अहिले चाडपर्व नजिकिएसँगै दसैं बजार सुरू भइसकेको छ।
चाडपर्वका बेला सस्तोमा सामानहरू किन्नका लागि धेरैको ध्यान जाने गरेको छ।
लत्ता कपडासँगै खाद्य वस्तुहरूको किनमेल गर्दा सस्तो भन्दा पनि गुणस्तरीय वस्तुहरूको प्रयोग गर्न र खानपानमा समेत सजक रहनुपर्ने सरकारी अधिकारीहरूले बताएका छन्।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डाक्टर मतिना जोशी (वैद्य) ले बजारमा जाँदाखेरि हतारमा बजार गर्न नहुने बताउँछन्।
उनकाअनुसार बजार गर्दा त्यसमा लेबलहरू हेर्ने बानी गर्नुपर्छ। लेबल हेर्दा हामीले चाहिँ कुन–कुन खाद्य वस्तुहरूमा यसको एक्सपायरी डेट छ कि छैन, त्यो पनि हेर्नुपर्छ भने त्यहाँ भएको ‘इन्ग्रेडियन्टस’ पनि हेर्ने बानी बसाल्नुपर्ने उनको भनाइ छ।
उनका अनुसार सस्तो मात्र खोज्नुभएन, त्यसमा रहेको क्वालिटी, सेफ्टीहरूको बारेमा समेत उपभोक्ताले जानकारी राख्न जरूरी छ।
महानिर्देशक जोशी (वैद्य) ले भने, ‘दसैं तिहारजस्ता पर्व हामी नजिक आइपुगेका छन्। यतिखेर बजारमा जाँदाखेरि हतारमा हामी बजार गर्नुभन्दा पनि, त्यसमा लेबलहरू हेर्ने बानी गरौँ र लेबल हेर्दाखेरि हामीले कुन–कुन खाद्य वस्तुहरूमा यसको एक्सपायरी डेट छ कि छैन, हेर्नुपर्यो। त्यहाँ भएको इन्ग्रेडियन्टस पनि हेर्ने बानी गरौँ। जुन आफ्नो शारीरिक आवश्यकता अनुसारको त्यसमा कुन–कुन कुराहरू खान बर्जित छ। जस्तो, म वयस्कको छु भनेदेखि मैले सुगर कन्ट्रोल गर्छु होला। ट्रान्सफ्याटहरूको कुराहरू छ, ट्रान्सफ्याटहरू हाम्रो स्वास्थ्यको लागि हानिकारक छ। यी कुराहरू ध्यान दिनुपर्यो।’
'घरमा उत्पादन गरेको सबै चिज एकदमै स्वस्थकर हुन्छन् भन्ने छैन'
घरमा उत्पादन गरेको सबै चिज एकदमै स्वस्थकर नहुने जोशीले बताइन्।
जोशी (वैध) काअनुसार धेरै फ्याटहरूको, धेरै चिल्लो पदार्थहरूको उपभोग गर्नु स्वास्थ्यकर मानिँदैन। चाडपर्वको बेला धेरै सुगर (चिनी) को मात्राहरूलाई पनि नियन्त्रित रूपमा मात्र उपभोग गर्नुपर्छ। आफूले घरमा पकाएको खानेकुराहरूलाई पनि खासगरी एकदम तातोतातै उपभोग गर्नुपर्छ। कि होइन भनेदेखि भोलिको लागि, भरेको लागि राख्ने हो भने, खाना पकाएपछि २ घण्टासम्म मात्र तातो अवस्थामा उपभोग गरिसक्नुपर्ने, त्यस पछाडि उपभोग गर्नुछ भने, त्यसलाई राम्ररी कोठाको तापक्रममा चिसो बनाएर, अनि रेफ्रिजरेटरमा राखेर हामीले २ देखि ३ दिनसम्म उपभोग गर्न सकिने तर त्योभन्दा ज्यादा गर्न नसकिने उनको भनाइ छ।
जोशीले भनिन्, ‘एकचोटि तताएको खानेकुरालाई पुनः तताइसके पछाडि त्यसलाई फेरि फ्रिजमा राख्ने गर्नु चाहिँ हुँदैन। जति आफूलाई चाहिन्छ, त्यति नै मात्रामा हामी तताउने र त्यसलाई उपभोग गर्ने र बाँकीलाई डिस्पोज गर्नुपर्ने हुन्छ। कहिलेकाहिँ हामी फेरि तताउँछौं, अनि फेरि त्यो चिसोमा लगेर मिसाइदिन्छौं र त्यस पछाडि धेरै स्वास्थ्य सम्बन्धी समस्याहरू आउने, फुड पोइजनिङहरू हुने त्यो केसहरू पनि आइराखेको हुन्छ।’
'धेरै नुनको सेवन नगरौँ'
चाडपर्वमा अत्यधिक मात्रामा नुनहरूको सेवन गर्न सकिने भएकाले ख्याल गर्न जरूरी रहेको जोशी बताउँछिन्। उनका अनुासर दैनिक एकजना वयस्कको लागि डब्लुएचओको मापदण्डअनुसार पाँच ग्रामभन्दा बढी नुन खान मिल्दैन।
महानिर्देशक जोशीले भनिन्, ‘अब दसैंको बेलामा, चाडबाडको, तिहारको बेलामा, चाडबाडको बेलामा हामीले धेरै थोकहरू खाँदाखेरि नुनको मात्राहरू पनि धेरै हुनसक्छ। यो कुरालाई पनि हामी ख्याल राखौं र आफ्नो स्वास्थ्यलाई ख्यालमा राख्नुपर्छ।’
नेपालीको अहिले एभरेजमा नुनको कन्जम्सन/उपभोग हेर्ने हो भनेदेखि करिब १० ग्राम हामीले खाइरहेको अवस्था छ। त्यसै कारणले हामीले त्यसै पनि सचेत हुनुपर्ने उनको भनाइ छ।— न्युज एजेन्सी नेपाल