सरकारले थ्री नेसन्स कपको विजेता नेपाली खेलाडीलाई जनही चार लाख रुपैयाँ दिने भएको छ।
शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही चार-चार लाख दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै कप फुटबलको उपाधि जितेको थियो।
नेपालका लागि सन्जोक राई र विशाल राईले गोल गरेका थिए। नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो। उपाधिसँगै नेपालले पाँच हजार डलर पुरस्कार प्राप्त गरेको छ ।
नेपाली खेलाडीको हौसला बढाउन प्रधानमन्त्री केपी ओली दशरथ रंगशाला पुगेका थिए।
यसअघि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले पनि विजेता खेलाडीलाई जनही एक लाख पुरस्कार दिने घोषणा गरिसकेको छ।