बेला लापरबाही गर्ने अनि विभिन्न खाले जडिबुटी समेत लगाउने चलन छ। लापरबाही तरिकाले छोडियो अनि औषधि हुन पाएन भने आँखालाई असर पार्न सक्छ। त्यस्तो बेलामा मुखको पारालाइसिस समेत हुन सक्छ। छातीको भागमा भएको छ भने श्वासप्रश्वासमा समस्या देखिन सक्छ।
जनै र खटिराको कुनै सम्बन्ध छैन। कतिपय महिलाले हामीलाई किन भयो भनेर समेत सोधेका छन्। गाउँघरमा जनै पोलेर समेत लगाइने रहेछ। कतिपयले चित्र कोरेर लगाएको पाइएको छ। यो एकदमै गलत हो।
जनै-खटिरा भयो भने औषधि नै गर्नुपर्छ, जडिबुटी खाएर र लगाएर हुँदैन। अनुसन्धान भएको जडिबुटी छ भने यसको प्रयोग गर्न सकिन्छ। तर हाम्रा जडिबुटीको उचित अनुसन्धान भएको छैन। जसले गर्दा जडिबुटीले झन् समस्या पार्न सक्छ। कतिपय जडिबुटीको प्रयोगले कलेजोमा हानि समेत गर्छ।
जनै-खटिरा भएपछि खाना बार्नुपर्छ भन्ने छैन। यो रोग इम्युनिटी (प्रतिरोधात्मक क्षमता) सँग जोडिएको छ। त्यसैले सन्तुलित भोजन गर्न जरूरी छ।
(छाला, यौन तथा कस्मेटिक सर्जन शुभकान्त शर्मा गौतम दया हेल्थ केयर, अस्पताल रोड, भरतपुरमा कार्यरत छन्।)