प्यूठानमा मोटरसाइकलसहित खोलामा खसेका युवकको मृत्यु भएको छ।
जिल्लाको गौमुखी गाउँपालिका – १ अर्खाका २५ वर्षीय हेमराज राना मगर गौमुखी – ४ स्थित नेपाने खोलामा मोटरसाइकलसहित मृत अवस्थामा फेला परेका हुन्।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार ठूलाबेसी-अर्खा सडक खण्ड अन्तर्गत ठूलाबेसीबाट अर्खातर्फ जाँदै गरेको मगर सवार लु ५६ प १५७६ नम्बरको मोटरसाइकलसहित उनी पानीमा डुबेको अवस्थामा शनिबार बिहान सवा ७ बजेतिर फेला परेका थिए।
मोटरसाइकलसहित मानिस पानीमा डुबेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीका अनुसार मगर मोटरसाइकलसहित सडकदेखि झन्डै ३५ मिटर मुनीको नेपाने खोलामा खसेको र त्यही डुबेर मृत्यु भएको अवस्थामा फेला परेका हुन्।
मगर गएराति दुर्घटनामा परेको अनुमान छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।