बाँकेको राप्तीसोनारी गाउँपालिका–३ स्थित जङ्गलमा बाख्रा चराउन गएका पाँच महिलालाई अज्ञात समूहले निर्घात कुटपिट गरी सुनका गरगहना लुटपाट गरेको छ।
अज्ञात समुहले शुक्रबार राप्तीसोनारी–३ बैशा र नवलपुर गाउँका ५५ वर्षीया बिसमति थारु, सोही ठाउँकी ५५ वर्षीया श्यामकुमारी थारु, ६५ वर्षीया मङ्गरी थारु, ५५ वर्षीया रामकलिया थारु र ४५ वर्षीया गौरी थारुमाथि आक्रमण गरी सुन लुटपाट गरिएको हो।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार, कुटपिटपछि उनीहरुले डेढ तोलाभन्दा बढी सुन लुटेका छन्।
घाइते महिलाको उद्धार गरी उपचारका लागि राप्ती सोनारी अस्पताल लगिएको छ। अस्पतालले त्यहाँ सामान्य उपचार गरेर थप उपचारका लागि नेपालगञ्ज पठाएको छ। घाइते सबैको नेपालगन्जस्थित संजिवनी अस्पतालमा उपचार भइरहेको छ।
प्रवक्ता पातलीले उक्त घटनामा संलग्न भएको आरोपमा ८ जना पक्राउ परेका जानकारी दिए। राप्तीसोनारी र नरैनापुरको जङ्गल क्षेत्रबाट उनीहरु पक्राउ परेका हुन्।