अमेरिका र इरानले एक अर्कामाथि हमला गरेका छन्।
अमेरिकाले इरानमाथि हमला गरेपछि इरानले पनि जोर्डनमा रहेको अमेरिकी सैन्य अड्डामा लक्ष्य गरेर मिसाइल प्रहार गरेको हो।
हर्मुज जलमार्गमा इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आइआरजिसी)ले बारूदी सुरूङ बिच्छ्याउने तयारी गरेको आरोपमा अमेरिकाले इरानमाथि हमला गरेको हो।
अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम)का अनुसार गएराति इरानको लाराक द्वीपमा रहेको दुइवटा प्रक्षेपण प्रणालीलाई लक्ष्य गरी हवाई हमला गरेको हो।
आइआरजिसीका सैनिकहरूले हर्मुज जलमार्गमा बिच्छ्याउन बिस्फोटक पदार्थहरू बोकेका रकेट प्रहारको तयारी गरिरहेको देखिएपछि हवाई हमला गरेको भनेर अमेरिकी अनलाइन एक्सियसले लेखेको छ।
'इरानले हर्मुजमा खतरा सिर्जना गरेपछि अमेरिकी सेनाले त्यसलाई हटाएको छ। ताकी नागरिक नाविक, व्यावसायिक जहाज र विश्वव्यापी व्यापारको स्वतन्त्र आवागमनको सुरक्षा गर्न सकियोस्,' सेन्टकमले भनेको छ।
सेन्टकमका प्रवक्ता क्याप्टेन टिम हकिन्सलेअमेरिकी सेनाले उक्त क्षेत्रमा नजिकबाट निगरानी गरिरहेको र हर्मुज हुँदै हुने व्यापारिक आवागमनको स्वतन्त्रता जोगाउन आवश्यक परे थप कारबाहीका लागि तयार रहेको बताएका छन्।
इरानसँग निकट मानिने तस्निम समाचार एजेन्सीले भने अमेरिकी ड्रोनले उक्त हमला गरेको र त्यसक्रममा दुई जनाको मृत्यु तथा दुई जना घाइते भएको जनाएको छ।
आइआरजिसीले अमेरिकी हमलाको कडा विरोध गर्दै त्यसको जवाफ दिने चेतावनी दिएको छ।
यो हमला जुलाईको अन्त्यपछि इरानभित्र अमेरिकी सेनाले गरेको पहिलो ज्ञात सैन्य कारबाही हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुलाईको अन्त्यतिर हर्मुज जलमार्गमा दुई सातासम्म चलेको अमेरिकी सैन्य अभियान स्थगित गरेका थिए।
यसबीच अमेरिकी सेनाले गत साता हर्मुज जलमार्गको मुख्य समुद्री मार्गमा बिछ्याइएका सबै समुद्री सुरुङ हटाउने काम पूरा गरेको थियो। त्यसपछि ट्रम्पले इरानलाई नयाँ समुद्री सुरुङ राख्ने कुनै पनि जहाज वा डुंगा तत्काल र व्यवस्थित रूपमा नष्ट गरिने चेतावनी दिएका थिए।
ट्रम्पले आफ्नो ट्रुथ सोसल खातामा लेखेका थिए, 'समुद्री सुरुङ राख्ने विषयमा शून्य सहनशीलताको नीति पूर्ण रूपमा लागू भएको छ।'
हर्मुज जलमार्ग विश्वको सबैभन्दा महत्वपूर्ण ऊर्जा तथा व्यापारिक समुद्री मार्गमध्ये एक हो।
खाडी मुलुकबाट विश्व बजारतर्फ जाने ठूलो परिमाणको तेल तथा अन्य ऊर्जा सामग्री यही जलमार्ग हुँदै जाने भएकाले यहाँको कुनै पनि सैन्य तनावले विश्वव्यापी ऊर्जा आपूर्ति र व्यापारमा असर पार्न सक्छ।
अमेरिकी हमलापछि तनाव थप बढेको संकेतसमेत देखिएको छ। एक अमेरिकी अधिकारीका अनुसार इरानले जवाफी कारबाहीस्वरूप जोर्डनस्थित अमेरिकी सैन्य अड्डातर्फ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ।
अधिकारीका अनुसार इरानबाट कैयौं क्षेप्यास्त्र प्रहार भए पनि कुनै पनि क्षेप्यास्त्र अमेरिकी सैन्य अड्डामा नखसेको पनि ती अधिकारीले जानकारी दिएका छन्। अमेरिकी अड्डामा क्षति वा अमेरिकी सैनिकको हताहती भएको जानकारी पनि नआएको एक्सियसले लेखेको छ।
जोर्डनको सेनाले भने इरानबाट प्रहार गरिएका आठवटा क्षेप्यास्त्र आफ्नो हवाई प्रतिरक्षा प्रणालीले बीचमै रोकेको जनाएको छ।
यस घटनाले केही समययता तुलनात्मक रूपमा शान्त देखिएको हर्मुज जलमार्गमा अमेरिका र इरानबीचको सैन्य तनाव फेरि चर्किन सक्ने संकेत गरेको छ।