युरोकप फुटबल २०२० को छनौटमा जर्मनीले नेदरल्याण्डविरूद्ध अन्तिम समयमा सनसनीपुर्ण जित निकालेको छ।
२-२ को बराबरीमा रहेको अवस्थामा खेलमा ९० औं मिनेटमा जर्मनीका निको स्कुल्जले गोलले गरेपछि जर्मनीले नेदरल्याण्डलाई सनसनीपूर्ण हार चखाएको हो।
आइतबार राति अवे मैदानमा भएको खेलमा पहिलो हाफमा जर्मनीले २-० को अग्रता लिएको थियो। उसका लागि पहिलो गोल लिरोय सानेले १५ औं मिनेटमा गरेका थिए।
जर्मनीले हाफटाइम अघि २-० को अग्रता दिलाउने क्रममा दोश्रो गोल सेग्री ग्राब्रीले खेलको ३४ औं मिनेटमा गरे।
पहिलो हाफमा २-० ले पछि परेको डच टोलीले दोश्रो हाफ सुरू भएको तेश्रो मिनेटमा पहिलो गोल फर्कायो। सो गोल म्याथिज्सले गरेका थिए। यसैगरी उसका लागि मेम्फिस डिपेयी खेलको ६३ औं मिनेटमा गरे र डच टोलीलाई २-२ को बराबरीमा पुर्याए।
यसरी बराबरीबाट राहत महशुस गरेको डच टोलीलाई ९० औं मिनेटमा जर्मनीले तेश्रो गोल गर्दै स्तब्ध पारिदियो।
यो जितलाई जर्मनीको बदलाका रुपमा हेरिएको छ । गत नोभेम्बरमा नेदरल्याण्डले जर्मनीलाई अन्तिमको पाँच मिनेटमा दुई गोल गर्दै पराजित गर्दै नेशन्श लिगको फाइनलमा पुगेको थियो । सो हारले जर्मनी लिग बी मा घटुवा हुनपुगेको थियो ।
त्यस्तै आइतबार राति नै भएको अर्को खेलमा बेलारुस नर्दन आयरल्याण्डसँग २–१ ले पराजित भएको छ। छनौटमा नर्दन आयरल्याण्डको यो लगातार दोस्रो जित हो ।
प्रकाशित मिति: आइतबार, चैत १०, २०७५, २३:१६:००