सर्लाही हरिवन नगरपालिका-१० नयाँरोडकी कञ्चन रौनियार न्याय चाहियो भन्दै सामाजिक सञ्जालमा हारगुहार गरिरहेकी छन्।
२३ वर्षीया रौनियारले दाइजोको कारणले लामो समयदेखि आफूमाथि कुटपिट भएकाले न्यायका लागि साथ सहयोग माग्दै सामाजिक सञ्जालमा पोष्ट गरेकी छन्।
उनले पटकपटक न्यायको ढोका ढकढ्याउँदा पनि चरित्र हत्या र कुटपिटको घटनामा सम्बन्धित निकायले ध्यान नदिएको दु:खेसो पोखेकी छन्।
उनले बिहे भएको केही समयदेखि नै दाइजोको कारणले आफूमाथि हिंसा हुन थालेको बताइन्।
मोरङ घर भएकी कञ्चनले २०७९ असार १० गते सर्लाही हरिवन नगरपालिका-९ नयाँरोडका स्थानीय रोहित (मुन्ना) गुप्तासँग विवाह गरेकी थिइन्।
सामाजिक सञ्जालमा चिनजान भएपछि पारिवारको सल्लाहमै धार्मिक परम्परा अनुसार विवाह गरेकी हुन्। विवाहमा कोठा र भान्सामा आवश्यक पर्ने सामान माइतीले दाइजो दिएको उनी बताउँछिन्।
विवाह भएको सुरूआती एक/दुई महिना उनको सम्बन्ध राम्रै चल्यो।
कञ्चनका बा-आमाले कोठा र भान्सामा प्रयोग हुने सबै सामग्री दिए पनि नगद भने दिएका थिएनन्। त्यही कारण विवाह भएको दुई/तीन महिनापछि दाइजो कम ल्याएको भन्दै सासू (अरूण कुमारी गुप्ता) र ससुरा (सुरेन्द्र गुप्ता) ले ताना दिन थालेको उनी बताउँछिन्।
'छिमेकी बुहारीले ल्याएका दाइजोसँग तुलना गर्न थालियो,' उनी भन्छिन्, 'तैंले केही ल्याइनस् माइतीसँग ५० लाख रूपैयाँ माग भन्न थाले।'
उनले थपिन्- 'बा-आमासँग यति धेरै पैसा छैन भनेर टारिदिएँ, त्यसपछि कुटपिट सुरू भयो। सुरूआती दिनमा भर्खर विवाह भएको घरबार बिगार्नु हुँदैन भनेर सहेँ।'
घरबार बिग्रियो भने समाजले आफूलाई नै दोष लगाउँछ भन्ने डर लागेको उनले बताइन्।
दिनहुँ माइतीबाट पैसा माग भनेर तनाव दिन थालेपछि उनले बा-आमालाई ती कुरा सुनाइन्। छोरीमाथि कुटपिट हुन थालेको थाहा पाएपछि उनकी आमा आएकी थिइन्।
'आमा सासू-ससुरालाई भेटेर सम्झाएर फर्किनु भयो, तर पनि गाली गर्न, कुटपिट गर्न छोडेनन्, बा-आमालाई कति तनाव दिनु भनेर चुपचाप सहेरै बसेँ,' उनले भनिन्, '२०७९ तिहार र छैठी माताको पूजापछि कुटेर घरबाट निकालिदिए। अन्त जाने ठाउँ थिएन। त्यसैले गाली गरे पनि गरून् भनेर माइती पुगेँ।'
तीन महिनासम्म श्रीमानको घरबाट कञ्चनलाई लिन कोही आएनन्। त्यसपछि भर्खर भएको घरबार नतोड्ने सोच राखेर मलंगवा माइती नेपाल गएर आफ्नो समस्या सुनाएको उनले बताइन्।
बिस्तारै गाउँभरी कुटपिट भएको घटना थाहा भयो। गाउँकै बरहथवा समाजसँगले सोधपुछ गरेपछि आफूले घटनाबारे विस्तृतमा बताएको उनको भनाइ छ।
'मेरो कुरा सुनेपछि ममाथि अन्याय भएको भन्दै बरहथवा समाजले आवाज उठाए,' उनले सेतोपाटीसँग भनिन्, 'पञ्चायत राखे तर निष्कर्षमा पुग्न सकेनन्।'
दुई चार दिनसम्म पनि टुङ्गो लाग्न नसकेपछि पञ्चायत बस्ने जान्ने बुझ्नेले नै आफूलाई चुप लागेर बस्न दबाब दिइएको उनको आरोप छ।
पञ्चायत तथा बरहथवा समाजसँग जोडिन थालेपछि दिनहुँ कुटपिट हुन थाल्यो। त्यही डरले माइती गएको उनले बताइन्।
बरहथवा समाज र स्थानीयले छलफलमा बोलाउँदा उनले माइतीबाटै आवतजावत गरिन्। उनले विवाह भएको दुई/तीन सातादेखि नै अस्ट्रेलिया जान पिटिई कक्षा सुरू गरेको थिइन्। सम्बन्ध खटपट भए पनि उनले कक्षालाई निरन्तरता दिइन्।
'२०७९ माघ ६ गते पिटिईको परीक्षामा पास भए, पिटिईमा पास भएको हल्ला श्रीमानको घरसम्म पुगेछ। अनि श्रीमान लिन आउनुभयो,' कञ्चनले भनिन्, 'श्रीमान लिन आएपछि वैवाहिक जीवन सुध्रिने आसले सब कुरा भुलेर सुध्रिने मौका दिएँ।'
उनले थपिन्- 'त्यसमा परिवारले पनि सहमति जनाउनुभयो।'
परिवारकै सहमतिमा श्रीमानको साथमा फर्किइन्। उनले जे आस लिएर फर्किएकी थिइन्। त्यसको ठ्याक्कै उल्टो भयो।
फर्किएको दुई साता नबित्दै रोहितले कञ्चनलाई माइतीबाट पैसा माग्न दबाब दिन थालेका थिए। शारीरिक तथा मानसिक तनाव दिन थालेपछि बाध्य भएर माइतीमा आफूले पैसा माग्नुपरेको उनको भनाइ छ।
छोरीको भविष्य राम्रो हुने अपेक्षा राखेर उनका बा-आमाले १० लाखको चेक र ६ लाख रूपैयाँ नगद दिए। सबै प्रक्रिया पुगेर पनि कञ्चनको भिसा लागेन।
माइतीले पैसा दिएपछि प्रक्रियाको अवधिभर श्रीमानको परिवारले माया गर्नुभयो। तर भिसा नलाग्ने सम्भावना भएसँगै पुन: आफूमाथि कुटपिट हुन थालेको उनले सेतोपाटीलाई बताइन्।
'भिसा नआउने भयो अब माइती जा भन्दै फेरि कुटपिट हुन थालेपछि माइती फर्किएँ,' उनले भनिन्, 'दोस्रो पटक माइतीमा बस्दै गर्दा सासू ससुरा, दुई नन्द र श्रीमानबीच अंश बाँडफाँट भएर उहाँले डिभोर्स केस फाइल गर्नु भएछ, यी कुरा पछिमात्र थाहा पाएँ।'
केस फाइल गरेको थाहा पाएपछि कञ्चनले हरिवन इलाका प्रहरी कार्यालयमा गएर आफूमाथि दाइजोको नाममा घरेलु हिंसा भोग्नुपरेको सुनाइन्।
प्रहरीले घरेलु हिंसाका मुद्दाहरू स्थानीय तहले हेर्ने भनेर न्यायिक समितिमा जान आग्रह गर्यो। उनी प्रहरीले जानकारी दिए अनुसार स्थानीय तहको न्यायिक समितिमा पुगिन्।
उनी २०८० भदौ ११ गते न्यायिक समितिमा पुगेकी थिइन्। न्यायिक समितिले पटक पटक छलफल र दुई पक्षीय वार्ता गरेपछि असोज ५ गते सहमति भयो।
त्यो दिन विवाह दर्ता गर्ने, दुई पक्ष नै मिलेर बस्ने, कञ्चनलाई कुटपिट नगर्ने, पति पत्नी धर्म निभाउनुका साथै सामाजिक सञ्जालमा दुवै जनाले आलोचना नगर्ने सहमति भएको थियो। कञ्चन पनि यसमा सहमत भइन्।
हरिवन नगरपालिकाको उपप्रमुख तथा न्यायिक समितिको संयोजक हरिमाया घलानसहित न्यायिक समिति सदस्य गीतानाथ मैनाली, रामप्रसाद अधिकारीको उपस्थितमा उक्त सहमति भएको थियो।
त्यहाँबाट निस्किँदै गर्दा आफूलाई श्रीमान पक्षका आफन्तले बाहिर बोलाए। हरिवन नगरपालिका वडा-११ का वडाध्यक्ष शेष बहबुब रजा, श्रीमान रोहित लगायतले क्लिनिक लगेर प्रेग्नेन्सी परीक्षण गर्न दबाब दिएको उनी बताउँछिन्।
'प्रेग्नेन्सी परीक्षण गर्दिनँ महिनावारी भएको छु भनेर भनेँ तर उहाँहरूले पत्याउनु भएन,' उनले भनिन्, 'कपडा खोलेर देखाउन जबरजस्ती गरेपछि खोलेर प्याड देखाइदिएँ।'
उनी क्लिनिकमा आफूलाई जबरजस्ती कपडा खोल्न लगाएको कुरा सुनाउन पुन: न्यायिक समिति पुगिन्। त्यहाँ पुगेर उनले आफूलाई जबरजस्ती लुगा खोल्न लगाएर चरित्र हत्या गरेको सुनाइन्। तर पनि कसैले चासो नदेखाएको उनको आरोप छ।
उनको आरोपमा उपमेयर तथा न्यायिक समितिको संयोजक घलान र वडा नम्बर ११ का वडाध्यक्ष शेख बहबुब रजा आफूलाई यस घटनाबारे थाहा नभएको बताउँछन्।
'क्लिनिकमा कपडा खोल्ने समयमा म उपस्थित भएकै थिइनँ, वडाध्यक्ष बहबुबले भने।
न्यायिक समितिको छलफलमा उपस्थित भए पनि क्लिनिकमा आफू नगएको उनको दाबी छ।
कञ्चनले आफूमाथि चरित्र हत्या भएको कुरा सोही दिन कसैले चासो नदिएपछि तेस्रो विवाह दर्ता र चरित्र हत्याको गर्नेलाई कानुनी कारबाही हुनुपर्ने माग राखेर न्यायिक समिति पुगिन्। तर त्यहाँ उनका श्रीमान उपस्थित भएनन्।
कञ्चनको श्रीमान उपस्थित नभएकै कारण विवाह दर्ता नभएको उपमेयर घलानले पनि बताइन्। उनका श्रीमान नआएपछि कञ्चन अदालती प्रक्रियामा अगाडि बढ्ने योजना सुनाएर निस्किएकी थिइन्। त्यसपछि आफूहरूसँग कुनै पनि सम्पर्क नभएको उपप्रमुख घलानले जानकारी दिइन्।
यता कञ्चन भने न्यायिक समितिमा भएको सहमति कार्यान्वयन हुने आसमा कार्यालय धाइरहेको बताउँछिन्।
'तीन/चार महिनासम्म न्यायिक समितिले सहमति कार्यान्वयन नगरेपछि बाध्य भएर जिल्ला प्रहरी हुँदै अदालत पुगेकी हुँ,' कञ्चनले भनिन्।
उनले ७/८ महिनाअघि अदालतमा घरेलु हिंसाको मुद्दा दर्ता गराएकी हुन्।
उनले श्रीमानसहित सासू-ससुराविरूद्ध घरेलु हिंसाको मुद्दा दर्ता गरेसँगै उनका श्रीमानले अदलतबाट पक्राउ गर्न नपाउने निषेध आज्ञा लिएका थिए। त्यसैले प्रहरीले रोहितलाई पक्राउ गरेन।
श्रीमानविरूद्ध भएको निषेध आज्ञा हटाउनका लागि कञ्चनलाई चार महिना सम्बन्धित निकाय धाउनुपर्यो। निषेध आज्ञा खारेज भएपछि पनि जिल्लाले रोहितको परिवारलाई पटक-पटक उपस्थित हुनका लागि पत्र पठायो तर कोही आएनन्।
'तीन महिनासम्म श्रीमान पक्षको कोही उपस्थित नभएपछि ससुरा सुरेन्द्र गुप्ता पक्राउ पर्नुभयो। पक्राउ परेको दोस्रो दिन नै बुहारीलाई कुटपिट नगर्ने भनेर सहमति भएपछि ससुरा छुट्नुभयो,' कञ्चनले भनिन्, 'त्यतिबेला श्रीमान बेपत्ता भएकै कारण ससुरालाई पक्राउ गरिएको थियो।'
जिल्ला प्रहरी कार्यालयमा सहमति भएसँगै अदालतबाट पनि घरेलु हिंसाको मुद्दामा फैसला भयो। घरेलु हिंसाको मुद्दामा जिल्ला अदालत सर्लाहीले संरक्षणात्मक आदेश जारी गरेको हो। उक्त आदेशमा पीडितलाई स-सम्मान घर राख्नुपर्ने, मानवीय व्यवहार गर्ने, मानसिक तनाव नदिनु भन्ने उल्लेख थियो।
जसमा कञ्चनलाई सुरक्षा दिएर घरमा प्रवेश गराउने र मिलेर बस्ने भनिएको थियो।
अदालत, जिल्ला हुँदै उक्त पत्र इलाका प्रहरी कार्यालयमा पुग्यो। इलाका प्रहरी कार्यालय हरिवनले पत्र कार्यान्वयन गर्न असार १९ गते (बुधबार) कञ्चनलाई घरसम्म पुर्याइदियो।
प्रहरीको सहयोगमा उनी श्रीमानको घरमा प्रवेश गरिन्। तर प्रहरी फर्किएलगत्तै आफूमाथि पुन कुटपिट भएको कञ्चनको भनाइ छ।
अदालतको आदेशलाई अपहेलना गर्दै आफूमाथि कुटपिट भएको घटना सुनाउन प्रहरी र न्यायिक समितिले बेवास्ता गरेको उनले बताइन्।
आफूलाई जबरजस्ती लुगा खोल्न लगाएको र १९ गते थप कुटपिट गरेको घटनामा आफूले न्याय नपाएको दुखेसो उनले पोखेकी छन्।
यसबारे हामीले इलाका प्रहरी कार्यालय हरिवनलाई सोध्यौं।
इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरी कञ्चनको घटनामा आफूहरूले पूरै साथ दिएको दाबी गर्छन्।
'हामीले घरमै पुगेर पनि दुवै पक्षलाई सँगै राखेर छलफल गराउन खोज्यौं, सकेनौं। तर अदालतले कञ्चनजीलाई सुरक्षा दिनु भनेर गरेको आदेश कार्यान्वयन गर्यौं,' उनले भने, ‘अस्ति भएको घटनामा कुटपिटको मुद्दा दिन खोज्नुभएको थियो। त्यो मुद्दा हामीकहाँ भन्दा पनि सिधै अदालतमा दिनुपर्ने हो। हाम्रो क्षेत्राधिकार पर्दैन।'
उनले थपे- 'हामी चाहेको सहयोग गर्छौं। मुद्दाका लागि अदालत नै जानु भनेर पठाएका हौं। बेवास्ता गरेको होइनौं।'