चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित घडियाल प्रजनन केन्द्रभित्र गोहीको बच्चाको मुख च्यातेर दाँतमा ब्रस घोटिरहेका थिए प्रेम शर्मा।
मान्छेको दाँत सफा गर्न प्रयोग गरिने ब्रस गोहीका दाँतमा किन दलिरहेका होलान् उनी?
नदीमा जन्मिएका बच्चाको दाँत त कसैले माझेको छैन। पालिएका गोहीको दाँत चाहिँ किन माझ्नुपरेको होला?
यी प्रश्न मेरो दिमागमा खेलिरहेका थिए।
पुरानो खैरो टिसर्ट, हरियो पाइन्ट लगाएर टुक्रुक्क बसेका ६० वर्षीय प्रेमले मैले सोध्न नपाउँदै जबाफ दिइहाले, 'यसको दाँतमा ढुसी देखियो। त्यही फाल्दैछु।'
उनी यतिमा रोकिएनन्। थप व्याख्या गर्न थाले।
'तपाईंलाई पक्कै यो मान्छेले गोहीको बच्चाको दाँत किन माझिरहेको छ भन्ने लाग्यो जस्तो लागेर मैले फ्याट्ट त्यति कुरा भनिहालेँ। विशेषगरी वर्षातको धमिलो पानी, माछाको कसरमसरले गोहीका बच्चाको दाँतमा ढुसी आउँछ। त्यसलाई सफा नगरे दुब्लाउने, मर्ने समस्या हुन्छ।'
यहाँका कर्मचारीले केही दिन बिराएर गोहीका बच्चाको दाँत सफा गर्छन्। यस्तो काम प्रायः आफूले गर्ने प्रेमले बताए।

घडियाल प्रजनन केन्द्रमा साना माछा समाउने दुई जना कर्मचारी छन्। बोटे समुदायका उनीहरू हरेक दिन बिहान र साँझ राप्ती नदी पुगेर भुरा माछा संकलन गर्छन्। ती भुरा माछा केन्द्रमा हुर्किँदै गरेका गोहीका बच्चालाई खुवाइन्छ।
'प्रत्येकको मुख च्यात्दै साना माछा खुवाउँछौं। त्यो क्रममा उसको दाँतको अवस्था देखिन्छ। ढुसी लागेको रहेछ भने पोटास पानीले ब्रस गरिदिन्छौं,' प्रेमले भने, 'करिब एक वर्षको हुँदासम्म यसरी नै खुवाउने, स्याहार गर्ने हो।'
प्राकृतिक रूपमै जन्मिएका बच्चाको दाँत त कसैले माझ्दैन नि?

मेरो जिज्ञासा सकिन नपाउँदै उनले जबाफ दिइहाले, 'प्रकृतिमा जन्मिएका बच्चा एक–दुई प्रतिशत त बाँचेका हुन्छन्। हामी प्रजनन केन्द्रमा ६०–७० प्रतिशतसम्म बचाउँछौं नि त!'
उनले अगाडि भने, 'अनि अर्को कुरा पनि भनिहालौं। खोलातिर गर्मीमा मुख खोलेर घाम तापिरहेका गोही देख्नुभएको छ होला। गोहीलाई त्यो प्रकृतिले सिकाएको हो। घामले ढुसीको कीटाणु मार्ने रहेछ। एक वर्षभन्दा ठूलो भएपछि त यहाँका गोहीको पनि दाँत माझ्न कहाँ सकिन्छ र! ठूलो भएपछि प्राकृतिक उपायबाटै जोगाउँछन् आफ्ना दाँत।'
अति संकटापन्न अवस्थामा रहेको घडियाल गोही जोगाइराख्ने उद्देश्यले २०३५ सालमा चितवन राष्ट्रिय निकुञ्जको कसरामा घडियाल संरक्षण प्रजनन केन्द्र स्थापना गरिएको थियो।
गोहीहरू जनवरी, फेब्रुअरीमा प्रजनन गर्छन्। मार्च, अप्रिलमा अण्डा पार्छन्।
नदी किनारको बालुवा खोस्रिएर गोहीले गुँड बनाउँछ। त्यहाँ अण्डा पार्छ। अनि बालुवाले पुरेर छोड्छ। एउटै गोहीले दर्जनौं अण्डा पार्छ। केही अण्डा पार्दैमा फुट्छन्। कतै ठूला वन्यजन्तु आवातजावत गर्नेक्रममा कुल्चिएर फुट्छन्। वन्यजन्तु वा मान्छेले समेत चोरेर खाइदिन्छन् पनि। नदीजन्य पदार्थ उत्खननदेखि विकास निर्माणका गतिविधिले पनि अण्डा नाश हुन्छन्।
यी सबै बाधा, व्यवधान पार गरेर ६५ देखि ९० दिनमा बालुवाभित्रका अण्डा आफै फुट्न थाल्छन्। बालुवाभित्रको गुँडमा बच्चा कराएको सानो आवाज माउ गोहीले थाहा पाउँछ। अनि खोस्रिएर बच्चा निकाल्छ। आफूसँगै पानीमा लैजान्छ।
'गोहीका बच्चालाई जन्मिएको करिब तीन सातासम्म खानेकुरा आवश्यक नपर्ने रहेछ। अण्डामा हुने तत्वले नै उनीहरूलाई खानाको काम गर्छ रे,' प्रेमले काम गर्दागर्दै सिकेका कुरा सुनाउँदै भने, 'त्यसपछि त साना माछा खोजेर खानुपर्यो।'
गोहीका अण्डाबाट बच्चा निस्किने जेठ, असारताका खोलामा बाढी आउन थाल्छ। बाढीले पनि बच्चाहरू बगाउँछ। बाँकी रहेका कतिपय बच्चा माछा समाएर खान नसकेर मर्छन्। तिनीहरूलाई मगर गोही, चराहरूले समेत खाइदिन्छन्।
'अनि त बाँच्ने भनेको मुस्किलले १–२ प्रतिशत हो,' प्रेमले भने।
घडियाल गोही सङ्लो पानीमा मात्रै बस्छन्। उनीहरूको आहारा माछा हो।
प्रजनन केन्द्रले गोहीले अण्डा पारेर पुरेको पत्ता लागेको ठाउँबाट अण्डा संकलन गर्छ। यहाँ लामो समयदेखि काम गर्दै आएका अनुभवी कर्मचारीलाई गोहीले कुन ठाउँमा अण्डा पार्छ भन्ने थाहा छ। उनीहरू ती अण्डा निकाल्छन् र केन्द्रभित्र ल्याएर बाहिर जस्तै गरेर बालुवामा पुर्छन्।
बाहिरबाट उठाएर ल्याएका राम्रा अण्डा भए शतप्रतिशत बच्चा जन्मिन्छन्। सामान्यतया केही अण्डा बेला नहुँदै फुटेर बिग्रिन्छन्।
'अण्डा पुरेपछि हामी नियमित रूपमा बच्चाको आवाज आएको छ कि छैन भनेर सुन्छौं,' प्रेमले भने, 'समय पुगेपछि बालुवाबाट खोस्रिएर अण्डा फुटी जन्मिएका बच्चा निकालिन्छ। तिनलाई नर्सरीमा लगेर राखिन्छ।'
नर्सरीमा राखेको करिब तीन सातापछि बच्चालाई नियमित रूपमा माछाका भुरा संकलन गरेर खुवाइन्छ। यसरी जन्मिएका बच्चा हुर्काएर एक वर्षको बनाउन निकै मेहनत गर्नुपर्छ। बडो मुस्किलले ६०–७० प्रतिशत बच्चा हुर्काउन सकिन्छ।
'एक वर्षको भएपछि मर्ने सम्भावना ९९ प्रतिशतले कम हुन्छ। ठूला गोहीलाई ठूला माछा किनेर खुवाइन्छ,' प्रेमले भने।
यहाँ हुर्किएका गोही १५० सेन्टिमिटरका भएपछि प्राकृतिक बासस्थानमै लगेर छाडिन्छ। निकुञ्जले केन्द्रमा हुर्किएका गोही राप्ती, नारायणी, बबई, सप्तकोशी, कर्णाली, कालीगण्डकी, पश्चिम राप्ती, चौधर खोला तथा नदीहरूमा छाड्दै आएको छ।

यसपालि राप्ती नदीका विभिन्न स्थानबाट २३२ वटा अण्डा संकलन गरेर प्रजनन केन्द्रमा ल्याइएको थियो। तीबाट २०२ वटा बच्चा जन्मिएको निकुञ्ज संरक्षण अधिकृत सुजिता श्रेष्ठले बताइन्।
श्रेष्ठका अनुसार गोहीको भाले बच्चा जन्मदर अति कम छ। भाले बच्चा जन्मिन अण्डालाई ३२ डिग्री तापक्रम आवश्यक पर्छ। त्यसभन्दा तल वा माथि जति तापक्रम भएपनि बच्चा पोथी जन्मिन्छ। त्यसैले निकुञ्जले केही वर्षदेखि ३२ डिग्री तापक्रम व्यवस्थापन गर्न भनेर 'इन्कुभेटर' को व्यवस्था गरेको छ। यसपालि २० वटा अण्डा इन्कुभेटरमा राखिएको थियो। त्यसबाट १९ वटा बच्चा जन्मिएको उनले बताइन्।
गत जेठ २५ गते जन्मिएका बच्चाहरू अहिले प्रजनन् केन्द्रमा हुर्किरहेका छन्। यी बच्चासहित प्रजनन केन्द्रमा ६५० वटाभन्दा बढी गोही छन्।
प्रेम २०४९ सालदेखि नै कसराका गोहीको हेरचाह गरिरहेका छन्।
युवा अवस्थामा केही वर्ष भारतमा चौकीदारको काम गरेका उनलाई रेन्जर ठाकुरप्रसाद शर्माले चितवन निकुञ्जमा ज्यालादारीको जागिर लगाइदिएका थिए। घडियाल गोही प्रजनन केन्द्रको सरसफाइबाट काम थालेका उनले पुराना अनुभवी कर्मचारीसँग सिक्दै गोहीको स्याहार गर्न पनि जाने।
अचेल उनी बिहान उठेर केन्द्र परिसर सरसफाइ गर्छन्। त्यसपछि पोखरीको पानी सुकाउने काम सुरू हुन्छ। माझीहरू भुरा माछा समात्न खोला जान्छन्। पोखरीमा नयाँ पानी भरेपछि गोहीलाई माछा खुवाउने, आवश्यकता अनुसार स्याहार, सुसार गर्ने काम हुन्छ।
यसबाहेक जाडोको समयमा गोहीलाई कठ्यांग्रिन नदिन साँझ प्लास्टिक ओढाउनुपर्छ। बिहान प्लास्टिक निकालिन्छ। यी सबै काम गर्न केन्द्रमा प्रेमसहित ९ जना कर्मचारी छन्। सबै कर्मचारी प्रेमलाई 'प्रेम दाइ' भनेर बोलाउँछन्।
'अनुभवले गोहीबारे धेरै कुरा सिकायो। अति संकटापन्न जीव भएकाले अध्ययन, अनुसन्धानका लागि धेरै मान्छे यहाँ आउँछन्। विदेशी पनि आउँछन्। विभिन्न कुरा सोध्छन्। नेपालीलाई मजाले बताउन सक्छु, विदेशीलाई गाइडले बुझाइदिन्छन्। हामीले बताएका कुरा सुनेर उनीहरू खुसी हुँदै फर्किन्छन्,' प्रेमले भने।
यहाँ काम गर्ने क्रममा गोहीकै कारण उनी एक पटक घाइते पनि भएका थिए।
२०६१ सालमा नेपालले भुटानलाई दुइटा भाले गोही उपहार दिने निर्णय गरेको थियो। केन्द्रको वयस्क भाले गोही समाउने क्रममा त्यसले आफ्नो टुँडो प्रेमको घुँडामा बझारेको थियो।
'मैले त तोरीको फूल देखिहालेँ। धन्न घुँडाको पांग्रामा हानेछ, फुट्न पाएन। तल वा माथि हानेको भए त छिन्थ्यो होला,' उनले भने, '१५ दिनजति लौरो टेकेर हिँड्नुपर्यो। फेरि काम सुरू गरिहालेँ। त्यसयता यस्ता घटना झेल्नुपरेको छैन।'
उनले अगाडि भने, 'काम गर्दै जाँदा गोही कुन अवस्थामा आक्रामक हुन्छ, ऊसँग कसरी व्यवहार गर्ने भन्ने जानियो। नयाँ मान्छेलाई यस्ता कुरा सुनाउन, सिकाउन पाउँदा रमाइलो लाग्छ।'
भरतपुर–५ नारायणपुर घर भएका प्रेम अहिले पनि चितवन निकुञ्जको करारका जागिरे हुन्।
३३ वर्षअघि ११ सय रूपैयाँ तलबबाट काम सुरू गरेका उनको तलब अहिले २४ हजार २ सय रूपैयाँ छ। रासन भत्तासमेत गरेर मासिक ३० हजार रूपैयाँ पाउने उनी बताउँछन्।
'यही कामले मेरो घर खर्च चल्दै आएको छ। छोराहरू हुर्किएका छन्। अचेल बेला–बेलामा बिरामी पर्छु। तैपनि अझै धेरै वर्ष काम गर्न सक्छु भन्ने जोश छ,' प्रेमले भने।