त्रिवि शिक्षण अस्पतालमा पेटमा रहेको बच्चाको एनिमियाको उपचार गरिएको छ।
६ महिनाको गर्भवतीलाई अल्ट्रासाउन्ड गर्ने क्रममा बच्चालाई रगतको कमि(एनिमिया)भएको पत्ता लागेपछि उपचार गरिएको रेडियोलोजिष्ट डा. प्रदिपराज रेग्मीले बताए।
यस्तो उपचार नेपालमै पहिलो पटक भएको उनको दाबी छ।
'६ महिनाको गर्भवतीको अल्ट्रसाउन्ड गर्दा बच्चाको समस्या पत्ता लागेको हो।त्यसपछि हामीले सालबाट रगत रगत निकालेर परीक्षण गरेका थियौं,' उनले भने, 'रगतको कमी भएको पत्ता लगाएपछि हामीले सालकै माध्यमबाट ओ नेगेटिभ रगत दिएको हो।अहिले पेटको बच्चा ८ महिना पुगेको छ।'
आमाको पटक पटक गर्भ खेर गएको छ भने गर्भको बच्चालाई यस्तो समस्या हुने उनले बताए।
त्यस्तै यो समस्या वंशाणुगत पनि हुन्छ भने आमामा एनिमिया भएमा समेत पेटको बच्चालाई पनि हुन सक्ने डा. रेग्मीको भनाइ छ।
उपचारका लागि डा रेग्मीका साथै रेडियोलोजी एन्ड इन्टरभेन्सन विभागका डा दिनेश चटौत,एनेस्थेसिया, मेडिसिन र प्रसुति विभागका चिकित्सक तथा स्वास्थ्यकर्मी सहभागी थिए।