बिहीबार दिउँसो तुलसीपुरमा सवारी दुर्घटनामा परी २१ वर्षीया श्रीमती कल्पना केसी डाँगीको मृत्यु भएपछि उनका ३२ वर्षीय श्रीमान मनोज डाँगी कतारबाट स्वदेश फर्किएका छन्।
गत मंसिर २१ गते मागी विवाह गरेका मनोज विवाहको डेढ महिनापछि रोजगारीका लागि कतार गएका थिए।
श्रीमतीको मृत्युपछि काठमाडौँ र बाँके हुँदै तुलसीपुर आइपुगेका मनोजको प्रतीक्षाका कारण शवको पोस्टमार्टम हुन बाँकी थियो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीका अनुसार श्रीमान आइपुगेपछि मुद्दा दायर गरी पोस्टमार्टमको प्रक्रिया अघि बढाइनेछ।
उनको शव राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ।
सल्यानको छत्रेश्वरी गाउँपालिका–१ माइती भएकी कल्पना कक्षा १२ उत्तीर्ण गरी राप्ती बबई क्याम्पसमा ब्याचलरको फारम भर्ने योजनामा थिइन्।
बिहीबार उनी रोजगारीका लागि भारत जान लागेका देवर गोविन्द डाँगीलाई बसमा चढाउन स्कुटरमा बजार आएकी थिइन्। देवरलाई छाडेर फर्कने क्रममा गुम्ह्रारा चोकनजिकै सुरूमा मोटरसाइकल र लगत्तै तुलसीपुर उपमहानगरपालिकाको फोहोर बोक्ने टिपरले किच्दा गम्भीर घाइते भएकी उनलाई राप्ती प्रादेशिक अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए।
सरकारी गाडीको ठक्करबाट मृत्यु भए पनि हालसम्म नगरपालिकाका जिम्मेवार पदाधिकारी सान्त्वना दिन समेत नआएको कल्पनाका काका ससुरा दुर्गा डाँगीले गुनासो गरे।
पीडित पक्षले माग पूरा नभएसम्म शव नबुझ्ने चेतावनी दिएका छन्।
उनीहरूले रकमभन्दा पनि मृतकका नाममा शालिक वा मन्दिर निर्माण गरिदिनुपर्ने र बीमाको रकम नगर कोषमा राखी विद्यार्थी वा दुर्घटना न्यूनीकरणका उपायमा लगाउनुपर्ने माग राखेका छन्।
‘हाम्रो माग नगरको गाडीको ठक्कर बाट मृत्यु भएकी बुहारीको शालिक अर्थात कुनै मन्दिर निर्माण गरिदिनु पर्छ भन्ने हो,’ उनका अंकल दुर्गाले भने, ‘हामीले पैसा मागेका होइनौं बरू बीमा बापत आउने पैसा नगरमै कोष जम्मा गरी विद्यार्थी वा यस्ता घटना न्यूनीकरण गर्ने उपायमा लगाउनु पर्छ भन्ने हो।’
अहिले इप्रका तुलसीपुरमा पीडित पक्ष, प्रहरी लगायत सरोकारवालाको छलफल जारी छ।
यो पनि:
मोटरसाइकलको ठक्करबाट लडेकी स्कुटर चालकलाई फोहोर बोक्ने गाडीले ठक्कर दिँदा मृत्यु