केही दिनअघि ललितपुर महानगरपालिकाले महानगरभित्र केही ठाउँलाई फुटपाथ पसल निषेधित क्षेत्र बनाइएको भन्दै सूचना जारी गर्यो।
गत मंगलबार महानगर प्रहरी बलले सूचना टाँस्दै मंसिर २४ गतेदेखि मंगलबजारदेखि लगनखेल क्षेत्र 'फुटपाथ पसल निषेधित क्षेत्र' हुने भनेको थियो।
ललितपुर महानगरपालिकाले महानगरभित्रका केही ठाउँलाई फुटपाथ पसल निषेधित क्षेत्र बनाउने निर्णय गरेलगत्तै पुनर्विचार गर्न अभियन्ता ईःले सुझाव दिएका छन्।
सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै अभियान्ता ईःले उक्त निर्णय पुनर्विचार गर्न आह्वान गर्दै मंगलबार दिउँसो ३ बजे ललितपुर महानगरअगाडि १०८ मिनेट उभिने बताएका हुन्।
'सहरको आत्मा मार्दै रात र बिहानका फुटपाथ क्षेत्र हटाउने महानगरको निर्णयप्रति पुनर्विचार गर्न आवश्यक छ,' उनले लेखेका छन्।
अभियान्ता ईः को उक्त स्टाटसपछि हामीले महानगर प्रहरी बल प्रमुख सीताराम हाछेथुलाई ललितपुर महानगरले के फुटपाथ व्यापार निषेधित क्षेत्र बनाएको हो भनी प्रश्न गर्दा हाछेथुले उनको उक्त बुझाइ गलत भएको बताए।
'हामीले पूरा महानगरलाई फुटपाथ व्यापारमुक्त क्षेत्र घोषणा गरेका होइनौं,' उनले सेतोपाटीसँग भने, 'दुइटा वडामा पर्ने मंगलबजारदेखि लगनखेल क्षेत्रका सडकमा मात्र व्यापार गर्न पाइँदैन भनेका हौं। तर यसलाई अन्यथा बुझिएको छ।'
अभियान्ता ईः ले भोलि गर्न लागेको शान्तिपूर्ण प्रदर्शनप्रति संकेत गर्दै हाछेथुले काठमाडौंमा जस्तै गरी फुटपाथ व्यापारी नहटाएको जिकिर गरे।
'कसैको ठेलागाडा हामीले नियन्त्रणमा लिएका छैनौं। अहिले पनि सम्झाएर उहाँहरूलाई छाड्ने काम गरिरहेका छौं,' उनले भने, 'धरपकड गरेका छैनौं। गाडी गुड्ने सडकमा असर नपर्नेगरी व्यापार गर्न दिइरहेका नै छौं।'
हाछेथुका अनुसार मंगलबजारदेखि लगनखेल जाने ६०० मिटर लम्बाइ बाटोको चौडाइ सानो छ। काठमाडौं महानगरले फुटपाथ निषेधित क्षेत्र घोषणा गरेपछि त्यहाँका व्यापारीहरू ललितपुरमा आएर व्यापार गर्न थालेको उनको दाबी छ।
'काठमाडौंमा व्यापार गर्दासम्म हामीले ललिपुरमा समय तोकेर फुटपाथ व्यवस्थापन गरिरहेका थियौं,' उनले भने, 'यहाँ बिहान ८ बजेसम्म तरकारी र बेलुकी ६ बजेपछि फुटपाथ व्यापार भइरहेको थियो। ठाउँको क्षेत्रफल पुरानै तर व्यापारीको संख्या बढ्दा व्यवस्थापन गर्न कठिन भयो।'
यसो त साँझपख फुटपाथ व्यापारीले बाटो भरिँदा मानिसहरूलाई आवतजावत गर्न समेत कठिन भएको भनी गुनासो आएको उनी बताउँछन्। अर्कोतर्फ त्यस क्षेत्रमा केही विपत् पर्दा एम्बुलेन्स र दमकल लैजान समेत कठिन हुने आयो।
यस्तै, फुटपाथ व्यापारीको संख्या बढेर सुरक्षा व्यवस्थापनमा पनि चुनौती थपिएको हाछेथुले बताए।
'काठमाडौं महानगरले फुटपाथ व्यापारी हटायो। त्यसपछि यहाँ छ बजेपछि व्यापार गर्न दिइन्छ भनेर व्यापार गर्न आउनेको संख्या ह्वात्तै बढ्यो,' उनले भने, 'पहिले ४०० जना मात्र भएको फुटपाथ व्यापारीको संख्या अहिले बढेर हजार पुगिसकेको छ। ठाउँभन्दा धेरै मान्छे भएपछि झै-झगडा, पाकेटमार जस्ता गतिविधि पनि बढ्न थाले।'
दोस्रो भनेको ती क्षेत्रमा सटर पसलले नै पसलबाहिर सानो ठाउँ भाडामा दिने गरेको भेटिएको उनले बताए।
हाछेथुका अनुसार सटर बाहिरको सानो ठाउँ सटर र फुटपाथ व्यवसायीबीच किनबेच हुने गरेको भेटिएको छ।
'मंगलबजारदेखि लगनखेलसम्मको क्षेत्रमा ११७ वटा पसल छन्,' उनले भने, 'तर २४० वटा ठाउँका फुटपाथ भने किनबेच भइरहेको छ। फुटपाथको ठाउँ मासिक १० देखि २५ हजारसम्म किनबेच भएको भेटियो। यस्तो विकृति देखेपछि पनि यो निर्णय लिएका हौं।'
त्यसो भए महानगरमा कता कता फुटपाथ व्यापार भइरहेको छ?
हाछेथुले भने, 'भैंसेपाटी, हरिसिद्धी, धापाखेल, एकान्तकुना, कुसुन्ती, नख्खुखोला, कुपण्डोल, सुन्धारा चोक, सानेपा हाइट, ढुंगेधारा, भणिमण्डल, बंगलामुखी लगायतका ठाउँमा फुटपाथ व्यापार भइरहेको छ।
उनले अगाडि भने, 'त्यहाँ व्यापार गरिरहेको ठाउँमा हामीले केही पनि भनेका छैनौं। न त कारबाही नै गरेका छौं।'
उनका अनुसार मानिस धेरै आवतजावत गर्ने ठाउँमा फुटपाथ व्यापार गर्दा नै असहज भएको गुनासो आएपछि हटाउँदा विरोध गर्नुपर्ने कुनै कुरा छैन।
यसअघि ललितपुर महानगरपालिकाले बेलुकी ६ बजेपश्चात फुटपाथ व्यापार गर्न दिएको थियो भने बिहान ८ बजेसम्म फलफूल तथा तरकारी पसल राख्न दिँदै आएको थियो।
यो पनिः
ललितपुर महानगरअगाडि ईः १०८ मिनेट उभिने
ललितपुर महानगरले यी ठाउँलाई तोक्यो 'फुटपाथ पसल निषेधित क्षेत्र'