जहाँ सपनाहरू कठोर यथार्थसँग ठोक्किन्छन्, त्यस्तो देशमा अदम्य साहसका कथाहरूले लाखौं मानिसको जीवनमा आशाको किरण जगाउँछन्।
भारतका गणेश बरैयाको जीवनयात्रा त्यस्तै एउटा आशाको प्रतीक हो।
उनको जीवनले प्रमाणित गर्छ — वास्तविक शक्ति शारीरिक बनावटमा होइन, आत्मबलमा हुन्छ।
गुजरातको भावनगर जिल्लास्थित गोर्खी गाउँका २५ वर्षीय गणेश एक साधारण किसान परिवारमा हुर्किएका हुन्।
उनका सात बहिनी र एक भाइ छन्। भारतीय अखबार 'टाइम्स अफ इन्डिया' का अनुसार होचोपनका कारण उनको उचाइ ३ फिट छ भने तौल २० किलो छ। उनको शारीरिक अपांगता ७२ प्रतिशत छ।
यति हुँदाहुँदै गणेश बरैयाले सानैदेखि ठूलो सपना देखे।
कक्षा १२ मा ८७ प्रतिशत अंक ल्याएका उनले सन् २०१८ मा एमबिबिएसको प्रवेश परीक्षा उत्तीर्ण गरे। मेडिकल प्रवेश परीक्षामा उनले २३३ अंक ल्याएका थिए।
तर 'मेडिकल काउन्सिल अफ इन्डिया' ले उनको शारीरिक अवस्थाका कारण बिरामीको उपचारमा बाधा पुग्ने भन्दै भर्ना लिन अस्वीकार गर्यो।
त्यो घटनाले गणेशलाई निराश त बनायो, तर उनले हार मानेनन्।
उनले आफ्नो अधिकारका लागि कानुनी लडाइँ लड्ने निर्णय गरे।
किसान परिवारको आर्थिक अवस्था कमजोर भएकाले मुद्दाको खर्च व्यहोर्न सम्भव थिएन। यस्तो अवस्थामा उनका स्कुलका प्रधानाध्यापक डा. दलपतभाइ कटारिया उनको साथमा उभिए र मुद्दाको सम्पूर्ण खर्च बेहोरिदिए।
गणेशले सुरूमा गुजरात उच्च अदालतमा मुद्दा दायर गरे। तर उच्च अदालतले मेडिकल काउन्सिलकै निर्णय सदर गरिदियो।
हार नमानी उनी आफ्नो अध्ययनलाई निरन्तरता दिन बिएससीमा भर्ना भए र सँगसँगै सर्वोच्च अदालतमा पुनरावेदन पनि गरे।
सन् २०१८ मा सर्वोच्च अदालतले ऐतिहासिक फैसला सुनाउँदै केवल उचाइका आधारमा कसैलाई पनि डाक्टर बन्नबाट वञ्चित गर्न नमिल्ने आदेश गरेको टाइम्स अफ इन्डियाले लेखेको छ।
त्यही फैसलाका आधारमा उनले सन् २०१९ मा भावनगर मेडिकल कलेजमा एमबिबिएस पढ्ने अवसर पाए।
एमबिबिएस अध्ययन क्रममा साथीहरू र प्राध्यापकहरूले उनलाई ठूलो सहयोग गरे। शल्यक्रिया वा पोस्टमर्टमको समयमा अपरेसन टेबलमा देख्न सहज होस् भनेर साथीहरूले उनलाई काँधमा उठाउने गर्थे भने प्राध्यापकहरूले अगाडिको सिट सुनिश्चित गरिदिन्थे।
अध्ययन र इन्टर्नसिप पूरा गरेपछि उनले सरकारी मेडिकल अफिसरका रूपमा आफ्नो सेवा सुरू गरिसकेका छन्।
भारतीय सञ्चार माध्यमहरूका अनुसार, नोभेम्बर २०२५ मा उनी भावनगर जनरल अस्पतालको बालरोग विभागमा नियुक्त भएका छन्।
सुरूमा उनको उचाइ देखेर उपचार गराउन हिचकिचाउने बिरामीहरू अहिले उनको नम्र व्यवहार र सीपबाट प्रभावित भएको 'इन्डियन एक्सप्रेस' ले लेखेको छ।
अहिले गणेशको सबभन्दा ठूलो सपना कच्ची घरमा बसिरहेका आफ्ना आमाबुबा र परिवारका लागि सुविधायुक्त पक्की घर बनाउनु हो।
भविष्यमा उनी बालरोग, छाला रोग वा रेडियोलोजीमा विशेषज्ञता हासिल गरेर ग्रामीण क्षेत्रका गरिब जनताको सेवा गर्न चाहन्छन्।

'कौन बनेगा करोडपति' ले ल्यायो चर्चामा
'विश्वकै सबभन्दा होचा डाक्टर' भनिने गणेश बरैयाको चर्चा अहिले भारतमा फेरि चुलिएको छ।
भारतीय अभिनेता अमिताभ बच्चनले सञ्चालन गर्ने 'कौन बनेगा करोडपति' (केबिसी) मा सहभागी भएपछि उनी चर्चाको केन्द्रमा छन्।
केबिसीको हटसिटमा प्रस्तोता अमिताभ बच्चनसँग कुरा गर्दै डा. बरैयाले आफ्नो बाल्यकालको एउटा मार्मिक घटना सुनाए।
उनी प्राथमिक विद्यालयमा पढ्दा सर्कसका मानिसहरूले घरमै आएर उनलाई आफूसँगै लैजान खोजेका थिए। बाबु विठ्ठलभाइ बरैयासँग ५ लाख भारतीय रूपैयाँको प्रस्ताव पनि गरेका थिए। तर एक सामान्य किसान भए पनि उनका बाबुले उक्त रकम ठाडै अस्वीकार गरे।
गणेशले कार्यक्रममा भने, 'मेरो बुबाले पैसाको सट्टा मेरो पढाइ रोज्नुभयो।'
अमिताभ बच्चनसँग उनको केबिसी अनुभव पनि रोमाञ्चक रह्यो।
'फास्टेस्ट फिंगर फर्स्ट' पार गर्दै अगाडि बढेका गणेश ३ लाख रूपैयाँको प्रश्नमा चुके।
चार स्मारक (लाल किल्ला, ताज महल, चारमिनार र मीनाक्षी मन्दिर) मध्ये कुन–कुन गुजरातभन्दा उत्तरमा पर्छन् भन्ने प्रश्नमा उनले '३' छानेका थिए। तर सही उत्तर '२' (दिल्लीको लाल किल्ला र आग्राको ताज महल) थियो।
सम्पूर्ण लाइफलाइन प्रयोग गरिसकेका उनी २५ हजार रूपैयाँमै सीमित भए।
उनले आफ्नो उद्देश्य करोडपति बन्नेभन्दा ग्रामीण र गरिब नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने रहेको बताएका छन्।
