दाङमा बञ्चरो प्रहार गरी एक जनाको हत्या भएको छ।
शनिबार दिउँसो जिल्लाको राजपुर गाउँपालिका – ४ का ५६ वर्षीय भोला यादवको हत्या भएको हो।
सन्तपुरुवा गाउँका स्थानीय २३ वर्षीय इच्छाकुमार रैदासले टाउकोमा बञ्चरो प्रहार गर्दा यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रेशम बोहराले सेतोपाटीलाई बताए।
रामजानकी सामुदायिक वनबाट सालको काठ काटेर ल्याएको विषयलाई लिएर विवाद हुँदा रैदासले यादवमाथि दिउँसो पौने २ बजेतिर टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेको डिएसपी बोहराले जानकारी दिए।
हत्या आरोपी रैदास फरार छन्। उनको खोजीका लागि प्रहरी परिचालन गरिएको छ।