कल्पनाको सम्झनामा गाउँमा १० लाख रुपैयाँ बराबरको प्रतिक्षालय निर्माण गर्ने लगायत पाँच बुँदे सहमतिपछि तुलसीपुरमा सवारी दुर्घटनापछि उत्पन्न तनाव सल्टिएको छ।
बिहीबार भएको सवारी दुर्घटनामा ज्यान गुमाएकी तुलसीपुर – ११ कटाँहाकी २१ वर्षीया कल्पना केसी डाँगीका घर परिवार, आफन्त र तुलसीपुर उपमहानगरपालिकाका पदाधिकारीका बीचमा भएको पाँच बुँदे सहमतिको २ नं. बुँदामा मृतक कल्पना केसी डाँगीको सम्झनामा तुलसीपुर – ११ कटाँहामा एक महिनाभित्र दश लाख रुपैयाा बराबरको प्रतिक्षालय निर्माण गर्ने सहमति भएको हो।
सहमतिको अन्तिम बुँदामा उपमहानगरको तर्फबाट किरिया खर्च बापत तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउने सहमति भएको छ।
तुलसीपुरका मेयर टीकाराम खड्का, प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धै र पीडित परिवारको तर्फबाट सरु डाँगीले हस्ताक्षर गरेको सहमतिको बुँदा नं. १ मा दुर्घटना (घटना) घटाउने व्यक्ति (चालकहरू) लाई प्रचलित कानुन अनुरूप कारबाही गर्ने उल्लेख छ।
सहमतिको बुँदा नम्बर ४ मा मृतक कल्पनाका घर परिवार र माइती पक्षका एक/एक जनालाई स्थानीय तहको प्रचलित कानुन अनुसार एक महिनाभित्र रोजगारी उपलब्ध गराउने उल्लेख छ।
बुँदा नं. ३ मा मृतक कल्पनाका परिवारलाई कानुन अनुरूप उपलब्ध हुने बीमा बापतको रकम घर परिवारलाई बुझाउने सहमति भएको छ।
शुक्रबार बेलुकीपख इलाका प्रहरी कार्यालय तुलसीपुरमा पीडित पक्ष र उपमहानगरका पदाधिकारी बीचमा सहमति भएको हो।
दुई पक्षका बीचमा भएको सहमतिपछि मृतक कल्पनाका घर परिवार तथा माइती पक्ष उनको पोष्टमर्टमपछि शव बुझ्न राजी भएका हुन्।
अहिले उनको पोष्टमर्टमको प्रक्रिया सुरू भएको प्रहरीले जनाएको छ।
पोष्टमर्टमपछि शव बुझ्ने पीडित पक्षले सहमति गरिसकेको प्रहरीले जनाएको छ।
डिएसपी होबहादुर पराजुलीका अनुसार मोटरसाइकल चालक सल्यानको शारदा नगरपालिका – ९ का ३१ वर्षीय भुपेन्द्रसिंह पुन र नगरपालिकाको टिपर चलाक तुलसीपुर – ११ बेलगनाका २७ वर्षीय गोपाल चौधरीलाई सवारी ज्यान सम्बन्धी मुद्दा चलाउने गरी म्याद थपका लागि जिल्ला अदालत घोराही पठाइएको छ।
बिहीबार दिउँसो साढे १२ बजेतिर तुलसीपुर बजारबाट राप्ती राजमार्ग हुँदै दक्षिण गुम्ह्रा चोकतर्फ गइरहेको तुलसीपुर उपमहानगरपालिकाको फोहोर बोक्ने रा १ ग २२ गाडी (टिपर) र कल्पना सवार रा ४ प ७९४५ नम्बरको स्कुटर एकै दिशामा गइरहेका थिए।
त्यही क्रममा कल्पना सवार स्कुटरलाई दक्षिणबाट उत्तर बजारतर्फ जाँदै गरेको क.प्र. ०२–००३ प २४४९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।
मोटरसाइकलको ठक्करबाट सन्तुलन गुमाउँदै सडकमा लडेकी कल्पनालाई फोहोर बोक्ने गाडीको पछाडिको चक्काले किचेको थियो। गम्भीर अवस्थाकी कल्पनालाई तत्कालै उपचारका लागि राप्ती प्रादेशिक अस्पताल पुर्याइएको भए पनि उपचारका क्रममा उनको दिउँसो साढे १ बजेतिर मृत्यु भएको थियो।