बारामा हिजो अपराह्नदेखि हराइरहेकी बालिका आज बिहान फेला परेकी छन्।
कलैया उपमहानगरपालिका –१ कटि पर्सा टोलबाट हराएकी बालिकालाई आज बिहान फेला पारिएको हो।
मुकेश कुमार मण्डलकी छोरी बिन्दीकुमारी मण्डल शनिबार अपराह्न करिब ५:३० बजे आफ्नै घर अगाडिबाट हराएकी थिइन्।
बालिकाका हजुरबुवा मदन मण्डलले बेलुकी ८:४५ बजे अस्थायी प्रहरी पोस्ट बसपार्कमा नातिनी हराएकोबारे जानकारी गराएका थिए। त्यसपछि खोजतलास सुरू भएको थियो।
बालिकाको खोजीका लागि प्रहरीले रातभर विभिन्न समूहमा प्रहरी टोली परिचालन गरेको थियो।
आइतबार बिहान करिब ५:४५ बजे कलैया उपमहानगरपालिका –२६ सिस्वास्थित बाटोमा बालिकालाई सकुशल फेला पारिएको प्रहरीले जनाएको छ।
आज बिहान ११ बजे बालिकालाई उनका बुबा मुकेशकुमार मण्डल र हजुरआमा सावित्री मण्डलको जिम्मा लगाइएको प्रहरीको भनाइ छ।