अफ्रिकाको एउटा दुर्गम गाउँमा पछिल्ला केही सातायता हजारौं मानिस सुनको खोजीमा पुगेका छन्।
यो घटना पश्चिमी केन्याको दुर्गम गाउँ चेपोरोरमा भएको हो।
यसको सुरूआत बाख्रा चराउने ३३ वर्षीय मानसे लोमाचारले सुन फेला पारेपछि भएको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले जनाएको छ।
लोमाचारले केही साताअघि करिब तीन ग्राम सुन फेला पारेका थिए, जसलाई उनले करिब २८० डलरमा बेचे।
त्यसपछि अवस्था यस्तो आयो, यहाँका झाडी र चरन क्षेत्रमा अहिले खाडल र माटोको थुप्रो मात्र देखिन्छ।
लोमाचारका अनुसार उनले सुन फेला पार्नु र त्यसबाट प्राप्त रकमको खबर फैलिएपछि ठूलो संख्यामा मानिसहरू चेपोरोर गाउँ पुग्न थालेका हुन्।
स्थानीय अधिकारीहरूका अनुसार एक पटक त भीड निकै बढेर १० हजारसम्म मानिस त्यहाँ पुगेका थिए।
सुनको सानो अंशले पनि यी मानिसहरूमा आफ्नो जीवन बदल्ने आशा जगाइरहेको छ। तीमध्ये धेरैको जीवन खेतीपातीबाट हुने अनिश्चित कमाइमा टिकेको छ।
यी क्षेत्रमा मानिसहरू कहिलेकाहीँ सुनको खोजीमा नदीको बालुवा छान्छन्। तर उनीहरूले खासै केही पाउन सक्दैनन्।
लोमाचारका अनुसार उनले सुन संयोगले भेट्टाएका हुन्। एउटा हराएको बाख्रा खोज्ने क्रममा उनको भेट नदी किनारमा सुन खोजिरहेका केही महिलासँग भयो।
त्यसपछि उनी पनि तिनै महिलासँग मिसिएर सुन खोज्न थाले।

छिमेकी गाउँ नापावोईका किसान तथा गोठाला प्याट्रिक लोकोलिया पनि केही थप पैसा कमाएर आफ्नो परिवारलाई मद्दत गर्ने आशामा सुनको खोजीमा लागेका छन्।
उनले बिबिसीलाई भने, 'मेरा बच्चाहरू स्कुलमा पढ्छन्। उनीहरूको शुल्क बुझाउनु मेरो लागि ठूलो समस्या रहँदै आएको छ।'
उनी चेल्सी फुटबल टिमको पुरानो टि-सर्ट लगाएर सुन खोज्ने ठाउँमा उभिएका छन्।
सुन खोजीमा लागेकाहरू माटोलाई नजिकैको नदीमा लैजान्छन्। त्यहाँ धेरैजसो महिलाहरू धमिलो पानीमा बसेर माटो छान्छन्। उनीहरूलाई त्यसमा सुनको सानो अंश भए पनि फेला पर्ने आशा हुन्छ।
केही अनुभवी मानिसहरू गहिरा खाडलमा पसेर माटो खनिरहेका र ढुंगाहरू फुटाइरहेका देखिन्छन्। उनीहरूको उद्देश्य पनि सुन खोज्नु नै हो।
वेस्ट पोकोट काउन्टीका डेपुटी कमिसनर स्यामुअल कियारीका अनुसार सुनको खोजीमा मानिसहरूको भीड दुई ठूला खोजहरूपछि सुरू भएको हो।
त्यस क्रममा केही युवा र महिलाहरूको छुट्टाछुट्टै समूहले ठूलो परिमाणमा सुन फेला पारेको उनले बताए।
'यहाँ थुप्रै महिला धेरै वर्षदेखि नदी किनारमा सुन खोज्दै आएका छन्,' उनले भने, 'यसबाट उनीहरूले सामान्यतया साताको ८ देखि २३ डलरसम्म कमाउँछन्।'
त्यसैबीच अगस्टको सुरूआतमा ठूलो परिमाणको सुन भेटिएको खबरले धेरै मानिसको ध्यान खिच्यो।
हल्ला फैलिँदै जाँदा सुनको खोज र त्यसको मात्रालाई बढाइँचढाइ प्रस्तुत गरिएको कियारी बताउँछन्।
सुरूआती भीडपछि अहिले सुन खोज्नेहरूको संख्या घटेर करिब २,५०० मा सीमित भएको छ। केही मानिसले खोजी छाडिसकेका छन्।

यस क्षेत्रमा केही सुन भेटिएको कुरामा खासै शंका छैन, तर जमिनमुनि सुनको मात्रा कति छ र यसबाट व्यापारिक रूपमा कति फाइदा हुन सक्छ भन्नेमा अझै प्रश्नहरू कायम छन्।
डेपुटी कमिसनरले भने, 'साना स्तरका सुन व्यापारीहरूले हामीलाई बताए अनुसार दैनिक औसत करिब १०० जना मानिसले सुन भेट्थे भन्ने म पुष्टि गर्न सक्छु।'
यद्यपि, भेटिएको वस्तु वास्तवमा सुन नै थियो कि थिएन भन्ने स्पष्ट छैन।
विभिन्न मानिसले भेटेको सुनको मूल्य केही सय केन्याली शिलिङदेखि करिब ७८,००० शिलिङ (६०० डलर) सम्म रहेको बताइएको छ।
सुनको खोजीमा लागेको भीडका कारण केही मानिसका लागि भने खनेर दुःख नगरीकनै कमाउने अवसर सिर्जना भएको छ।
स्थानीय अधिकारीहरूका अनुसार यस ठाउँको आसपासमा २०० भन्दा बढी पसल र व्यवसाय सुरू भएका छन्। यी पसलले गाउँमा आएका नयाँ मानिसहरूलाई खाना, पानी र अन्य आवश्यक सामानहरू बेचिरहेका छन्।
तर यस क्षेत्रमा आधारभूत सुविधाहरूको कमी पनि प्रस्ट देखिएको छ। यहाँ पिउनका लागि सफा पानी छैन। नुहाउनका लागि पानीको अभाव छ। त्यसमाथि महिलाहरूका लागि अँध्यारो भएपछि समस्या अझ बढ्छन्।
ठूलो संख्यामा मानिसहरू आउन थालेपछि खानेपानी र सरसफाइको समस्या सुरू भएको स्थानीय अधिकारीहरू स्वीकार गर्छन्।
महिला तथा बालबालिकाहरूमाथि हुन सक्ने यौन हिंसालाई लिएर पनि चिन्ता बढेको उनीहरू बताउँछन्।
अर्कातिर, सुनको खोजीमा लागेका मानिसहरूले यो ठाउँमा अझ गहिरो खन्न थालेका छन्।
खनेर निकालिएको माटो र ढुंगाले भरिएका धेरै ट्रक परीक्षणका लागि नजिकैको ओर्टुम सहरमा पठाइसकिएको छ। अधिकारीहरू यसको नतिजाको पर्खाइमा छन्।
त्यतिन्जेलसम्म यहाँ कति सुन छ र यसबाट व्यापारिक रूपमा कति फाइदा हुन सक्छ भन्ने स्पष्ट छैन।