भोटेकोसीमा आएको बाढीपछि नारायणीमा बढेको बहावले सुस्ता गाउँ निरन्तर डुबानमा पर्दै आएको छ। १० गते बिहान भोटेकोसीमा आएको बाढी गण्डक बाँध हुँदै सोही दिन साँझ सुस्ता पुगेको थियो।
साउन लागेदेखि नै नारायणीले तटबन्ध कटान गर्दै बस्ती डुबानमा परिरहेको थियो। त्यसैमाथि बहाव बढेपछि सुस्ताका आधा दर्जन टोल थप डुबानमा परेको स्थानीयले बताएका छन्।
स्थानीय मुन्सीकुमार हरिजनका अनुसार गत बिहीबार साँझदेखि सुस्ताका थारु टोल, सैनिक टोल, बड्की टोल, क्याम्प टोल लगायतका करिब १५० घर डुबानमा परेका छन्।
घर डुबानमा परेकाहरू अग्लो स्थानमा बनेका छिमेकीहरूका घरमा आश्रय लिएर बसेको हरिजनले बताए। स्थानीयलाई सामुदायिक विपद् व्यवस्थापन समितिले नारायणीमा बाढी आउने जोखिम यथावत् रहेकोले सुरक्षित स्थानमा जान माइकिङ गरिरहेको छ।
समितिका कमल प्रसाद हरिजनका अनुसार बाढीबाट हुनसक्ने क्षति र जोखिमलाई मध्यनजर गरी सर्वसाधारण र घरभित्रका सामानलाई सुरक्षित स्थानमा लैजान समितिले सहयोग गरिरहेको छ।
यसअघि नारायणी नदी किनारको एक किलोमिटर क्षेत्रमा पक्की तटबन्ध निर्माण गरिएको भए पनि त्यसैसँग जोडिएको पूर्वतर्फ १३२ मिटर क्षेत्रमा भने तटबन्ध हुन सकेको छैन।
नारायणी सिचाईं तथा जल उत्पन्न प्रकोप व्यवस्थापन आयोजना भरतपुरले उक्त क्षेत्रमा पनि तटबन्ध निर्माणका लागि ठेक्का लगाए पनि भारतीय एसएसबीले अवरोध गरेपछि अगाडी बढ्न सकेको छैन।
वर्षा बढ्दै जाँदा नारायणीको कटान बस्तीतर्फ बढेपछि साउन १५ गते स्थानीयले बस्ती र जमिन जोगाउन बोरामा बालुवा भरेर अस्थायी बाँध निर्माण गरेका थिए। त्यही अस्थायी बाँध पनि भारतीय एसएसबीले भत्काइदिएको थियो।
त्यसयता निरन्तरको बाढीले जमिन कटान गर्न थालेपछि सुरक्षाकर्मीहरूको सहयोगमा स्थानीयले फेरी आफै अस्थायी बाँध निर्माण गरेका थिए। तर निरन्तरको वर्षा र नारायणीमा आएको बाढीले उक्त अस्थायी बाँध कटान गरेको छ। मुन्सीकुमार हरिजनले अस्थायी रूपमा लगाएको अधिकांश बाँध कटान भइसकेको बताए।
सुस्तामा हाल ३५० हाराहारी घरधुरीमा कम्तीमा तीन हजार २ सय नेपालीको बसोबास छ। २०३४ सालमा नारायणी नदीमा आएको भीषण बाढी र डुबानपछि त्यहाँका २४५ घरधुरी नारायणीवारि त्रिवेणी आसपासका साहुमारा, केउलानी लगायतका ठाउँमा स्थानान्तरण गरिएका थिए।
केही परिवार थातथलो छाड्न राजी भएनन्, सुस्तामै बसे। नारायणी नदीको कटान र डुबानका कारण बस्ती स्थानान्तरण गरिएपछि भारतीयहरूले अतिक्रमण सुरु गरे। सुस्तामा नेपाल र भारतको सीमा स्तम्भ नराखी सानो सडकलाई नै सीमा मानिएको कारण भूमि छुट्टाउने समस्या बल्झिरह्यो।
सन् १८१६ मा सुगौली सन्धि गर्दा नवलपरासीको नारायणी नदी पूर्वको भाग भारतमा र पश्चिमको भाग नेपालमा पर्ने गरी सीमा निर्धारण गरिएको थियो। तर, समय बित्दै जाँदा नारायणी नदीले धार बदलेर पश्चिमतिर सर्यो। नेपालीको जमिन नारायणीपारि रह्यो। त्यही जमिनलाई भारतीयले आफ्नो भनेर अतिक्रमण गर्दै आएको छ।
सन् १९७२ देखि २०१६ को बिचमा धेरै पटक आएको बाढी र कटानका कारण नारायणी नदीले धार परिवर्तन गर्दा नेपाली भूमिमा भारतीय अतिक्रमण बढेको हो। सुगौली सन्धिका समय ४० हजार ९८० हेक्टर जमिन रहेको सुस्तावासी सँग अहिले ७ हजार हेक्टर जमिन मात्र भोग चलनमा छ।
२०६२ सालमा सुस्तावासीमाथि ज्यादती सुरु गरेको भारतीय पक्षले हालसम्म साढे १४ हजार ५०० हेक्टर जमिन अतिक्रमण गरेको स्थानीय मुन्सीकुमार हरिजनको दाबी छ। टुटनवा र नारायणी नदीतर्फको करिब १९ हजार ४८० हेक्टर जमिन विवादित भन्दै भोग चलन गर्न नदिई डेढ दशक भन्दा लामो समयदेखि बाँझो राखिएको छ।