तिब्बतबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ९०३ पुगेको छ।
राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार बिहान ९ बजेसम्म ९०३ जनाको शव फेला परेको हो।
प्राधिकरणका अनुसार रसुवामा २४ जना, नुवाकोटमा ९५ जना, धादिङमा ५५ जना, गोरखामा ६२ जना, नवलपरासी पूर्वमा २०७ जना, नवलपरासी पश्चिममा १५१ जना, तनहुँमा ३७ जना र चितवनमा २७२ जनाको शव फेला परेको हो।
बाढीमा परी हालसम्म सम्पर्कविहीन हुनेको संख्या ४ हजार २४७ पुगेको पनि प्राधिकरणले जनाएको छ।
नेपाल प्रहरीका २५ जना, नेपाली सेनाका ४५ जना, सशस्त्र प्रहरी बलका १३ जना, भन्सार कार्यालयका १५ जना, अध्यागमन कार्यालयका ३ जना, रसुवाबाट ८६५ जना, नुवाकोटका १५५८ जना सम्पर्कविहीन छन्।
त्यस्तै विभिन्न जलविद्युत आयोजनाबाट ९३३ जना, मकवानपुरका ६५ जना, विदेशी नागरिक ५९२ जना, विदेशीसँगै घुम्न गएका १२७ नेपाली, लाङटाङ राष्ट्रिय निकुञ्जबाट ३ जना र क्वारेन्टाइन कार्यालयबाट ३ जना सम्पर्कविहीन छन्।
प्राधिकरणका अनुसार हालसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको छ।
तीमध्ये नेपाली सेनाले २५२ जना विदेशी नागरिक, ३ हजार ३४४ जना नेपाली नागरिकको हवाई उद्धार भएका छन्।
आइतबार विभिन्न जलविद्युत आयोजनमा फसेका १५ जना चिनियाँ र ७ जना भारतीय नागरिकको हवाई उद्धार गरिएको छ।
सोमबार बिहान ९ बजेसम्म १७ वटा उडान भएको प्राधिकरणले जनाएको छ।
हालसम्म २६७ जना घाइते भएकाहरूमध्ये १५६ जना उपचारपश्चात डिस्चार्ज भइसकेका छन्।
बाढीमा परेकाहरूको खोजी कार्यका लागि २० हजार ८१९ जना परिचालन गरिएको प्राधिकरणले जनाएको छ।
त्यसमध्ये नेपाल प्रहरीका ७ हजार ८९४, नेपाली सेना ८ हजार ७२२ जना र सशस्त्र प्रहरी बल नेपालका ४ हजार २०३ जना परिचालन गरिएको छ।