नेपालका १४ वटै ‘ए’ डिभिजन क्लबले एएफसी क्लब लाइसेन्सका लागि दिएको निवेदन अस्वीकृत भएको छ। अखिल नेपाल फुटबल फुटबल संघ (एन्फा) का अनुसार क्लबहरुले एएफसी क्लब लाइसेन्सका निवेदन दिए पनि उनीहरुले मापदण्ड पूरा गरेका छैनन्।
अघिल्लो वर्ष एन्फाले मापदण्ड पूरा नगरे पनि मनाङ मर्स्याङ्दी क्लबलाई एएफसी कपमा सहभागिता गराएको थियो। तर एसियाली फुटबल महासंघले एन्फालाई निलम्बन गर्ने चेतावतीसहित १० हजार डलर जरिवाना गरेको थियो।
महासंघको चेतावनीपछि एन्फाले यसपटक क्लबहरु दिएको लाइसेन्सको निवेदन अस्वीकृत गरेको हो।
लाइसेन्सका लागि मनाङ मर्स्याङ्दी क्लब, थ्रीस्टार क्लब, नेपाल पुलिस क्लब, जावलालेख युथ क्लब, संकटा क्लब, फ्रेण्ड्स क्लब, हिमालयन शेर्पा, सरस्वती क्लब, ब्रिगेड ब्वाइज क्लब, शसस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, मच्छिन्द्र क्लब, न्युरोड टिम र च्यासल युथ क्लबले निवेदन दिएका थिए।
क्लब लाइसेनिङमा नेपाली क्लब अयोग्य भएसँगै अब एएफसीका प्रतियोगितामा भाग लिने बाटो समेत बन्द भएको छ। क्लब लाइसेनिङ नभएसम्म नेपालको एएफसी कपमा प्रतिनिधित्न नहुने देखिएको छ।
निवेदन अस्वीकृत भएपछि कुनै पनि क्लबले अपिल नगरेको एन्फाले जनाएको छ।
एन्फाले आगामी वर्षको राष्ट्रिय लिगदेखि क्लब लाइसेनिङ एडमिनिस्ट्रेसन राख्ने जनाएको छ।
लाइसेन्सका लागि चाहिने मापदण्ड
-'ए' कोचिङ प्रमाणपत्र भएको प्रमुख प्रशिक्षक
-युवा टिम र युवा टिमको प्रतियोगितामा सहभागिता, युवा टिमको प्रशिक्षक कम्तिमा 'सी' लाइसेन्स भएको
-टिम डाक्टर वा फिजियो
-खेलाडीसँग लिखित सम्झौता
-दर्ता सबै खेलाडीलाई मेडिकल जाँच र उपचारको व्यवस्था
-युवा विकास कार्यक्रम
-होम म्याचका लागि आफ्नै मैदान
-अभ्यास मैदान
-क्लबको सिइओ
-फाइनान्स अफिसर
-सेक्युरिटी अफिसर
-मिडिया अफिसर
-कानुनी रुपमा दर्ता
-वार्षिक बजेट
-वार्षिक लेखा परीक्षण