लगातार लाभांश नदिएका दुई विकास बैंकको यस पटक राम्रो लाभांश क्षमता देखिएको छ।
यी कम्पनी हुन्, एक्सेल डेभलपमेन्ट बैंक र लुम्बिनी विकास बैंक।
यिनले गत आर्थिक वर्ष २०८२–८३ मा उच्च नाफा गरेका छन्।
एक्सेल डेभलपमेन्ट बैंक
गत आर्थिक वर्ष २०८२–८३ मा एक्सेलको नाफा २२८ गुणाले वृद्धि भएको छ। यसअघि १३ लाख रूपैयाँ कमाएको यसले यसपालि ३० करोड ९४ लाख रूपैयाँ नाफा गरेको छ।
आम्दानीको मुख्य आधार खुद ब्याज आम्दानी नै करिब १५ प्रतिशत बढेर ६४ करोड रूपैयाँ पुगेको छ। यसअघि राखेको १९ करोड रूपैयाँ कर्जा नोक्सानी व्यवस्था (प्रावधान) रकम फिर्ता (राइटब्याक) गरेकाले पनि नाफा रकम बढ्न सहयोग पुगेको हो।
यसको निष्क्रिय कर्जा ६.६९ प्रतिशतबाट घटेर ४.५७ प्रतिशत भएको छ। प्रतिसेयर आम्दानी ०.११ रूपैयाँबाट बढेर २४ रूपैयाँ ७६ पैसा पुगेको छ। यसले नाफा रकमबाट १४.३८ प्रतिशत लाभांश दिन सक्ने क्षमता देखाएको छ।
एक्सेलले आर्थिक वर्ष २०७७–७८ देखि लाभांश दिन सकेको छैन। सो समय ८.५ प्रतिशत बोनस सेयरसहित कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश दिएको थियो।
गत आर्थिक वर्ष यसको पुँजीकोष अनुपात हरेक त्रैमासमा नियामकीय प्रावधानभन्दा धेरै छ। राष्ट्रिय स्तरका विकास बैंकहरूको प्राथमिक पुँजीको आधारमा कम्तिमा यो अनुपात ६ प्रतिशत हुनुपर्छ। यो असारमा पनि यो अनुपात १२.३६ प्रतिशत छ।
खराब कर्जामा सुधार र प्राथमिक पुँजीकोषमा कम दबाब रहेको एक्सेललाई लाभांश दिन समस्या नहुने देखिन्छ।
कतिको दरमा लाभांश दिनेछ भन्ने कुरा सञ्चालक समितिको निर्णय र राष्ट्र बैंकको स्वीकृतिपछि मात्रै थाहा हुनेछ।
बैंकहरूले अहिले सार्वजनिक गरेको वित्तीय विवरण अपरिस्कृत वित्तीय विवरण हो। राष्ट्र बैंकले बैंकहरूको वित्तीय विवरणको आधारमा आवश्यक देखिएमा प्रावधान रकम थप्न समेत लगाउन सक्छ। यसले पनि लाभांश दरमा प्रभाव पार्न सक्छ।
वित्तीय विवरण सार्वजनिक भए पनि यसको सेयर मूल्यमा खासै प्रभाव परेको देखिँदैन। असार अन्त्यमा ५६१ रूपैयाँमा कारोबार भइरहेको एक्सेलको बिहीबार ५८७ रूपैयाँमा अन्तिम कारोबार भयो। यो अवधिमा मूल्य करिब २६ रूपैयाँले वृद्धि भएको छ।
लुम्बिनी विकास बैंक
गत आर्थिक वर्ष २०८२–८३ मा लुम्बिनीको नाफा ३.५२ गुणाले वृद्धि भएको छ। यसअघि २४ करोड ११ लाख रूपैयाँ कमाएको लुम्बिनीले ८५ करोड १० लाख रूपैयाँ नाफा गरेको छ।
यसको खुद ब्याज आम्दानी ७.५३ प्रतिशत बढेर एक अर्ब ९९ करोड रूपैयाँ पुगेको छ। यसअघि यसले ७७ करोड रूपैयाँ कर्जा नोक्सानी व्यवस्था राखेकामा यस पटक केही घटेको छ। यसपालि १३ करोड रूपैयाँ मात्रै कर्जा नोक्सानी व्यवस्था राखेकाले नाफामा सुधार भएको हो।
लुम्बिनीको निष्क्रिय कर्जा भने केही बढेको छ। यस्तो कर्जा अनुपात ४.७१ प्रतिशतबाट बढेर ६.९४ प्रतिशत पुगेको छ। यसको प्रतिसेयर आम्दानी ६.६५ रूपैयाँबाट बढेर २३ रूपैयाँ ४८ पैसा पुगेको छ।
यो बैंकले नाफा रकमबाट १६.९९ प्रतिशत लाभांश दिन सक्ने क्षमता देखाएको छ। यसले यसअघि आर्थिक वर्ष २०८०–८१ मा लाभांश दिएको थियो। सो समय ३ प्रतिशत बोनस सेयर सहित चार प्रतिशत नगद लाभांश दिएको थियो। आर्थिक वर्ष २०८१–८२ मा लाभांश दिएन।
गत आर्थिक वर्ष यसको पुँजीकोष अनुपात हरेक त्रैमासमा नियामकीय प्रावधानभन्दा धेरै छ। यो असारमा पनि यो अनुपात ११.३१ प्रतिशत छ। यसलाई पनि लाभांश दिनै भने समस्या नहुन सक्छ।
बिहीबार नै वित्तीय विवरण सार्वजनिक भएको लुम्बिनीको सेयर मूल्य यस दिन घटेको छ। मूल्य नौ रूपैयाँ घटेर ४९१ रूपैयाँमा अन्तिम कारोबार भएको हो।
पछिल्लो केही समयदेखि यसको मूल्य ५०० रूपैयाँ नाघ्न संघर्ष गरिरहेको छ।