भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङका करिब डेढ दर्जन विद्यालयमा क्षति पुर्याएको छ भने त्यहाँ अध्ययनरत विद्यार्थी ठूलो संख्यामा सम्पर्कविहीन छन्।
बाढी गएको केही दिनमै शिक्षा तथा खेलकुद मन्त्रालयले प्रभावित विद्यालयको प्रारम्भिक विवरण संकलन गरेको थियो। उक्त विवरण अनुसार रसुवा, नुवाकोट र धादिङका गरी १९ वटा विद्यालयमा क्षति पुगेको देखिएको छ।
तर यो प्रारम्भिक विवरण मात्रै हो।
बाढी प्रभावित सबै क्षेत्रसम्म पुगेर विवरण संकलन हुन नसकेकाले क्षतिको वास्तविक संख्या अझै यकिन हुन सकेको छैन।
बाढी आएको एक साता बितिसक्दा पनि कति विद्यार्थी बेपत्ता छन्, कति विद्यार्थीको मृत्यु भयो, कति विद्यालयमा क्षति पुग्यो र कति विद्यार्थीका परिवारका सदस्य बेपत्ता छन् भन्ने यकिन विवरण सार्वजनिक हुन सकेको छैन।
सेतोपाटीले प्रभावित क्षेत्रका पाँचवटा विद्यालयका प्रधानाध्यापकसँग कुराकानी गर्दा उनीहरू आफै पनि विद्यार्थी र शिक्षकहरूको अवस्थाबारे पूर्ण जानकारी नहुँदा अन्योलमा देखिए।
कतिपय विद्यार्थी सम्पर्कमा आएका तर धेरैको अवस्था अझै अज्ञात रहेको उनीहरूले बताए।
बाढीले सञ्चार सम्पर्क र यातायात समेत प्रभावित पारेकाले सबै विद्यार्थीको अवस्थाबारे तत्काल जानकारी लिन कठिन भएको उनीहरूको भनाइ छ।
हामीले कुराकानी गरेकामध्ये विदुर नगरपालिका–१० आँगिटारस्थित उत्तरगया पब्लिक इंग्लिस सेकेन्डरी स्कुल एक हो। भोटेकोशी नदीबाट करिब १०० मिटर माथि रहेको यो विद्यालयमा रसुवा र नुवाकोटका गरी कम्तिमा ३६२ जना विद्यार्थी अध्ययनरत थिए। उनीहरूमध्ये अधिकांशको अवस्था अज्ञात छ।
यही विद्यालयका दुई जना विद्यार्थीको शव यहाँबाट निकै टाढा नवलपरासी पूर्वमा फेला परेका छन्। विद्यार्थीको पहिचान उनीहरूले लगाएको विद्यालयको टाइका कारण सम्भव भएको हो।
यसले बाढीको बहाव कति शक्तिशाली थियो र त्यसले मानिस तथा भग्नावशेषलाई कति टाढासम्म पुर्यायो भन्ने पनि देखाउँछ। केही विद्यार्थीको शव पहिचान हुने आधार भेटिए पनि धेरैको अवस्था अझै अज्ञात छ।
सरकारले अहिले छुट्टाछुट्टै टोली परिचालन गरेर विवरण संकलन सुरू गरे पनि बाढीमा परेका बालबालिकाको वास्तविक संख्या र विद्यालयमा परेको क्षतिको पूर्ण तस्बिर आउन अझै केही समय लाग्ने देखिन्छ।
यकिन विवरण संकलन गर्न शिक्षामन्त्री सस्मित पोखरेलले प्रभावित जिल्लामा छुट्टाछुट्टै टोली परिचालन गरेका छन्। धादिङमा शिक्षा विभागका निमप्रकाश राठौरको संयोजकत्वमा पाँच सदस्यीय टोली खटाइएको छ। टोलीलाई सात दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ।
त्यस्तै, नुवाकोटमा शिक्षा विभागका जीवन भण्डारीको नेतृत्वमा पाँच सदस्यीय टोली र रसुवामा निर्देशक डा. श्यामप्रसाद आचार्यको संयोजकत्वमा पाँच सदस्यीय टोली परिचालन गरिएको छ।
यी टोलीमा युनिसेफ र सेभ द चिल्ड्रेनका प्रतिनिधिसमेत सहभागी छन्।
मन्त्रालयका अनुसार टोलीले प्रभावित क्षेत्रमा पुगेर विद्यालयको भौतिक क्षति, विद्यार्थीको अवस्था तथा शिक्षण सिकाइमा परेको असर लगायतका विषयमा विवरण संकलन गर्नेछ।
नवलपरासीमा भेटिए दुई बालकको शव, घाँटीमा झुन्डिएको टाईले खुल्यो उनीहरू पढ्ने स्कुल
भोटेकोशी-त्रिशूलीमा विनाशकारी बाढी आएकै दिन भदौ १० गते राति पौने ७ बजेतिर नवलपरासी पूर्वको गैंडाकोटमा एक बालकको शव फेला पर्यो।
अन्दाजी १४ वर्षका ती बालक स्कुल युनिफर्ममा थिए।
शव फेला पर्दा उनले लगाएका कपडा केही बाँकी थिएनन्, तर घाँटीमा झुन्ड्याएको टाई जस्ताको तस्तै थियो।
र, त्यो टाईमा 'UPESS' लेखिएको थियो र हिमालको चित्र पनि अंकित थियो।
त्यसैको भोलिपल्ट भदौ ११ गते बिहान ८ बजे नवलपरासी पूर्वकै देवचुली नगरपालिका-८ मा एक अर्को बालकको शव फेला पर्यो।
अन्दाजी ५ देखि ७ वर्षका ती बालक पनि स्कुल युनिफर्ममै थिए। उनको पनि जीउमा कपडा थिएन, तर घाँटीमा झुन्ड्याएको टाई जस्ताको तस्तै थियो। र, त्यो टाईमा पनि 'UPESS' र हिमालको चित्र अंकित थियो।
यी दुवै शव प्रहरीले दर्ता गरेर विवरण र फोटो सार्वजनिक गरेको छ।
अन्दाजी ५/७ वर्ष उमेरका बालकको शव दर्ता नम्बर १२ हो भने अर्को शवको दर्ता नम्बर ५४२ हो।
शव पहिचान गर्न सकिने अवस्थामा नभए पनि उनीहरूले लगाएको स्कुलको टाईले उनीहरू कहाँका हुन् भन्ने खुल्छ।
यी दुवै बालकको टाईमा उल्लिखित 'UPESS' भनेको उत्तरगया पब्लिक इंग्लिस सेकेन्डरी स्कुल हो।
नुवाकोटको विदुर नगरपालिका-१० आंगिटारस्थित यो स्कुल भदौ १० गतेको बाढीले पूर्ण रूपमा बगाएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयबाट सेतोपाटीले प्राप्त गरेको विवरणमा यो स्कुल 'लेदोले पुरेको' भनिएको छ।
हामीले त्यहाँका प्रधानाध्यापक सोमलाल लावतीसँग कुरा गर्दा उनले धेरै विद्यार्थी र तिनका अभिभावक समेत सम्पर्कविहीन रहेको बताएका छन्।
तिनैमध्ये दुई जना विद्यार्थीको शव स्कुलको टाईसहित सयौं किलोमिटर तल नवलपरासी पूर्वमा फेला परेको हो।
-1788169706.jpg)
हामीले गुगल म्यापबाट उत्तरगया पब्लिक इंग्लिस सेकेन्डरी स्कुलको लोकेसनमा गएर त्यसमा रहेका स्कुल र विद्यार्थीको तस्बिर हेर्दा टाई समान छ। टाईमा अंकित स्कुलको नाम र लोगो मात्र होइन, स्कुल स्थापनाको मिति पनि उही छ।
टाईमा विद्यालयको स्थापना २०४७/१९९० मा भएको उल्लेख छ।
प्रधानाध्यापक लावतीले पनि आफूलाई यसबारे जानकारी भइसकेको बताएका छन्।
'यहाँ अहिले फोटो हेर्न सक्ने माध्यम छैन। तर हाम्रो स्कुलको टाई भएको बच्चाको शव भेटियो भनेर मसँग सम्पर्क भइसकेको छ। मैले सम्पर्क गर्ने व्यक्तिलाई फोटो राखिराख्नू भनेको छु,' उनले भने।
उनका अनुसार स्कुलको टाई लगाएका चार जनाको शव फेला परेको सूचना आएको छ।
'सम्भव भएपछि म ती फोटोहरू हेर्नेछु,' उनले सेतोपाटीसँग भने, 'तपाईं पनि त्यो फोटो राखिराख्नू। म आफै हेर्न आउँछु।'
बाढीले रसुवा, नुवाकोट र धादिङ जिल्लामा रहेका कम्तिमा १८ वटा स्कुलमा क्षति पुर्याएको शिक्षा तथा खेलकुद मन्त्रालयको प्रारम्भिक विवरण छ। त्यसैमध्ये सबभन्दा बढी प्रभावितमध्ये उत्तरगया पब्लिक इंग्लिस सेकेन्डरी स्कुल एक हो।
भोटेकोशी नदीबाट करिब १०० मिटर माथि रहेको यो विद्यालयमा रसुवा र नुवाकोटका गरी कम्तिमा ३६२ जना विद्यार्थी अध्ययनरत थिए।
प्रधानाध्यापक लावतीका अनुसार बाढीले विद्यालयका पाँच भवनमध्ये दुई वटा बगरमा परिणत भएका छन् भने बाँकी भवन पूर्ण रूपमा क्षतिग्रस्त छन्। बाढी आउँदा धेरै बालबालिका विद्यालय पुगिसकेको र केही आउने क्रममा रहेको उनले जानकारी दिए।
'त्यसदिन म बाटोमै थिएँ। बच्चाहरू जोगाउन धेरै प्रयास गरेँ, तर सबैलाई बचाउन सकिएन,' लावतीले भावुक हुँदै सेतोपाटीसँग भने, 'विद्यालय पुगिसकेका ८९ जना, बसमा रहेका ३० जना र बाटोमा रोकिएका एक जना गरी १२० जना विद्यार्थी मात्र जोगिन सफल भए।'
बाँकी २४२ जना विद्यार्थी सम्पर्कविहीन रहेको उनले जानकारी दिए।
'बिहान बाढीको सूचना पाएपछि शान्तिबजार भन्ने ठाउँका विद्यार्थीहरूलाई म लिन गइनँ। तिमीहरू उतै बस भनेँ। अर्को मानेगाउँ भन्ने ठाउँबाट गाडी आउँदै थियो। म आफै गएर ठूलो बाढी आयो भन्दै पाखा लगाएँ। एक ठाउँमा पुगेपछि मैले गाडीबाट बालबच्चालाई झिक्दै बाहिर फाल्दै गरेँ,' उनले भने, 'त्यसरी गाडीबाट निकालिएका बच्चाहरू जोगिए। अहिले त्यो गाडी बेपत्ता छ। कहाँ लग्यो थाहा छैन। मलाई पनि भगवानले जोगायो।'
उनका अनुसार यो विद्यालयमा विशेषगरी तामाङ समुदायको बाहुल्य रहेको खाल्टे र बेत्रावती बस्तीका बालबालिका पढ्न आउँथे। बाढीले ती दुवै बस्ती बगाएकाले कति विद्यार्थी सुरक्षित छन् र कति बेपत्ता भए भन्ने यकिन तथ्यांक संकलन गर्न सकिएको छैन।
'धेरै विद्यार्थीका परिवार नै सम्पर्कविहीन छन्। वास्तविक विवरण निकाल्न अझै एक-डेढ हप्ता लाग्न सक्छ,' लावतीले भने, 'म अहिले प्रभावित क्षेत्रमै छु, तर यहाँ सरकारको उपस्थिति शून्य जस्तै छ। सिडिओ र पालिका अध्यक्षहरू कतै देखिँदैनन्, एक्लो वडाध्यक्षले मात्र कति काम गरून्?'
उनले आफ्नो परिवारका पाँच जना आफन्त बाढीले लगेको र घाइते अवस्थामै रहेकाहरूको समेत उपचार नपाएर ज्यान गएको पनि बताए।
आफ्नो स्कुलका दुई जना विद्यार्थीको खुट्टा भाँचिएको जानकारी पनि उनले दिए।
'खुट्टा भाँचिएका विद्यार्थीलाई अस्पताल लैजान कयौं पटक आगो बालेर, रातो झन्डा फहराएर हेलिकप्टर बोलाउने प्रयास गरेँ, तर आएन,' उनले भने।
ती दुई जनालाई रातभरि आफैले बोकेर भोलिपल्ट दिउँसो १२ बजे अस्पताल पुर्याएको उनले जानकारी दिए।
'पानी परेको थियो, बल्लबल्ल अस्पताल पुर्याएको थिएँ,' उनले भने।

मालिकादेवीका विद्यार्थी कति बाँचे, कति बेपत्ता– केही भन्न सक्दैनन् प्रधानाध्यापक
'हामीसँग अब केही बाँकी रहेन, सबै बाढीले बगायो,' पूर्णबहादुर घलेले अस्पतालको बेडबाट मलीन स्वरमा भने।
उनी रसुवाको उत्तरगया गाउँपालिका–४ स्थित मालिकादेवी आधारभूत विद्यालयका प्रधानाध्यापक हुन्।
भदौ १० गतेको बाढीपछि उनलाई उद्धार गरेर काठमाडौं महाराजगन्जको मनमोहन अस्पताल भर्ना गरिएको छ। सुरूमा इमर्जेन्सी कक्षमा उपचार गराएपछि सोमबार सामान्य वार्डमा सारिएको छ।
'एक्कासि आएको बाढीको तीव्र भेलमा परेँ। ठूलो लेदोबाट भाग्यवश बाँच्न त सफल भएँ, तर धेरै माटो र लेदो निलिएकाले फोक्सोमा पुगेको छ,' उनले भने, 'आफू नै अस्पतालमा भएकाले विद्यालयको अवस्थाबारे तत्काल केही भन्न सक्दिनँ।'
उनको फोक्सोमा माटो छिरेकाले श्वासप्रश्वासमा समस्या हुनुका साथै रक्तचाप उच्च रहेकाले डाक्टरहरूले धेरै बोल्न दिएका छैनन्।
पूर्णबहादुर मानसिक रूपमा पनि आहत छन्।
किनभने, उनकी श्रीमती, आमा मात्र नभई आफन्तहरूसहित चिनजानका २९ जना बेपत्ता भएका छन्।
स्कुलका विद्यार्थीसहित अभिभावकहरू पनि बेपत्ता भएको सुनेर उनी आफूलाई सम्हाल्न सकिरहेका छैनन्।
'त्यो दिन स्थानीय हेडसरहरूको मिटिङ भएकाले विद्यालय गएको थिइनँ। छलफलमा जान तयार हुँदै थिएँ,' पूर्णबहादुरले भने, 'विद्यालयमा को को आइपुगेका थिए, को को बेपत्ता भए थाहै छैन।'
उनले थपे, 'विद्यालयको बारेमा अहिले म थप केही बोल्न सक्दिनँ।'
कक्षा ५ सम्मको उक्त स्कुलमा २० देखि २५ जना विद्यार्थी पढ्थे। बुधबार आएको बाढीले स्कुलमा पूर्ण क्षति पुर्याएको छ।
विद्यार्थीहरू कति हराए, कति सकुशल छन् यकिन विवरण छैन।
पूर्णबहादुरले अभिभावक, विद्यार्थी र गाउँले गरी ५३ जना हराएकोसम्म जानकारी पाएका छन्।
'म आफै घाइते छु, धेरै बोल्न पनि सक्दिनँ। गाउँको यो अवस्था सम्झिँदा छाती फुटेर आउँछ,' उनले भने।
विद्यालयमा २–३ वर्षका बालबालिकासमेत धेरै बेपत्ता भएको उनले सुनेका छन्।
पूर्णबहादुरको घर, लत्ताकपडा सबै बाढीले बगाइदिएको छ। लगाएको एक सरो लुगा पनि धुजा–धुजा भएको थियो।
सोमबार मात्र कसको मद्दतमा नेपाल टेलिकमबाट उनले आफूले चलाएको पुरानो सिम निकालेका हुन्।
उत्तरगया गाउँपालिकाकी उपाध्यक्ष चमेली गुरूङका अनुसार विद्यालय परिसरबाट हराएका अभिभावक अहिलेसम्म कोही फेला परेका छैनन्। खोजी कार्य भइरहेको छ।
विद्यालय परिसरबाटै बेपत्ता भएका भनिएका १५–२० जना अभिभावक पनि अहिलेसम्म फेला परेका छैनन्। स्थानीय सरकारले केन्द्रसँगको समन्वयमा खोजी कार्य गरिरहेको उनी बताउँछिन्।
नीलकण्ठ स्कुलका झन्डै २०० विद्यार्थी बेपत्ता भएको अनुमान
रसुवाको उत्तरगया–५, बोगटीटारमा रहेको नीलकण्ठ सेकेन्डरी स्कुलका झन्डै २ सय बालबालिका बेपत्ता भएको अनुमान गरिएको छ।
स्कुलका प्रिन्सिपल माधव लामिछानेले सेतोपाटीसँग कुराकानी गर्दै विद्यार्थी लिन गएको बस नै बाढीमा परेको बताए।
‘विद्यालय बसले एक चरण विद्यार्थी छोडेर अर्को चरणका विद्यार्थी लिन गएको थियो। पछि लिन गएका विद्यार्थीहरू कक्षा ५ र त्यसभन्दा तलका हुन्,’ उनले भने, ‘कति बालबालिका बस कुरेर बसेका थिए। अनि कति बाटोमा आउँदै थिए होलान्। ती सबै विद्यार्थी हामीले गुमायौँ भन्ने लागेको छ।’
उनका अनुसार कोही बालबालिका विद्यालय नआई घरमै बसेका भए पनि बाँच्न सम्भव छैन। किनकि बाढीले ३ सयभन्दा धेरै घर भएको खाल्टे बस्ती नै बगाएको छ। कोही बालबालिका आफन्तकोमा गएको भए मात्र सम्पर्कमा आउने सम्भावना छ।
यो बस्ती भूकम्प प्रभावितहरूलाई ल्याएर बनाइएको हो। ती घरमा कति मानिस थिए र कति हराइरहेका छन् भन्ने समेत थाहा पाउन सकिएको छैन। होल्डिङ सेन्टरमा समेत त्यो बस्तीका मानिस नगण्यजस्तै रहेको प्रिन्सिपल लामिछानेले बताए।
विद्यालय भने बाढीबाट जोगिएको छ। पहिलो चरणमा आएका विद्यार्थीहरू भने बाँच्न सफल भएका छन्। यो विद्यालयमा ५ सय जना विद्यार्थी रहेको भन्दै प्रिन्सिपल लामिछानेले झन्डै २ सय विद्यार्थी अब फर्किने सम्भावना आफूले नदेखेको बताए। उत्तरगया गाउँपालिकाले ५ क्लस्टर बनाएर डाटा सङ्कलन गरिरहेको छ। त्यहाँ पनि हराएकाहरूको डाटा आउन धेरै गाह्रो रहेको उनले बताए।
‘हाम्रा वरिपरि पनि अरू स्कुलहरू छन्। ती स्कुलहरूबाट पनि करिब १ सय ५० विद्यार्थी हराइरहेको सूचना पाएको छु,’ उनले भने, ‘हराएकाहरू पाउन त कति सम्भव होला। अब तथ्याङ्क लिन पनि गाह्रो छ। किनकि टोल नै बगाएपछि कसरी थाहा हुन्छ होला।’
सो विद्यालयका ४ जना शिक्षक तथा कर्मचारी समेत हराइरहेका छन्। हराउनेहरूमा अंग्रेजी शिक्षक नारायणबहादुर थापा, कम्प्युटर शिक्षक अजयकुमार यादव, स्कुल नर्स ममता श्रेष्ठ र पूर्वप्राथमिक शिक्षिका मनमाया तामाङ रहेको प्रिन्सिपल लामिछानेले बताए।
चिप्लेटी स्कुल पूरै क्षतिग्रस्त, विद्यार्थीको अवस्था के छ?
भोटेकोशी–त्रिशूलीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङका स्कुलहरू ठूलो संख्यामा प्रभावित भएका छन्।
कम्तिमा १८ वटा विद्यालयमा क्षति पुगेको शिक्षा तथा खेलकुद मन्त्रालयको प्रारम्भिक विवरणमा उल्लेख छ।
त्यसैमध्ये रसुवाको उत्तरगया गाउँपालिका–१ स्थित चिप्लेटी आधारभूत विद्यालय पनि एक हो।
हामीले त्यहाँका शिक्षक सबिता तामाङसँग कुरा गरेका छौं।
उनले बाढीका कारण उत्तरगयाको शान्तिबजारमा रहेको यो विद्यालयमा पूर्ण रूपले क्षति पुगेको जानकारी दिइन्।
उनका अनुसार यहाँ अध्ययनरत एक जना विद्यार्थीको मृत्यु भएको छ भने तीन जना विद्यार्थी बेपत्ता छन्।
'हराइरहेका तीन जना विद्यार्थी स्कुल आउँदै गर्दा बाटोमा हराए कि के भयो थाहा छैन। तर उनीहरू सम्पर्कमा छैनन्,' उनले भनिन्।
यो आधारभूत स्कुलमा ९ जना विद्यार्थी पढिरहेका थिए। तीमध्ये ३ जना भदौ १० गते स्कुल नआएकाले सुरक्षित रहेको उनले बताइन्।
तामाङ आफै पनि बाढी आउँदा स्कुल जाँदै थिइन्।
स्कुल नपुग्दै बाढीको खबर थाहा पाएकीले आफ्नो ज्यान जोगिएको उनी बताउँछिन्।
'दुई जना सहयोगी भाग्न सफल भएछन्, तर बच्चाहरूलाई बचाउन सम्भव भएनछ,' उनले भनिन्।
४० जना पढ्ने टिमुरेको स्कुल, प्रधानाध्यापक भन्छन्– बाढीपछि मैले २ जना मात्र देखेको छु
भोटेकोशी-त्रिशूलीको विनाशकारी बाढीले गाउँ नै सखाप पारेको रसुवाको टिमुरेमा एउटा सानो आधारभूत विद्यालय थियो, जहाँ वरिपरिका साना केटाकेटी पढ्न आउँथे।
गोसाइँकुण्ड गाउँपालिका-२ मा रहेको 'नेपाल राष्ट्रिय बेसिक स्कुल' नामको त्यो विद्यालयको कुनै पनि संरचना अहिले बाँकी छैन।
प्रधानाध्यापक फुर्पु दोर्जे घलेका अनुसार बाढीका कारण विद्यालय क्षेत्र मरूभूमि जस्तै बनेको छ।
'हाम्रो विद्यालय त अहिले मरूभूमिजस्तै देखिने गरी तहसनहस भएको छ,' उनले भने, 'बाढीले सबथोक यस्तरी बगाएर लगेको छ, स्कुल भवनको एउटा डन्डी पनि फेला पर्दैन।'
उनका अनुसार स्कुल भवन चारतले थियो, जसको कुनै पनि भाग बाँकी छैन।
कक्षा १ देखि ८ सम्म पढाइ हुने नेपाल राष्ट्रिय बेसिक स्कुलमा विद्यार्थी संख्या थोरै थियो। करिब ४० जना विद्यार्थी नियमितजसो आउँथे। भूगोलको हिसाबले गोसाइँकुण्ड गाउँपालिकाभित्र क्षति पुगेको यही एउटा विद्यालय हो। शिक्षा तथा खेलकुद मन्त्रालयको प्रारम्भिक विवरण अनुसार गोसाइँकुण्ड पालिका अन्तर्गतका अन्य विद्यालयमा ठूलो क्षति पुगेको छैन।
प्रधानाध्यापक घलेको घर विद्यालयभन्दा करिब सय मिटर पर थियो। बाढी आउँदा उनी घरमै थिए।
'त्यस दिन एक्कासि ठूलो आवाज आयो। मैले झ्याल खोलेर हेर्दा बाढीको छाल उफ्रेर आइरहेको देखेँ। चप्पल पनि नलगाई हतार-हतार भाग्दा म र म्याडम जोगियौं,' उनले भने, 'आफन्त र चिनजानका मात्रै १५० जनाभन्दा बढी बेपत्ता हुनुहुन्छ।'
भदौ १० गते आएको बाढीका कारण कति विद्यार्थी बेपत्ता भए भन्ने यकिन विवरण आफूसँग नभएको उनी बताउँछन्।
थोरै संख्यामा विद्यार्थी रहेको यस विद्यालयका ७ जना अहिलेसम्म सम्पर्कमा आएको थाहा पाए पनि तीमध्ये धेरैलाई प्रत्यक्ष नदेखेको उनले बताए।
'मैले प्रत्यक्ष देखेको दुई जना मात्रै हो,' उनले भने।
उनका अनुसार यो विद्यालय बिहान पौने ८ बजे नै खुल्थ्यो। साढे ९ बजेसम्ममा विद्यार्थी तथा शिक्षकहरू पुगिसक्थे।
'हामी १० जना स्टाफ थियौं, ६ जना शिक्षक बेपत्ता हुनुहुन्छ। सधैंजसो साढे ९ बजेभित्र हामी विद्यालय पुग्थ्यौं। ६ जना शिक्षकहरू भने त्यहीँ बस्नुहुन्थ्यो, उहाँहरू त्यहीँबाट बेपत्ता हुनुभयो,' उनले भने, 'उहाँहरू फेला परेको कुनै खबर पाएका छैनौं।'
त्यस दिन आएको बाढीले ती ६ जना शिक्षकलाई नै बगाएर बेपत्ता बनाएको उनी बताउँछन्। उनीहरू रामचन्द्र विक, सन्तोष श्रेष्ठ, हिमानसिंह तामाङ, कविता न्यौपाने, सोनाम बुथितामाङ र कान्छी तामाङ हुन्।
बाढी आएको चार दिनपछि प्रधानाध्यापक घले आफै पनि उद्धार भएका व्यक्ति हुन्। उनी रसुवाको धुन्चे हुँदै बट्टार र त्यहाँबाट दुई दिनअघि काठमाडौं आइपुगेका छन्।
काठमाडौंको स्वयम्भूस्थित यल्लो गुम्बामा आफू लगायत थुप्रै बाढी प्रभावित व्यक्तिहरू बस्दै आएको उनले बताए।
'अहिले हामी यल्लो गुम्बामा बस्दै आएका छौं, यहाँ मात्रै ५०० भन्दा बढी हुनुहुन्छ होला,' उनले भने।
त्यही गुम्बामा आफ्नै विद्यालयमा पढ्ने दुई जना विद्यार्थी उद्धार भएर आइपुगेको उनी बताउँछन्। उनले प्रत्यक्ष देखेका विद्यार्थी तिनै दुई जना हुन्।
अन्य विद्यार्थीहरू कहाँ छन् भन्ने यकिन नभएको उनले बताए। यसरी जीवित रहेका कतिपय विद्यार्थीले पनि आफ्नो परिवार गुमाएको उनले जानकारी दिए।
***