मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उनलाई अफवाह फैलाएको आरोपमा वीरगन्जबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) हरिबहादुर बस्नेतले बताए।
सोमबार राति प्रसाईंलाई वीरगन्जको एक होटलबाट नियन्त्रणमा लिइएको उनले बताए।
उनका अनुसार केही विषयमा सोधपुछ गर्न प्रसाईंलाई पक्राउ गरिएको हो।
के विषयमा सोधपुछ गर्न लागिएको हो भन्ने बारे उनले खुलाउन चाहेनन्।
नागरिक बचाउ अभियानका संयोजक समेत रहेका प्रसाईंलाई प्रहरीले जरूरी पक्राउ पुर्जी दिएर नियन्त्रणमा लिएको हो।
उनी गहवामाई मन्दिरमा दर्शन गर्ने लगायत कार्यक्रमका लागि वीरगन्ज पुगेका हुन्। उनलाई प्रहरीले पक्राउ गरेपछि समर्थकहरूले सरकारको विरोधमा नाराबाजी गरेका थिए।