सुर्खेतकी १६ वर्षीया बालिका इनिशा विकको बलात्कार र हत्या प्रकरणमा उच्च अदालत सुर्खेतले जिल्ला अदालतकै आदेश सदर गरेको छ।
बिहीबार न्यायाधीश हरिप्रशाद जोशी र खेमराज भट्टको संयुक्त इजलासले जिल्ला अदालत सर्खेतले गरेको आदेश कानुनसम्मत रहेको भन्दै जस्ताको त्यस्तै सदर गरेको उच्च अदालत सुर्खेतका प्रवक्ता प्रेमप्रकाश थापाले जानकारी दिए।
गत चैत १७ गते जिल्ला अदालत सुर्खेतले इनिशा विकको बलात्कार र हत्या प्रकरणमा चारै जना अभियुक्तलाई पुर्पक्षका लागि बालसुधार गृहमा पठाउन आदेश दिएको थियो।
त्यतिखेर जिल्ला न्यायाधीश दीपक ढकालको बाल इजलास नम्बर १ ले चारै जना किशोरलाई मुद्दाको अन्तिम किनारा नलाग्दासम्म बालसुधार गृहमा पठाउने आदेश दिएको थियो।
जिल्ला अदालतको आदेश अनुसार इनिशा विकमाथिको बलात्कार र हत्या प्रकरणमा अन्तिम फैसला नआउँदासम्म बाँकेको खजुरास्थित बालसुधार गृहमा पठाउन आदेश भए बमोजिम उनीहरुलाई पठाइएको थियो।
इनिशामाथि भएको बलात्कार र हत्या आरोपमा पक्राउ परेका उनका प्रेमी भनिएका किशोरसहित चारै जना १८ वर्षभन्दा कम उमेरका भएको हुँदा उनीहरुको परिचय खुलाइएको छैन। उनीहरू सबै एकै विद्यालयमा अध्यनरत थिए ।
ट्युसन पढ्न बिहानै निस्केकी इनिशा फागुन २३ गते बिहान वीरेन्द्रनगर नगरपालिका–१ स्थित जनजागरण सामुदायिक वनमा मृत फेला परेकी थिइन ।
पोस्टमर्टम रिपोर्टले बलात्कारपछि यौनांगमा भित्री चोटपटक लागेपछि अत्यधिक रक्तस्राब हुँदा इनिशाको मृत्यु भएको उल्लेख गरेको थियो।
यो घटनामा इनिशाको सामूहिक बलात्कार गरी हत्या गरेको भन्दै उनका अभिभावकले चारै जनाविरूद्ध किटानी जाहेरी दिएका थिए।
सरकारी वकिल कार्यालयले पनि सोही अनुसार सामूहिक बलात्कारका कारण अत्यधिक रक्तस्राव भई मृत्यु भएको मागदाबीसहित अभियोगपत्र दर्ता गरेको थियो।
घटनाबारे चैत ११ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतले आफ्नो अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई पेस गरेको थियो।
जसमा इनिशा विकमाथि भएको बलात्कार र हत्या घटना सामूहिक नभएको राय पेस गरिएको थियो। प्रहरीले इनिशा विकको बलात्कार र हत्या घटनामा एक जनाको मात्रै संलग्नता रहेको निष्कर्षसहितको प्रतिवेदन बुझाएको थियो।
प्रहरीले बुझाएको प्रतिवेदनमा मुख्य अभियुक्तका प्रेमी भनिएका किशोरविरूद्ध जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी कसुरमा जन्मकैदको मागदाबी गरिएको थियो।
अन्य तीन जनाको हकमा ज्यान सम्बन्धी कसुरमा मुद्दा चलाउन माग प्रहरीले गरेको थियो।