आजभन्दा करिब १४ वर्षअघि मनोज अधिकारीको जीवनमा एउटा यस्तो मोड आयो, जसले उनलाई व्यवसायीबाट ऋणी बनाइदियो।
त्यस बेला झापा–काठमाडौं रूटमा चल्ने गाडीको व्यवसाय गरेका थिए। गार्मेन्ट चलाएका थिए, होटल व्यवसायमा पनि हात हालेका थिए।
'त्यो बेला मैले तीन वटा यात्रुवाहक बस हालेको थिएँ। एउटा दुर्घटनामा पर्यो। त्यो दुर्घटनाका कारण मेरो व्यवसाय तहसनहस भयो। बस बेचेर पनि पुगेन। सबै व्यवसाय सकियो। जग्गासमेत बेचेँ। ४०/५० लाख यसै गुम्यो,' उनले विगत सम्झिँदै भने।
झापाका मनोजले त्यसअघि कामका लागि विदेश जाने कल्पनासमेत गरेका थिएनन्। दुर्घटनापछि कसैगरी पार लागेन। दक्षिण कोरिया रोजगारीको विकल्प बन्यो।
सन् २०१६ मा उनी रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया पुगे। अहिले उनी इ–७ भिसा लिएर काम गरिरहेका छन्। उनी त्यहाँको फलाम प्रशोधन गर्ने कम्पनीमा टिम क्याप्टेन छन्।
उनी रातिको सिफ्टको नेतृत्व गर्छन्।
कम्पनीमा खासगरी फलाम पोल्ने काम हुन्छ। पोलेको फलाम निकालेर सम्बन्धित ठाउँमा पठाउनुपर्छ।
'काम निकै मेहनतको छ। बल पनि चाहिन्छ, बुद्धि पनि,' उनी भन्छन्।
कम्पनीमा ओभरटाइम सुविधा पनि राम्रो छ। खटेर काम गर्दा कमाइ निकै राम्रो छ। मनोजले १० वर्ष खट्दा राम्रो कमाइ गरेको बताए।
त्यहाँको कमाइलाई उनले फेरि नेपालमा यातायात क्षेत्रमै लगाएका छन्। दुई वर्षयता उनी साथीहरूसँग मिलेर सिम्रिक यातायात ट्राभल एन्ट टुर्स नामक कम्पनीमार्फत गाडी चलाइरहेका छन्।
आफूले काम गरिरहेको क्षेत्रको मायाले यही व्यवसायमा लगानी गरेको मनोज बताउँछन्।
कम्पनीमा विकास बुढाथोकी, शम्भु काफ्ले, हरि आचार्य, निकेश शर्मा, जीवन थापा, संजित थापा लगायत साथीहरूको समूह संलग्न छ। सबै जना मिलेर लगभग २० करोड रूपैयाँ लगानी गरिएको उनले बताए।

व्यवसायको नेतृत्व मनोजले कोरियाबाटै गरिरहेका छन्।
अहिले कम्पनीसँग १४ वटा अत्याधुनिक एसी बस छन्। यी बस झापा–काठमाडौं, धरान–काठमाडौं, विराटनगर–काठमाडौं, जनकपुर–काठमाडौं, रंगेली–काठमाडौं, मलंगवा–काठमाडौं लगायत लामो दुरीका रूटमा चलिरहेका छन्।
बसहरूमा एसी, सिसिटिभी क्यामरा, आरामदायी सोफा सिट, स्लिपर तथा सिटिङ दुवै सुविधा छन्। अनलाइन टिकटको व्यवस्था गरिएको छ
'हामीले गाडी मात्र आधुनिक बनाएका छैनौं, सेवाको संस्कार पनि बदल्ने प्रयास गरेका छौं,' मनोज भन्छन्।
चालक कम्पनीले तोकेको पोसाक अर्थात् टाइ, सर्ट, प्यान्ट, टोपी लगाएर स्टेयरिङ समाउँछन्। सहचालकको छुट्टै पोसाक हुन्छ। यसले गर्दा सहचालक तथा अन्य व्यक्तिले जथाभावी गाडी चलाएर निम्त्याउने दुर्घटना न्यूनीकरण हुने विश्वास उनको छ।
लामो दुरीका प्रत्येक बसमा अनिवार्य दुई जना चालक राखिएको छ। चालकले मदिरा सेवन गरेर गाडी चलाउन पूर्ण प्रतिबन्ध छ।
'मापसे गरेर गाडी चलाउने, राति सहचालकलाई स्टेयरिङ सुम्पिने वा लापरबाही गर्ने छुट छैन,' उनी भन्छन्, 'यात्रुले सिधै कम्पनीमा उजुरी गर्न सक्छन्।'
बस सेवाले प्रत्यक्ष रूपमा करिब २०० जनालाई रोजगारी दिएको छ। चालक, सहचालक, काउन्टर कर्मचारी, प्राविधिक लगायत विभिन्न क्षेत्रमा नेपालीले काम पाइरहेका छन्।
'हामी त विदेशमा श्रमिक छौं, त्यसैले नेपालमा रोजगारी सिर्जना गर्न सकेकामा सबैभन्दा बढी खुसी लाग्छ,' मनोजले थपे।
मनोजले दमकमा शिक्षा क्षेत्रमा पनि लगानी गरेका छन्। भविष्यमा कृषि र पर्यटन क्षेत्रमा पनि लगानी विस्तार गर्ने योजना छ। त्यसका लागि एप विकास गर्ने तयारी भइरहेको छ।
'आगामी दिनमा हाम्रो समूहले कृषि र पर्यटनमा पनि काम गर्न योजना बनाएका छौं। म नेपाल आउँदा हाम्रो नयाँ अनलाइन टिकट एप गो–यात्रा र कृषि कम्पनी शुभारम्भ गर्दैछौं,' उनले भने।

मनोजको अनुभवमा नेपालमा व्यवसाय गर्नु अहिले पनि चुनौतीपूर्ण छ। बस सञ्चालनमा दैनिक ठूलो खर्च लाग्छ। वर्षायाममा यात्रु घट्छन्। कर्मचारीको तलब, इन्धन खर्च आफ्नै खल्तीबाट व्यवस्थापन गर्नुपर्ने अवस्था हुन्छ।
'सरकारले तोकेभन्दा निकै कम भाडादरमा यात्रु बोक्नुपर्ने प्रतिस्पर्धा छ,' उनले भने, 'एउटा बसको दैनिक खर्च धेरै हुन्छ। यस्तो अवस्थामा व्यवसाय टिकाउन सजिलो छैन।'
बैंकबाट ऋण लिन पनि सजिलो नभएको उनको गुनासो छ।
'सरकारले अर्थतन्त्रमा पैसा छ भन्छ। तर काम गर्छु भन्ने व्यवसायीले ऋण पाउँदैन। ब्याजदर पनि महँगो छ,' उनी भन्छन्, 'कोरियामा दुई–तीन प्रतिशत ब्याजमा ऋण पाइन्छ। नेपालमा लगानी गर्न चाहनेलाई त्यस्तो वातावरण छैन।'
दस वर्षदेखि कोरियामा रहे पनि मनोजको अन्तिम लक्ष्य नेपालमै व्यवसाय विस्तार गर्नु हो।
'यहाँको कमाइले नेपालमा व्यवसाय चलिरहेको छ। सरकारले लगानी सुरक्षित हुने वातावरण बनायो, व्यवसायीलाई भरोसा दिलायो भने फर्किन किन मन नलाग्ला,' उनी भन्छन्।