पोखरामा क्रियाशील महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले तीजको दर खान सदस्यहरूबाट उठाएको रकम प्रधानमन्त्री विपद् राहत कोषमा जम्मा गरेको छ।
भोटेकोशी बाढीबाट प्रभावितलाई राहत, उद्धार र पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले दर खान उठाइएको १ लाख २१ हजार १०१ रुपैयाँ कोषमा जम्मा गरिएको ओटेफकी अध्यक्ष ममता न्यौपानेले बताइन्।
बाढीबाट हजारौं नागरिक प्रभावित भएकाले यस वर्ष तीज नमनाउने निर्णय गर्दै दरका लागि उठाइएको रकम विपद् प्रभावितको सहयोगमा प्रयोग गरिएको उनले बताइन्।
‘हामीले तीजमा दर खाने भनेर सदस्यहरूबाट १ लाख २१ हजार १०१ रुपैयाँ उठाएका थियौं,’ न्यौपानेले भनिन्, ‘भोटेकोशी बाढीले हजारौं नागरिक पीडित भएकाले उनीहरूलाई सहयोग गर्न प्रधानमन्त्री विपद् राहत कोषमा जम्मा गरिदियौं।’
ओटेफले यस वर्ष तीज कार्यक्रम नगर्ने निर्णय गरेको पनि उनले बताइन्।
‘यसपालि तीज नमनाउने निर्णय गरेका छौं,’ उनले भनिन्।
पोखरामा रहेर पर्यटन प्रवर्द्धनमा सक्रिय ओटेफ महिला पर्यटन व्यवसायीहरूले स्थापना गरेको संस्था हो। संस्थाले नयाँ पदमार्गको खोजी तथा प्रवर्द्धन गर्नुका साथै पर्यटन क्षेत्रमा सक्रिय महिलाको क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्दै आएको छ।
ओटेफमा आबद्ध व्यवसायीहरूले व्यक्तिगत रूपमा पनि विपद् राहत कोषमा सहयोग गरिरहेको न्यौपानेले बताइन्। संस्थागत रूपमा भने तीजको दर खान उठाइएको रकम सहयोग गरिएको उनले जानकारी दिइन्।
‘हामीले आ–आफ्नो व्यवसायबाट पनि प्रधानमन्त्री विपद् राहत कोषमा सक्दो रकम जम्मा गरेका छौं,’ उनले भनिन्, ‘संस्थागत रूपमा तीजको दर खान उठाएको रकम सहयोग गरेका हौं।’