राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले संसदमा उद्धारको माग राख्दै आएकी धादिङका २१ वर्षीय युवक स्वदेश फर्किएका छन्।
धादिङका २१ वर्षीय उज्जवल कुँवर बिहीबार स्वदेश फर्किएका हुन्।
उनलाई साइप्रसमा बन्धक बनाएर राखिएको भन्दै असार २ गते (मंगलबार) देखि संसदमा उद्धारका लागि सांसद आशिकाले पटक-पटक माग राख्दै आएकी थिइन्।
मेनपावरको प्रलोभनमा साइप्रस पुगेका उज्जवललाई एक पाकिस्तानीले बन्धक बनाई कुटपिट तथा यातना दिइरहेको भन्दै तत्काल उद्धारका लागि सरकारको ध्यानाकर्षण गराएकी थिइन्। उनकै सहयोगमा आफू स्वदेश फर्किन सफल भएको उज्जवल बताउँछन्।
धुनिवेशी नगरपालिका-४ घर भएका उज्जवल जेठ २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका थिए। नेपालबाट युएई, टर्की हुँदै दुई दिनमा साइप्रस पुगे। त्यहाँ आफूलाई लिन एक पाकिस्तानी व्यक्ति आएको उनको भनाइ छ।
'नेपालबाट जाँदै गर्दा केही कागजात देखाइएको थियो। अनि बीचबीचमा भेट्ने मानिसको नाम पनि दिइएको थियो, त्यही देखाउँदै सहजै साइप्रस पुगेँ,' उनले भने, 'त्यहाँ पुगेको पहिलो दिन त्यस्तो शंकास्पद कुनै व्यवहार देखाएनन्।'
उनलाई पहिलो दिन बस्न, खान कुनै समस्या थिएन। दोस्रो दिन साँझ मात्र उनीहरूले घरमा फोन गरेर १२ लाख रूपैयाँ माग्नु भनेको उनी सम्झन्छन्।
'घरमा फोन गरेर १२ लाख रूपैयाँ माग्नु भनेपछि बल्ल आफू फसेको थाहा पाएँ,' उनले भने, 'त्यसपछि डराएर हालत खराब भयो।'
उनले घरपरिवारमा फोन गरेर आफू अपहरणमा परेको खबर सुनाए। परिवारमा पैसा जोहो गर्ने कोसिस भयो। तर कतैबाट पनि त्यति ठूलो रकम संकलन गर्न नसकेको उनकी दिदी दुर्गा कुँवर बताउँछिन्।
उनका अनुसार दुई-तीन दिनसम्म आफन्तहरूसँग मात्र कुराकानी भयो। प्रहरीलाई भन्ने हिम्मत पनि मिलेन। तीन दिनपछि मात्र आफन्त र प्रहरीसँग कुराकानी गर्न थालियो। धादिङकै सांसद भएकाले आशिकालाई न्यायको पहल गर्न गाउँका आफन्तहरूले आग्रह गरेको दुर्गा बताउँछिन्।
'संसदमा कुरा उठाइदिनुभयो। भाइलाई केही गर्ने हो कि भन्ने डर हामीलाई थियो,' उनले भनिन्, 'तत्काल उनीहरूले मागेजति पैसा दिन पनि सक्ने थिएनौं।'
यता स्वदेशमा उज्जवलको उद्धारमा परिवार दौडधुप गरिरहेका बेला उनलाई भने पैसा जम्मा नगरे नाङ्गेझार बनाएर भिडिओ बनाउने, कुटपिट गर्ने गरिरहेको उज्जवल बताउँछन्।
परिवारले पैसा जम्मा गरिरहेका छन्, त्यति ठूलो रकम उपलब्ध गराउन समय लाग्छ भन्दै उज्जवलले उनीहरूलाई सम्झाइरहे। ५ दिनसम्म पनि पैसा दिन नसकेपछि मानसिक यातना दिएको उनी सम्झन्छन्।
'नेपालमा आफन्तहरूले प्रहरीलाई पनि उद्धारका लागि निवेदन दिनुभयो। त्यसपछि संसदमा पनि कुरा उठ्यो,' उनले भनिन्, 'सामाजिक सञ्जालभरि भिडिओ आउन थालेपछि बन्धक बनाएर राखेकाहरूले नै अस्ति बेलुका टिकट थमाउनुभयो।'
उनले थपे, 'टिकटमा नेपालको नाम देखेपछि अब बाँचेँ, नयाँ जुनी पाएँ भन्ने लाग्यो।'
साइप्रसबाट बिहीबार बिहान ८ बजे नेपालको विमानस्थलमा आइपुग्दा आफूले नयाँ जीवन पाएको उनी बताउँछन्। उनका अनुसार आशिका तामाङ विमानस्थलमै पुगेकी थिइन्।
कक्षा ११ सम्म अध्ययन गरेका उनी कुकको काम गरिरहेका थिए। आर्थिक अवस्था कमजोर थियो।
उनले भने, ‘पारिवारिक जिम्मेवारी थपिँदै जाँदा विदेशिने सोच आयो।’
लामो समयदेखि विभिन्न मेनपावरमा धाए। त्यही क्रममा एजेन्टहरूमार्फत नै एक पाकिस्तानी व्यक्तिसँग ह्वाट्सएपमा कुराकानी भयो।
'पैसा उतै गएर कमाएर तिर्दा हुने भनेपछि प्रक्रिया अगाडि बढ्यो। तीन-चार महिनामै भिसा आयो, कागजात आयो,' उनले भने, 'नेपालबाट यूएई, टर्की हुँदै दुई दिन लागेर साइप्रस पुगेको हुँ।'
उनका अनुसार उनीसँगै अन्य व्यक्तिहरू पनि गएका थिए। तर फरक-फरक ठाउँमा राखिएकाले उनीहरूको बारेमा आफूलाई केही थाहा नभएको उनी बताउँछन्।
'कम लगानीमा पाइयो भन्दैमा गइहाल्नु हुँदैन रहेछ। यो कुरा बुझेँ,' उनले भने, 'विदेश जान हतार गर्नु हुँदैन भन्ने लाग्यो।'