स्कुटरमा यात्राकै दौरान बेहोस भएका एक युवाको उपचारका क्रममा मृत्यु भएको छ ।
स्कुटरमा यात्रा गर्दा गर्दै बेहोस भएका सुर्खेतको वीरेन्द्रनगर नगरपालिका – ९ का २९ वर्षीय उत्सव जिसीको बिहीबार राति उपचार क्रममा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी कविन्द्रसिंह बोहराका अनुसार उत्सव बिहीबार साँझ उनकै साथी वीरेन्द्रनगर – ९ कै २७ वर्षीय रोशन घिसिङसँग लु.प्र.ए.ए.ए. ६१५७ नम्बरको स्कुटरमा यात्रा गरिरहेका थिए।
स्कुटर रोशनले चलाएका थिए। उनीहरू कोहलपुर-सुर्खेत सडक खण्ड अन्तर्गत रत्न राजमार्गमा पर्ने भेरी गंगा नगरपालिका – ४ सानो हर्ने नजि पुगेपछि उत्सव बेहोस भएका थिए।
पछाडि सवार साथी यात्राका क्रममा एकाएक बेहोस भएपछि रोशनले प्रहरीलाई खबर गरेका थिए ।
त्यसपछि इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी सहायक निरीक्षक खुम्ब मगरको नेतृत्वमा पाँच जनाको टोली पुगेर एम्बुलेन्समा मार्फत चालक घिसिङको जिम्मा लगाएर उपचारका लागि कर्णाली प्रादेशिक अस्पताल सुर्खेतका लागि पठाएको थियो।
राति ९ बजे अस्पताल पुर्याइएपछि उनको उपचार सुरु भएको थियो। तर, उपचारकै क्रममा राति पौने ११ बजेतिर जिसीलाई चिकित्सकले मृत घोषणा गरेको डिएसपी बोहोराले जानकारी दिए।
उत्सवको शव पोष्टमर्टका लागि कर्णाली प्रादेशिक अस्पतालमा राखिएको छ । घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ।
उत्सव लागुऔषधका प्रयोगकर्ता हुन सक्ने प्रहरीको आशंका छ। उनीहरु बाँकेबाट लागुऔषध लिनका लागि गएको हुन सक्ने प्रहरीले जनाएको छ। उत्सव बेहोस भएको घटनास्थल नजिक ब्राउन सुगरको एउटा पुरिया पनि फेला परेको प्रहरीले जनाएको छ।
यसबारे पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ।