भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको राहत तथा पुनर्स्थापनाका लागि रूपन्देहीबाट पनि आर्थिक सहयोग जुट्ने क्रम जारी छ।
यसैक्रममा भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसिएमएस), ले बाढीबाट प्रभावितका लागि २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
मेडिकल कलेजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जमा हुने गरी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो। बाढी प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि उक्त सहयोग गरिएको अस्पतालले जनाएको छ।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायत जिल्लाका तटीय क्षेत्रमा ठुलो जनधनको क्षति भएको छ। प्रभावित सर्वसाधारणको तत्काल उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको शिक्षण अस्पतालका कम्पनी सचिव राजु बस्नेत क्षेत्रीले बताए।
यस्तै बुटवलस्थित न्यु होराइजन इङ्गलिश बोर्डिङ सेकेण्डरी स्कुल परिवारले ९ लाख १८ हजार ६६० रुपैयाँ आर्थिक सहयोग गरेको छ।
कुल सहयोग रकममध्ये विद्यालयको तर्फबाट ५ लाख ५५ हजार ५सय ५५ रुपैयाँ, विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूबाट २ लाख ५२ हजार रुपैयाँ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र प्रसाद कसजूबाट एक लाख ११ हजार एक सय ५ रुपैयाँ गरी कुल ९ लाख १८ हजार ६ सय ६० रुपैयाँ प्रधानमन्त्री राहत तथा उद्धार कोषमा जम्मा गरिएको हो।
विद्यालयका प्राचार्य वासुदेव अर्यालले विपद्को समयमा पीडितको दुःखमा साथ दिनु सबैको सामाजिक दायित्व भएको बताउँदै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत न्यु होराइजन परिवारले राहत रकम सहयोग गरेको बताए।