लुपस शरीरको रोग प्रतिरोधात्मक क्षमतासँग सम्बन्धित रोग हो।
सामान्य अवस्थामा प्रतिरक्षा प्रणालीले शरीरलाई विभिन्न संक्रमणबाट जोगाउँछ। तर लुपस भएका बिरामीमा यही प्रणाली अत्यधिक सक्रिय भई शरीरकै विभिन्न अंगमा सुजन गराउँछ। यसले छाला, जोर्नी, मिर्गौला, मुटु, फोक्सो, स्नायु लगायतका अंगमा असर गर्न सक्छ। असरको आधारमा रोग सामान्यदेखि गम्भीरसम्म हुन सक्छ।
लुपसले शरीरका धेरै अंगमा असर गर्न सक्छ। नङदेखि कपालसम्म समस्या देखिन सक्छ। मुखमा घाउ आउने, कपाल झर्ने, छाला रातो हुने, घाममा जाँदा छाला झन् रातो हुने जस्ता लक्षण देखिन्छन्। गालामा दाग आउने, कहिलेकाहीँ नाक र कानमा घाउ हुने, जोर्नी दुख्ने, धेरै थकान महसुस हुने, खोकी लाग्ने तथा श्वासप्रश्वासमा समस्या हुने पनि हुन्छ। कतिपय बिरामीमा छाती दुख्ने र पिसाबमा फिज आउने समस्या देखिन सक्छ। सबै बिरामीमा यी लक्षण एकैपटक भने देखिँदैनन्।
लुपसको पहिचान लक्षणका आधारमा विभिन्न परीक्षण गरेर गरिन्छ। सुरूआती चरणमा रोग पत्ता लगाउन कठिन हुन सक्छ, किनकि यसले शरीरका धेरै अंगमा असर गरिरहेको हुन्छ। त्यसैले समयमै रोग पहिचान गर्नु महत्त्वपूर्ण हुन्छ।
यो रोग किन हुन्छ भन्ने ठ्याक्कै कारण अझै पत्ता लागेको छैन। वंशानुगत कारण, वातावरणीय प्रभाव, हर्मोनको गडबडी तथा खानपिनले जोखिम बढाउन सक्छन्। दिनदिनै जंक फुड खाने बानीले पनि असर गर्न सक्छ। तर यही कारणले मात्र लुपस हुन्छ भनेर निश्चित भन्न सकिँदैन।
लुपसको उपचार बिरामीको अवस्था र कुन अंग प्रभावित छ भन्ने आधारमा गरिन्छ। पहिले रोग पहिचान गरी त्यसअनुसार औषधि दिइन्छ। यदि मिर्गौला, छाला, फोक्सो वा मानसिक स्वास्थ्यमा असर परेको छ भने त्यसैअनुसार उपचार गरिन्छ। नेपालमा केही उपचार सुविधा सीमित भए पनि नियमित औषधि र निगरानीबाट रोगलाई नियन्त्रणमा राख्न सकिन्छ।
यो रोग विशेष गरी १५ देखि ३५ वर्ष उमेर समूहमा बढी देखिन्छ। पुरूषभन्दा महिलामा यसको जोखिम धेरै हुन्छ। करिब १० जनामध्ये ९ जना महिला र १ जना पुरूषमा लुपस देखिने तथ्य छ। महिलामा हर्मोनको प्रभावका कारण यो समस्या बढी हुने मानिन्छ। महिनावारी सुक्ने समयमा पनि केही महिलामा यो रोग देखिन सक्छ।
लुपस पूर्ण रूपमा निको हुने रोग होइन। तर उचित औषधि र नियमित उपचारबाट यसलाई नियन्त्रणमा राख्न सकिन्छ। औषधि खाँदा लक्षण कम भयो भन्दैमा चिकित्सकको सल्लाहबिना औषधि बन्द गर्नु हुँदैन।
यो रोगबाट बच्न ठोस उपाय नभए पनि प्रशोधित खाना कम खाने, नियमित व्यायाम गर्ने, पर्याप्त सुत्ने तथा चुरोट, खैनी, सुर्ती, हुक्का र रक्सीबाट टाढा रहने बानीले जोखिम कम गर्न मद्दत गर्न सक्छ। खाना बार्नुपर्छ भन्ने छैन, तर स्वच्छ र ताजा खाना खानु उपयुक्त हुन्छ।
(बाथरोग विशेषज्ञ डा.केशवराज सिग्देल पाटन अस्पतालमा कार्यरत छन्।)