पोखराको अमरसिंह चोकमा टहरा बनाएर व्यवसाय गर्दै आएका व्यवसायीहरूले आफैले टहरा भत्काएपछि महानगरले मंगलबार विहान डोजर चलाएको छ ।
अमरसिंह माविको नाममा रहेको जग्गा स्कुलले नै भाडामा लगाएपछि व्यवसायीले जग्गा भाडामा लिएर टहरा बनाएर व्यवसाय गर्दै आएका थिए। स्कुलले टहरा हटाउन सार्वजनिक सूचना जारी गरेपछि स्कुल प्रशासन, पोखरा महानगर र व्यवसायीवीच टहरा भत्काउन सहमति भएको थियो। सोही सहमति पश्चात् व्यवसायीले टहरा भत्काएका थिए। व्यवसायीले भत्काएको टहरा सफा गर्न महानगरले डोजर लगाएको जनाएको छ।
अमरसिंह चोकमा रहेको उक्त जग्गा ५२ जना व्यवसायीले भाडामा लिएर टहरा बनाएका थिए। विद्यालयले २०३६ सालदेखि उक्त जग्गा भाडामा दिन थालेको थियो। अहिले उक्त जग्गामा ५२ जना व्यवसायीले टहरा बनाएर व्यवसाय गरिरहेका थिए। जग्गा भाडामा दिएर मासिक २ लाख ३८ हजार रुपैया स्कुलले आम्दानी गर्दै आएको स्कुलका प्रध्यानाध्यापक बलराम पोखरेलले बताए। उक्त रकम विद्यालयका निजी स्रोतबाट राखिएका शिक्षकको तलब भत्ता खर्च गरिएको उनले बताए।

‘विद्यलायमा धेरै जना शिक्षक आन्तरिक स्रोतबाट राखिएका छन्, उहाँहरूलाई तलब खुवाउन भाडाबाट उठेको पैसा प्रयोग गरिन्थ्यो,’ उनले भने, ‘महानगरबाट शिक्षकलाई तलब खुवाउन सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएपछि हामीले टहरा हटाएका हौं।’
पोखराको अमरसिंह मावि गण्डकी प्रदेशमा पहिलो देशभरका सामुदायिक विद्यालयमा तेस्रो स्थानमा रहेको पनि उनले बताए। विद्यालयमा अहिले ३ हजार विद्यार्थी अध्यनरत छन्। उनीहरूलाई अध्यापन गराउन सरकारी दरबन्दीबाट ३५ जना शिक्षक छन्। विद्यालयमा आंशिक शिक्षक १०० जना र पूर्णकालीन शिक्षक ४० जना रहेको प्रध्यानाध्यापक पोखरेलले बताए।
विद्यार्थी संख्याका आधारमा थप शिक्षक माग गरे पनि सरकारले उपलब्ध गराउन नसकेको उनको गुनासो छ। टहरा भएको ठाउँमा व्यवसायिक भवन बनाएर भाडामा लगाउने विषयमा छलफल भए पनि निर्णय नभएको उनले बता ।
‘अमरसिंह चोकमै भएकाले खालि जग्गामा विजनेश कम्प्लेकस बनाउने सामान्य कुराकानी भएको छ, यसको निर्णय भएको छैन,’ उनले भने।
पोखरा महानगरका मेयर धनराज आचार्यले अमरसिंह चोकमै रहेको जग्गामा संरचनामा व्यवसायिक संरचना बनाउन तयारी भएको बताए।

विद्यालयले नै चलाउने गरी संरचना बनाएर भाडामा लगाउने र आम्दानी विद्यालयकै उन्यनमा खर्च गर्ने गरी तयारी गरिएको उनले बताए। व्यवसायिक संरचना बनाउँदा चोकपछाडि रहेको चौर खाली नै रहने गरी अगाडि मात्र संरचना बनाउने उनको भनाइ छ।
‘अमरसिंह चोकको अगाडिको भागमा शहरी सौन्दर्य नबिग्रने गरी संरचना बनाउन डिजाइ गर्दैछौं,’ उनले भने, ‘सार्वजनिक निजी साझेदारी मोडलमा संरचना बनाउने र पछाडिको चौर खुला नै राख्ने गरी डिजाइन गर्दैछौं।’
पहिलेको स्वरूप–


