वैशाख २० गते हेटौंटा उपमहानगरपालिका–१६ र १७ को सीमाक्षेत्र गैरीगाउँमा माछा बोक्ने गाडी जमिन भासिएर दबियो।
दुई दिनसम्म खोजपड्ताल गर्दा पनि गाडीको संकेत पाउन नसकेपछि उमहानगरपालिकाले भूगर्भविद्को टोली नै मगाएर अध्ययन गरेको थियो।
खानी तथा भूगर्भ विभागका भूगर्भविद् नारायण अधिकारी, कृष्ण पाण्डे, सहायक भूगर्भविद् मणि खनाल र जियोटेक्निकल ल्याबका प्राविधिक अमरबहादुर थापा सहितको टोलीले दुई दिन लगाएर गरेको अध्ययनले उक्त क्षेत्रमा बोरिङकै कारण जमिन भासिएको निष्कर्ष निकालेको छ।
‘प्रारम्भिक अध्ययनको आधारमा यो सिंक होल निर्माण हुनुमा जमिनमुनि रहेको मसिनो माटो (सिल्ट) को पाइपिङ (निष्कासन) मुख्य कारण देखिएको छ,’ अध्ययन टोलीको निष्कर्ष छ।
उनीहरूले उक्त अध्ययन प्रतिवेदन हेटौंडा उपमहानगरपालिकालाई पठाइसकेका छन्।
जमिन भासिएर बेपत्ता भएको गाडीको स्थान निर्धारण गर्न प्रोटोन म्याग्नेटोमिटर प्रयोग गरिएको थियो। उक्त उपकरणले धातुजन्य वस्तु डिटेक्ट गरेको थियो। उक्त डिटेक्ट गरिएको वस्तु भासिएको गाडी भएको यकिन गर्न सकिने भूगर्भविद् कृष्ण पाण्डेले जानकारी दिए।
भूगर्भविद्ले प्रयोग गरेको उपकरणले चुम्बकीय वस्तु डिकेक्ट गरेको ठाउँ (कालो घेराभित्र)। ‘सडकसँगै भासिएको भनिएको गाडीको सम्बन्धमा प्रोटोन म्याग्नेटोमिटरको प्रयोग गरी अध्ययन गर्दा प्राप्त नतिजाको आधारमा सिन्कहोलको केन्द्रदेखि भासिएको सडकको पूर्वी भागमा करिब ४ मिटर लम्बाइ र २ मिटर चौडाइको क्षेत्रमा फैलिएको हाइ म्याग्नेटिक एनोमलीयुक्त वस्तु देखिन्छ। प्राप्त म्याग्नेटिक फिल्ड इन्टेन्सिटी डुबिएको भनिएको गाडीबाट प्राप्त हुनसक्ने फिल्ड इन्टेन्सिटीसँग मिल्दोजुल्दो देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ।
भूगर्भविद् पाण्डेले धसिएको जमिनको सतहबाट ८ मिटरमुनि गाडी फेला पर्न सक्ने बताए। तर निकाल्न जोखिमयुक्त हुने उनले बताए।
वैशाख २० गते जमिन भासिँदा गाडी छिर्ने खाडल बनेको थियो। त्यसपछि वरिपरिका जमिनमा पनि धाँजा फाट्न र माटो खस्न थालेको थियो। अहिले त्यहाँ दलदल बनिसकेको छ। भूगर्भविद्को समूह पनि झन् ठूलो खाडल पर्ने जोखिम देखेरै अध्ययन टुंग्याएको थियो। थप अध्ययन गर्नतिर नलागी फर्किएको थियो।
गाडी निकाल्ने हो भने २५ मिटर परबाट २५ डिग्री झुकाब बनाएर खन्न थाल्नुपर्ने अध्ययन टोलीको बुझाइ छ। यसरी खन्दा करिब २०० टिपर माटो फाल्नुपर्ने उनीहरूको अनुमान छ।
अध्ययन टोलीले दबिएको गाडी निकाल्नु जोखिमपूर्ण हुने बताएको छ। गाडी निकाल्ने हो भने भूमिगत जलस्रोतको अवस्था, जमिनको भारवहन क्षमता, जमिनको सतहभित्र थप भ्वाङहरू परे, नपरेकोबारे थप अध्ययन हुनुपर्ने र प्राविधिकहरूकाे निगरानीमा मात्रै गाडी निकाल्नुपर्ने टोलीको भनाइ छ।
‘०.५देखि १ टन क्षमताको पिकअप भ्यान नै दबिएको ठाउँमा ठूला उपकरण लैजानु झन् जोखिमयुक्त हुन्छ। त्यहाँ स्काभेटर, क्रेनलगायत उपकरण लैजान सक्ने अवस्था नै देखिँदैन,’ पाण्डेले भने, ‘त्यसका लागि गाडी भासिएको ठाउँ वर्तिरपर्तिरका जमिनहरूको समेत छुट्टै अध्ययन हुनु आवश्यक छ।’
गाडी दबिएको ठाउँको अवस्था विश्लेषण।कसरी बन्न गयो त्यहाँको जमिन कमजोर?
अध्ययन टोलीले उक्त जमिनको सतहभित्रको माटो खुकुलो र घुलनशील प्रकारको सिल्ट (कमेरे) रहेको पत्ता लगाएको छ। त्यही स्थानमा २० वर्षअघि गरेको अध्ययनले पनि यही देखाएको थियो।
तर गाडी भासिएको स्थानमा पाँच वर्षअघि बोरिङ गरेको पाइएको अध्ययन टोलीले बताएको छ।त्यहाँ बोरिङ खन्ने क्रममा धमिलो पानी आएको स्थानीयले बताएका थिए। धमिलो पानीमा सिल्ट मिएिको पाइएको अध्ययन टोलीले बताएको छ।
बोरिङबाट सिल्टयुक्त पानी बाहिर आउँदा जमिनको सतहमुनि स–सना भ्याङ पर्ने क्रम सुरू भएको पाण्डेले जानकारी दिए।
‘सिल्ट निष्कासन नरोकिँदा जमिनमुनि परेको भ्वाङ बढ्दै जाने, जमिन निरन्तर भासिने, तथा कहिलेकाहीँ सतहमा चिराहरू पर्दै जाने गर्छ। यी भ्वाङ ठूलो हुँदै जाँदा जब जमिनमुनिको भागले माथिको लोड धान्न सक्दैन। तब जमिन भासिन्छ र यस्ता सिंक होलहरूको निर्माण हुन्छ। हाल गैरीगाउँ क्षेत्रमा घटेको घटना पनि यस्तै प्रकृतिको हो। सिंक होल बनेको स्थानमा रहेको बोरिङ पनि भत्किएको छ सिंकहोलको केन्द्रमा अहिले पनि जमिनभित्रबाट सिल्ट मिसिएको पानी आइरहेको छ,’ उनीहरूको अध्ययन प्रतिवेदनमा उल्लेख छ।