सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थानका सुकुम्बासी बस्तीमा डोजर चलाउँदा, अहिले हजारौं मानिसहरू घरविहीन भएका छन्।
कतिपय मानिस आफै व्यवस्थापन गरी अन्यत्र बस्न गएका छन् भने कतिपय मानिसहरू सरकारले व्यवस्था गरी दिएको विभिन्न होल्डिङ सेन्टरमा बस्न पुगेका छन्।
उपत्यकाका विभिन्न बस्तीबाट बनेपास्थित नेपाल रेडक्रसको प्रशिक्षण केन्द्रमा पनि वैशाख २४ गते ११० जना पुर्याइएको थियो।
यसरी होल्डिङ सेन्टरमा बस्दै आएकाहरूको सरकारसँग गुनासैगुनासो र माग रहेको छ।
खाना बस्नमा कुनै कमीकमजोरी नदेखेका उनीहरूले बच्चाबच्चीको पढाइ, रोजगारी स्थायी बसोबासको माग गर्दै आएका छन्।
शान्तिनगर बस्तीबाट होल्डिङ सेन्टरमा पुर्याइएका दिल बहादुर सुब्बा र कृष्ण कुमारी सुब्बिनीको माग पनि छिटो भन्दा छिटो उचित बसोबास व्यवस्था हुनु पर्यो भन्ने छ।
सरकारले समय नै नदिई घरमा डोजर चलाएको, घरबाट सामान पनि निकाल्ने समय नदिएको उनीहरूको गुनासो छ।
दैनिक ज्याला मजदुरी गर्दै गुजारा चलाउने लाल बहादुर लिम्बूलाई पनि सरकारले छिटोभन्दा छिटो छानबिन गरी गरिब र भूमिहीनको उचित व्यवस्था हुनुपर्ने माग राख्छन्।
१० वर्षीया छोरी मानसिक र शारीरिक रूपमा कमजोर रहेको कारण पनि छोरीको उपचारमा सरकारले सहयोग गर्ने उनको विश्वास समेत रहेको छ।
६६ वर्षीय तोयनाथ मिश्रको पिसाब सम्बन्धी समस्या छ। बालाजु बस्तीमा बस्दै आएका उनी अहिले बनेपा होल्डिङ सेन्टरमा बस्दै आएका छन्।
पिसाबको थैली हातमै बोकी हिँड्ने उनले सरकारले ढिलै भए पनि उचित व्यवस्था गर्ने आश राखेका छन्। त्यहाँ रहेका साना केटाकेटीहरूको पनि माग समयमै विद्यालय जान उचित व्यवस्था गर्नुपर्ने नै रहेको छ।
नेपाल रेडक्रस जनशक्ति विकास प्रतिष्ठानकी विभागीय प्रमुख श्राद्ध श्रेष्ठका अनुसार वैशाखको २४ गतेदेखि १५४ जनाको लागि आवास तथा खानाको व्यवस्थापनको सहरी विकास मन्त्रालयबाट पत्राचार भएको थियो।
११० जना २४ गते बेलुका तीन वटा गाडीमा ल्याइएको उनले जानकारी दिइन्। जसमा विभिन्न उमेर समूह, विभिन्न अवस्थाको मानिसहरू, नौ दिनको सुत्केरी, त्यस्तै १८ वर्ष मुनिका बालबालिका जम्मा २६ जना जसमा १६ जना बालिका, १० जना बालक छन्। यस्तै, ज्येष्ठ नागरिक लगभग १६ जना छन्।
‘११० जना ल्याएकोमा हाम्रो क्यापासिटी भनेको ६० जनाको छ। हाम्रो यो तालिम केन्द्र हो, यहाँ हाम्रो बेडिङ सबै लजिङको व्यवस्था भएको भएर ६० जनाको क्यापासिटी भएकोमा ११० जना आउँदा खेरी कसरी व्यवस्थापन गर्ने भन्ने अन्यौलता थियो। सबैभन्दा आवश्यक पर्ने बालबालिका, आमाहरू र वृद्धवृद्धालाई पहिला हामीले रूममा एकोमोडेट गर्यौं। जति सक्छ रूममा एकोमोडेट गर्यौं, सकेसम्म परिवारलाई सँगै राख्ने कोसिस गर्यौं। त्यसपछि बाँकी जुन पुरूषहरू हुनुहुन्छ, उहाँहरूलाई चाहिँ हामीले अहिले हलमा व्यवस्थापन गरिरहेका छौँ,’ श्रेष्ठले भनिन्।
तस्बिरहरू:
-1779172188.jpg)
-1779172188.jpg)
-1779172187.jpg)
-1779172187.jpg)
-1779172187.jpg)
-1779172186.jpg)
-1779172187.jpg)
-1779172189.jpg)
-1779172188.jpg)
-1779172187.jpg)
-1779172187.jpg)
सबै तस्बिर: सूर्याम्स उप्रेती / नेपाल फोटो लाइब्रेरी