बालबालिका बढ्ने क्रममा उनीहरूको फोक्सोको पनि विकास हुँदै जान्छ। त्यस बेला विभिन्न प्रकारका भाइरल संक्रमण, वंशाणुगत कारण आदि समस्याले असर पार्न सक्छ।
प्रदूषण, खानपान लगायतका कारणले विकास भइरहेको फोक्सोका श्वास नलीहरूमा असर पर्ने देखिन्छ। यस्तो अवस्थामा साना नलीहरू बेला–बेला खुम्चिने र फुल्ने समस्या हुन्छ। यी तथा अन्य कारणले बच्चाहरूलाई दम अर्थात् अस्थमा हुन सक्छ।
बच्चालाई दम भएमा मुख्य चार लक्षण देखिन्छन्:
पहिलो, बारम्बार खोकी लाग्नु हो। धेरैजसो सुख्खा खोकी हुन्छ भने कहिलेकाहीँ कफ भरिएजस्तो हुन्छ।
दोस्रो, खोकी रातिमा धेरै हुन सक्छ। कतिलाई दौडदा, खेल्दा वा हाँस्दा पनि खोकी लाग्न सक्छ।
तेस्रो, यो खोकी सधैं रहँदैन। आउने–जाने हुन्छ, बेला–बेला ठीक पनि हुन्छ। चिसो, धुलो वा धुवाँमा गएपछि फेरि खोकी लाग्न सक्छ।
चौथो, खोकीसँगै 'स्याँ–स्याँ' हुने, कोखा हान्ने वा 'घ्यार–घ्यार' सिठी बजेजस्तो आवाज आउने हुन्छ।
यी लक्षणहरू सधैं रहँदैनन्। आउने–हराउने भइरहन्छन्। केही कारणहरूले असर गर्न सक्छन्। जस्तै, धेरै चिसो खाने, स्कुटरमा घुम्ने आदि।
ठूला बच्चाहरूमा छाती भारी हुने, कसैले थिचेजस्तो हुने पनि हुन सक्छ। यदि लक्षणहरू सधैं रहिरहे भने त्यो दम नहुन पनि सक्छ, किनकि दमका लक्षणहरू समय–समयमा आउने–जाने गर्छन्।
सामान्यतया ६ देखि ९ वर्षका बालबालिकामा बढी देखिए पनि अहिलेका अनुसन्धानहरूले ६ वर्षभन्दा कम उमेरकामा पनि देखिएको छ। ९ वर्षभन्दा माथिका बालबालिकामा पनि हुन सक्छ। त्यसैले अस्थमा सबै उमेर समूहमा हुन सक्छ।
यस्ता लक्षण देखिएमा आवश्यक परीक्षण गरेर दमको पहिचान गरिन्छ। श्वास नली खुम्चिएको छ कि छैन भन्ने परीक्षणबाट थाहा पाउन सकिन्छ। कतिपय अवस्थामा परीक्षण सम्भव नभएमा लक्षणकै आधारमा पनि पहिचान गर्नुपर्छ।
बालबालिकामा अस्थमा हुन्छ भन्ने कुरा कतिपयलाई थाहा नहुन सक्छ। तर अनुसन्धानले देखाएको छ कि यो सामान्य समस्या जस्तै हो। नेपालमा पनि करिब २० प्रतिशत बालबालिकामा अस्थमा देखिएको छ।
बुढेसकालमा हुने दम र बालबालिकामा हुने अस्थमा फरक हुन्छ। चुरोट पिउने वा दाउरामा खाना पकाउनेहरूमा हुने दम र अस्थमा एउटै होइन।
बुढाबुढीलाई दमले लगातार दुःख दिन्छ भने बच्चाहरूमा अस्थमाले चिसो, धुलो, धुवाँका कारण समस्या ल्याउँछ। यसले पटक–पटक अस्पताल जानुपर्ने, एन्टिबायोटिक खानुपर्ने अवस्था आउन सक्छ, जसले अन्य असर पनि पार्न सक्छ।
यो एक किसिमको दीर्घ रोग जस्तै हो। तर नियमित उपचार गरेमा यसलाई नियन्त्रणमा राख्न सकिन्छ। कहिलेकाहीँ समयसँगै आफै हराउन पनि सक्छ।
(बाल छाती रोग विशेषज्ञ डा. जगत जीवन घिमिरे इभाज क्लिनिक, सानेपामा कार्यरत छन्।)